क्लिन विराटनगर योजनासहित अभियान सञ्चालन

विराटनगर महानगरपालिकाले क्लिन विराटनगर योजनासहित अभियान सञ्चालन गरेको छ । विराटनगरको बी प्लटमा आइतबार एक कार्यक्रमको आयोजना गरेर प्रमुख भीम पराजुलीले अभियानको शुभारम्भ गरेका हुन् ।
विराटनगर महानगरपालिकाको अगुवाईमा दारी ग्याङ, विङ नेपाली, यूथ नेपाल, नेपलिज टिन्सलगायत संस्थाको सहयोगमा अभियान प्रारम्भ भएको हो । अभियानमा ठूलो संख्यामा युवाको सहभागिता थियो । आगामी दिनमा यो अभियानमा निरन्तर चलिरहने बताइएको छ । सडकका पेटी तथा सडकको दायाँबायाँ रहेको फोहर उठाउने कार्यमा मेयर पराजुली आफैं जुटेपछि युवाले सहयोग गरिरहेका थिए ।
सडकमा पानपराग गुटखा तथा कागज तथा प्लास्टिकजन्य फोहरहरू बढीमा मात्रामा भेटिएको थियो । महागनरपालिकाका नगर प्रहरीहरूसमेतले फोहर उठाउने अभियानमा जुटेका छन् । मेयर पराजुलीले बी प्लट, मेन रोड, पत्रकार महासंघ, सनसारी माईस्थान तथा जलजला चौकलगायतका सडकका पेटी तथा छेउछाउमा रहेका फोहर सफा गरेका छन् । महानगरपालिकाले घरवरपर सफा राख्नेलाई करमा छुट दिने व्यवस्था मिलाएको छ । तर महानगरपालिकाको प्रभावकारी रूपमा फोहर व्यवस्थापन हुन सकेको छैन । प्रभावकारी अनुगमन नभएपछि सडकमा फोहर फाल्ने प्रवृत्ति बढेको हो । फोहर व्यवस्थापन अभियानमा जुटेका मेयर पराजुलीले सडक छेउमा होटल तथा पसल व्यवसाय सञ्चालन गर्दै आएको व्यवसायीलाई जथाभावी सडकमा फोहर नफाल्न आग्रह गरे ।
पसल अगाडि उभिएर पराजुलीले फोहर फाल्नका लागि महानगरपालिकाले मजदुर तथा सवारी साधन परिचालन गरेकाले एकठाउँमा फोहर जम्मा पार्नसमेत व्यवसायीहरूलाई समेत आग्रह गरे । महानगरपालिकाले अटेर गरेर जथाभावी फोहर फाल्नेलाई कारबाही गर्नेसमेत उनले जानकारी दिए ।
क्लिन सहर बनाउने अभियानमा आगामी दिनमा महानगरपालिकाले युवासँग जोडिएका ५० भन्दा बढी संघसंस्थाहरूसँगै सहकार्य गरेर अघि बढ्ने जनाएको छ ।
विराटनगरमा रहेका संस्थाहरूसँग फोहर व्यवस्थापन तथा जनचेतना अभिवृद्धिको अभियानमा मात्र नभई समग्र विराटनगर विकासमा महानगरपालिकाले हातेमालो गरेर अगाडि बढ्ने महानगरपालिकाले जनाएको छ । विराटनगरको विकासमा सबैको योगदान र सहयोग आवश्यक भएकाले यो अभियानमा सबैलाई सहयोग पु¥याउन मेयर पराजुलीले आग्रह गरे । विराटनगर महानगरपालिकामा दैनिक ९० देखि १ सय टन फोहर उत्पादन हुदै आएको छ । जसमा १० प्रतिशत अस्पतालजन्य फोहर हुने गरेको छ । “अभियानलाई निरन्तरता दिनेछौं,” पराजुलीले भने, “सरसफाइमा सहभागी हुन निजी क्षेत्रलाई पनि आग्रह गर्दछु ।”