Logo

सबैभन्दा बढी गुठिचौरमा, कम चन्दननाथमा

जुम्लामा स्थानीय तहको बेरुजु घट्यो

जुम्ला– जुम्लाका आठ स्थानीय तहको बेरुजु साढे ३० करोड भन्दा बढी देखिएको छ । महालेखापरीक्षकको ६२औं प्रतिवदेननुसार एक नगरपालिकासहित आठ स्थानीय तहको बेरुजु रकम ३० करोड ५६ लाख ७४ हजार रहेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा ३७ करोड बढी बेरुजु रहेको जुम्लाका आठ पालिकाले पछिल्लो आर्थिक वर्षमा आर्थिक सुशासन कायम गर्न ध्यान दिएको देखिन्छ । ३७ करोडबाट ७ करोडले घटेर आर्थिक वर्ष २०८१/०८२ मा वार्षिक बेरुजु रकम ३० करोडमा सीमित भएको छ । तर गत वर्ष कम बेरुजु भएका पालिकाको बेरुजु बढेको छ । गत वर्ष सबैभन्दा बढी बेरुजु रहेका स्थानीय तहको बेरुजु हाल घटेको छ ।

पालिकागत रुपमा बेरुजु घटबढ भएपनि समग्रमा गत वर्षको तुलनामा स्थानीय तहको बेरुजु घट्दै गएको हो । स्थानीय तहका कर्मचारी जनप्रतिनिधि बजेट खर्चलाई मितव्यायी र नियमसंगत बनाउन जोड दिइरहेका देखिन्छन् । आठै पालिकाको समग्रमा ३० करोड बेरुजु आउँदा सबैभन्दा कम बेरुजु चन्दननाथ नगरपालिकाको रहेको छ । दोस्रोमा तातोपानी गाउँपालिका छ । गत वर्ष कम बेरुजु आउनेमा प्रथम बनेको तातोपानी गाउँपालिका यस वर्ष एक तह घटेको छ ।

गत आवमा दोस्रो भएको हिमा गाउँपालिकाले पनि बेरुजु शुन्यमा झार्ने लय समाउन सकेन भने गत आवमा सबैभन्दा बढी ९ बेरुजु भएको चन्दननाथले यस वर्ष उल्लेख्य सुधार गर्दै बेरुजु कम गर्नेमा पहिलो पालिका बनेको हो । स्थानीय तहमा जनप्रतिनिधिको दबाद, वितरणमुखी कार्यक्रममा बढी लगानी, उत्पादनशील क्षेत्रमा लगानी न्यून हुनु र कर्मचारीले विधि पद्धत्तिअनुसार बजेट खर्चमा ध्यान नदिँदा बेरुजु बढ्ने गरेको छ ।

कुन पालिकाको कति बेरुजु ?
महालेखाको प्रतिवदेन अनुसार एक नगरपालिका र सात गाउँपालिकाले आर्थिक सुशासन कायम गर्न जोड दिएका छन् । प्रतिवदेन अनुसार आठ पालिकाको ३० करोड ५६ लाख बेरुजु छ । त्यसमध्ये नियमित गर्नुपर्ने (बिल भरपाई, कागजात अपुग), सैदान्तिक बेरुजु बढी देखिन्छ असुल उपर गर्नु पर्ने बेरुजु कम छ ।

गत आवको भन्दा ७ करोडले बेरुजु घटेपछि आर्थिक सुशासनमा पालिकाहरु केन्द्रित हुन थालेका छन् । प्रतिवेदननुसार जिल्लाका आठ पालिकामध्ये सबैभन्दा बढी गुठिचौरको ४ करोड ३८ लाख ४३ हजार (६.१६) प्रतिशरत बेरुजु रहेको छ । गत आवमा ५ करोड २१ लाख बेरुजु रहेकोमा यस वर्ष घटाए पनि अरु पालिकाको तुलनामा बढी हो ।

सबैभन्दा कम चन्दननाथ नगरपालिकाको ३ करोड १४ लाख ७६ हजार (२.४८) प्रतिशत बेरुजु छ । गत आवको तुलनामा चन्दननाथले ६ करोड बेरुजु घटाएको छ । त्यस्तै तातोपानी गाउँपालिकाको ३ करोड ८१ हजार अर्थात कुल लेखा परीक्षण गरेको रकममध्ये (२.८१) प्रतिशत बेरुजु छ । जबकि तातोपानीको गत आवमा एक करोड ५४ लाख बेरुजु थियो । अहिले डेढ करोड बेरुजु बढेको छ ।

कनकासुन्दरी गाउँपालिकाको ३ करोड ९९ लाख ५५ लाख (४.०५) प्रतिशत, तिला गाउँपालिकाको ४ करोड ३३ लाख ३१ हजार (४.२७) प्रतिशत बेरुजु रहेको छ । साथै पातारासी गाउँपालिकाको ४ करोड २४ लाख १३ हजार (४.७१) प्रतिशत, सिंजा गाउँपालिकाको ३ करोड ९९ लाख ९० लाख (४.५७) प्रतिशत र हिमा गाउँपाालिकाको ३ करोड ४६ लाख १५ हजार (३.८७) प्रतिशत बेरुजु रहेको छ । जबकी गत आवमा २ करोड ६७ लाख बेरुजु थियो । घट्नुको सट्टा हिमाको करिब एक करोड बेरुजु बढेको छ ।

यता तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले गत आवमा सबैभन्दा कम बेरुजु आएको र यस वर्ष शुन्यमा झार्ने लक्ष्य राखिएपनि केही प्रक्रियागत त्रुटिले समस्या भएको बताए । उनका अनुसार असुल उपर गर्नुपर्ने, नियमित गर्ने बेरुजु सबै प्रक्रिया अनुसार पूरा गरिने छ ।

प्रतिक्रिया दिनुहोस्