Logo

त्यागी शर्माजी, राजा, बीपी–नेता र राजनीति

वि.सं. २००७ सालतिरको क्रान्तिका एक जना सक्रिय युवा योद्धा शर्माजी जो पछि आएर काठमाडौंमा पंक्तिकार जस्तैः डेरा गरी बस्ने भए । पंक्तिकारका छिमेक भए र हामी दुईबीच गहिरो मेलमिलाप रह्यो धेरै वर्षसम्म । क्रान्ति चलिरहेकै बेला नयाँ सडकतिर रहेको उनको निजी घर क्रांग्रेसलाई दान गरेर उनी भारतको बम्बईतिर हानिएका रहेछन् । उनले त्यहीँ विवाह गरे, दुई भाइ छोरा जन्माए । छोराहरूको पढाइ–लेखाइ र बिहावारी सक्काएपछि अर्थात् झन्डै अढाई दशकपछि उनी नेपाल फर्किएको उनले बताए ।

प्रायःजसो साँझमा हामी सँगै हुन्थ्यौँ, उनी आफ्नो विगतको कथा सुनाउँथे र राजनीतिक गफहरू गर्थे । त्यतिबेला पंक्तिकार पनि भर्खरै आफ्नो उच्च शिक्षा हासिल गरी भारतबाट नेपाल फर्किएको अवस्था थियो । ती उमेर खाइसकेका अधबैँसे व्यक्ति भन्ने गर्थे, ‘हामी त हाम्रै देशबाट लखेटियौँ । हामी गइसकेपछि कांग्रेस र राजाको कुरा मिल्न थाल्यो र राजाकै साथमा रहेर कांग्रेसले देशभरि अनेकौँ भूमिसुधार, सामाजिक सुधार र राजनीतिक सुधारका कामहरू गरेछन् । कांग्रेस राजनीतिक रूपले बलियो पनि हुँदै गएछ, तर हेर्नुस् भाइ, राजनीति भनेको बुझिनसक्नु हुँदो रहेछ । तिनै राजाले कांग्रेसलाई सताउन पनि थालेछन् । नेपालमा राणाशासनको अन्त्य गरी प्रजातन्त्रको सुरुवात के मात्र भएको थियो ।

दस वर्षका दौरान अर्थात् २०१७ सालमा राजाले शाही घोषणा गरी देशमा दलविहीन पञ्चायती व्यवस्था लागू गरेछन् । र, बीपी कोइरालाको मन्त्रिपरिषद् खारेज गरी बीपीलाई जेलमा थुनाई राखेछन् । दलहरूको क्रियाकलाप निषेधित गर्छन् । बीपीले जेलमा बसेका बेला नेपाली साहित्यलाई केही अनुपम पुस्तकहरू लेखेर दिए, त्यसैबीच उनलाई निर्वासित जीवन व्यतीत गर्न बाध्य बनाइएछ र उनी पछि जेलबाट छुटेर भारत गएर बसेछन् । वि.सं. २०३३ पुस २६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी नेपाल फर्किएका थिए ।

नेपालमा उनको राजनीति लोकप्रिय हुँदै जाँदा ६ वर्षपछि वि.सं. २०३९ साउन ६ गते उहाँको निधन भएको थियो । उहाँको निधनपछि पनि कांग्रेस दुर्बल भएन । हामी अहिले पनि दलीय व्यवस्था र पूर्ण प्रजातन्त्रका लागि संघर्षरत छौँ । बीपी जीवित नै रहेको भए अहिलेसम्म राजासहितको प्रजातन्त्र यस देशमा आइसक्ने थियो ।’ त्यसपछि ती शर्मा बाको परिवार अंशबन्डामा पर्‍यो वा अरू केही भयो, उनी सपरिवार त्यहाँबाट अन्तै कतै बसाइँ सरेर गए, थाहा भयो । नेपालको राजनीतिबारे पंक्तिकारलाई जिज्ञासु बनाएर हराउनुभएका शर्माजीको याद भने पटक–पटक आइरहन्छ ।

नेपालको राजनीतिमा समाजवादका प्रवर्तक बीपी कोइराला र दूरदृष्टि भएका राजा महेन्द्रको माधुर्यपूर्ण सम्बन्ध रहेको धेरैलाई थाहा छ । राजा महेन्द्रले प्रतिभाशाली व्यक्तिहरूलाई सधैं माया गरेकै हुन् । भनिन्छ, राजा महेन्द्रले बीपीकै सल्लाहअनुसार देशमा भूमिसुधार र कृषिसँग सम्बन्धित धेरै काम गरेका थिए रे । उनी काठमाडौँबाट बाहिर जाँदा प्रायःजसो बीपी बाबुलाई नै लिएर जाने गर्थे र देशको समुन्नतिका लागि चर्चा–परिचर्चा चलाइरहन्थे । बीपीकै सल्लाहबाट मुलुकको पूर्व–पश्चिम राजमार्ग र विभिन्न ठाउँमा कल–कारखानाहरू स्थापना गरिएको थियो । पछि आएका कांग्रेसी राजनीति गर्नेहरूको मतिभ्रष्टको फलस्वरूप हाम्रा औद्योगिक उत्पादन स्थलहरू एकपछि अर्को गर्दै मासिँदै गए । आज जनता आलापविलाप गरिरहेछन् ।

हेटौँडा कपडा कारखानाबाट उत्पादन हुने कपडाको खपत राष्ट्र सेवकहरूद्वारा पहिरिने राष्ट्रिय पोसाक दौरा–सुरुवाल तयार पार्नमै भएको थियो । कतिपय विद्यालयले पनि विद्यालयको पोसाक त्यसै कारखानाबाट उत्पादित कपडाबाट तयार पारिएका कपडाबाट बनाउन लगाउँथे । रबरकाली उद्योगको विज्ञापनको गीत अझै पनि यो पुस्ताले सम्झिरहन्छ । कृषिमा देशलाई चाहिने भन्दा अधिक उत्पादन हुन्थ्यो । राजा महेन्द्रका पालामा सुरु भएको विद्युत प्राधिकरण भने अझै छ । शिक्षा क्षेत्रमा मुलुकले ठूलै फड्को मार्न नसकेको भए पनि दरबारका रानीहरूले आफ्नो गहना बेचेर त्रिवि खडा गरेका थिए । जहाँ पढ्न र पढाउन विदेशी विद्वान् र छात्र–छात्राहरू आउने गर्थे । राजनीतिले ती सबै कुरालाई एकादेशको किंवदन्तीमा बदलिदियो । पछिल्ला दिनहरूमा आएर देशमा राजनीतिक अस्थिरता बढ्दै गयो । उत्पादनमा ह्रास, रोजगारीको अभाव र भारतको बिहार राज्यको जस्तो राजनीतिले मुलुकमा सहजै प्रवेश पाएपछि व्यवस्था नै खलबलिँदै गयो । सांसदहरू साढेझैँ किनबेचको राजनीतिमा भुलिँदै गए ।

देश र जनताको कल्याण र एउटा कल्याणकारी राज्य (वेलफेयर स्टेट) को परिकल्पना दिल्लीको चाणक्यपुरीको चहकले पाखा लगाइदियो । प्राडोको प्रलोभनले धेरै भुइँका व्यापारीहरूको ललाट चम्कियो । देशका बारे चिन्तन गर्ने मानिसहरू विश्वविद्यालयकै कक्षाकोठामा सीमित भए । बेरोजगारी केन्द्रमा बसेर राजनीति गर्नेहरूका लागि वरदान भयो । देशको अर्थतन्त्र सँभाल्नेहरू रेमिटेन्समा भर पर्ने अवस्था हटेको छैन । चार जात छत्तीस वर्णको फूलबारी टुक्रै टुक्रा पारिएको छ । नातागोता, टोले–झोलेहरू मौलाएको दृश्य हाम्रा अघि छ । धेरै अगुवाहरूले नेता भएर काम गर्ने प्रयास नगरेका पनि थिएनन् । तर, देशको दुर्भाग्य, केही अपवादबाहेक ती नेता राजनेता हुने क्षमता नभएका परे । राजनेतामा सामान्यतया विद्वता, अनुभव, र प्रतिबद्धता हुनुका साथै जनताको आदरभाव निहित रहेको हुन्छ ।

त्यसबाहेक पनि उसमा हुनुपर्ने गुण यस प्रकार वर्गीकरण गर्न सकिन्छः ज्ञान र न्याय, अध्ययनशील, इमानदारी, नैतिकता, दूरदृष्टि, व्यावहारिकता एवम् कूटनीति, साहस, निस्वार्थीपना, सबैप्रति नम्रता र आदरभाव । हाम्रा कति नेताहरूमा यी गुण छन् होला, त्यो एउटा छुट्टै छलफलको विषय बनाउन सकिन्छ । केही त प्रस्टै छन्, अहिलेकै सांसदभित्र । ती र त्यस्ता नेताहरूको नाम यस स्तम्भमा धेरै पटक आइसकेको छ । असल राजनीतिक व्यवस्था भएको कुनै पनि मुलुकको श्रीसम्पत्ति भनेको त्यहाँका सम्पदा र नागरिक हुन् । आमनागरिक जब राज्य–व्यवस्थाबाट असन्तुष्ट बन्दै जान्छन्, त्यो राज्यव्यवस्था सुचारु ढंगले चल्न सक्दैन । आन्दोलन र नारा जुलुसहरू बढ्दै जाने क्रम अविरल हुँदै जान्छ । हिजो माओवादी आन्दोलन चलिरहँदा जुवातास खेल्नेका मुखमा तास कोचिदिने वा त्यस्तै प्रकारका अनैतिक कार्य गर्नेहरूलाई गरिएका भौतिक कारबाहीका कारण शान्ति सम्झौतापश्चात् नेपाली जनताले तिनैलाई मतदान गरेर संसद्मा पुर्‍याएका होइनन् र ? तिनैको सरकार बनेको थिएन र ? तर तिनै नेपाल आमाका सन्तानबाट माओवादी सत्तामा रहेका बेला केकति गैरजिम्मेवारीपूर्ण र गैरराजनीतिक काम भए भन्ने जनताले यति छिटो के बिर्सलान् !

कोभिडको महामारी फैलँदासम्म भ्रष्टाचार पनि मौलाएको मौलायै भयो । तत्पश्चात् राजनीतिका मूलधारहरूलाई नै एउटा हेयको दृष्टिले हेर्न सुरु भएको हैन र ? नेपालको पत्रकारिता धन्य छ, सबै तथ्यहरू जनसामु आउँदै जाँदा— राजनीति गर्न गएकाहरूको वास्तविक चरित्र पनि कतै लुक्न, छिप्न सकेन । त्यति भइसक्दा पनि सत्ता छोड्दैनन् । यस्ता विषयहरूमा आफ्नो शासकीय पदको आडमा नीतिगत रूपले नै अख्तियारलाई समेत ऊसामु पुग्न छेकबार लगाइन्छ । जनता खुसी हुने कि दुःखी ? पटक–पटक पदमा बसिसकेकाहरूको पुनः पदमा फर्कने पिपासा कहिल्यै पूरा नहुने रहेछ । क्षेत्रीयदेखि लिएर अन्तर्राष्ट्रिय राजनीतिमा समेत हामी धेरै चोटि हास्यास्पद ठहरियौँ । तापनि हामी गर्जन र ललकार्न पछि परेका छैनौँ, मानौँ हामीले जे गरिरहेका छौँ, त्यो सर्वथा ठीक छ । हाम्रो कूटनीति पनि धेरै चोटि आलोचित भइरहँदासमेत हामीले कुनै नयाँ पाइला नचालेर मौन बस्नु नै उचित ठान्यौँ । हामी सधैँ विष्णु बनेर जनसमक्ष आफ्नो ब्रह्मरूप देखाउँछौँ । के यही हो हाम्रो राजनीति ?

नेपालका वर्तमान नेतागणबाट जनसमक्ष उभिएर क्षमा याचना गरेको कहिल्यै देखिन । पत्रकारहरूले औँल्याइदिएका त्रुटिको न कहिल्यै खण्डन हुन्छ, न त्यसबारे सम्बन्धित नेताले आफू जनतासमक्ष झुक्ने साहस देखाए, भन्नुको अर्थ जनता त उनका कठपुतली हुन् । समय धेरै अगाडि सरिसकेको छ । ८० लाख नेपाली युवा विदेश नगएको अवस्था रहेको भए सायद हाम्रा राजनीतिक परिपाटीहरूमा बदलाव आउन बेर लाग्दैनथ्यो । गत आमनिर्वाचनमा रुपन्देही क्षेत्र नं. ३ बाट एक जना चिकित्साशास्त्रमा अध्ययनरत डा. निकोलस भुसालले हाम्रा हालका अर्थमन्त्रीको विरोधमा उम्मेदवारी दिन तत्पर मात्र के भएका थिए, उनलाई सरकारी छात्रवृत्तिमा पढ्दै गरेको युवा भन्दै उनको उम्मेदवारी नै खारेज गराइएको स्मृति स्थानीय जनताको मानसपटमा अझ पनि आलै छ । त्यस्तै, अर्का घण्टी मार्का २२ वर्षे युवा नवीन पौडेललाई झीनो मतले पराजित गर्न सफल भएका कथाहरू यत्रतत्र मानिस दोहोर्‍याउँछन् । कुनै व्यक्ति वा संस्थाविशेषलाई मात्र लाभ, सुविधा वा हित हुने गरी गरेको कुनै पनि निर्णय नीतिसम्मत नहुने गरी आएको संशोधन प्रस्ताव राज्य व्यवस्था समितिमै रोकिन्छ । आखिर किन ?

राज्य सञ्चालनमा रहेका दुवै गठबन्धनेहरूले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि पठाएको नाम बेपत्ता भई कताबाट तेस्रो व्यक्ति किन पठाइन्छ ? शासकबाट शपथको मर्यादा पटक–पटक तोडिँदा पनि पद ग्रहण गर्नेलाई शपथ खुवाउने नाटक केका लागि ? नेपाल भ्रमण दशकमा जब हामीले केही गर्न सक्ने कुनै कुरा रहेन भने यसलाई किन झुन्ड्याइराखेको ? हाम्रा कामहरू के विदेशीले गरिदिए मात्रै हुने हुन् ? शिक्षक आन्दोलन सम्झौताबाट टुंगियो । ती सम्झौताको कार्यान्वयन कहिलेदेखि हुने हो ? कति जना शिक्षक साथीहरूले आफू संलग्न रहेको राजनीतिक दल ल्यागे ? कि त्यो पनि जरुरी छैन । बजेट बन्दै होला, आम नेपालीले कहाँ–कहाँ राहत पाउने हुन् ? उही कर, दस्तुर वा महसुल वृद्धि गर्ने त होला । राजनीतिको यो टेढोमेढो लिकमा रेल कुदाउँदा दुर्घटना हुने सम्भावनाप्रति सचेत हुने कि नहुने ? देशको नेताले सार्वजनिक रूपमा बोल्ने सबै कुरा जनताले शब्द–शब्द सुन्छन् । कति कुरा उनीहरूको चाहनाअनुरूपको हुन्छ अनि कति कुरा यो त नबोलिदिए पनि हुन्थ्यो कि जस्तो उनीहरूलाई अनुभूत हुन्छ ।

सबैको सोच पनि फरक–फरक हुन सक्छ । तसर्थ पनि नेतृत्वले बोल्दा तौलेर बोल्नु नै उपयुक्त हुने कुरा जानिफकारहरू बताउँछन् । अस्ति भारत–पाकिस्तानको युद्ध चर्किंदा कतिपयले के शंका व्यक्त गरे भने यो युद्ध कुनै अन्तर्राष्ट्रिय संस्थाको साजिशबाट सुरु भएको हुन सक्छ, जनसंख्याको बोझ घटाउन; अन्यथा भारत र पाकिस्तान त त्यस्तै हुन्, एकअर्काका विरोधमा उनीहरू सधैँ कराइराखेकै हुन्छन् । यही यस्ता हावा गफहरूका पछि नलागेर नेतृत्वले जे बोल्छ, राम्रो बोल्छ । आम नागरिकका लागि बोल्छ । समाज र देशको भलोका लागि बोल्छ र त्यसलाई पूरा गर्ने अठोटसाथ बोल्छ । पूरा गरेर सारालाई देखाउँछ पनि भन्ने होस् न । गठबन्धनका साथीहरूप्रतिको उत्तरदायित्वभन्दा बढी नेतृत्वमा देशवासीहरूप्रतिको उत्तरदायित्व हर–हमेसा बढी हुन्छ । महत्वपूर्ण हुन्छ । शब्दवाण छोड्ने होइन, कीर्ति छोड्ने हो इहलोकमा । परलोकमा यस्तो मौका नपर्ला !

राजनीति एउटा सिंगो शब्द हो, जसलाई विश्वका विभिन्न विद्वान्हरूले भिन्दाभिन्दै शब्दबाट परिभाषित गरेको पाइन्छ । हाम्रो परिप्रेक्ष्यमा राजनीतिले समाजमा न्यायपूर्ण, निष्पक्ष र प्रभावकारी व्यवस्था कायम राख्ने उद्देश्य लिनुपर्छ । हामी नेपाली सबै एक हौँ । राजनीतिका कारण हामीबीच कुनै प्रकारको अन्याय, अत्याचार र पक्षपातपूर्ण व्यवहार कदाचित हुनु हुँदैन भन्ने पंक्तिकारको आशय व्यक्त गर्दै आजको यो लेख सुरुमा भनिएका कांग्रेसी शर्माजीप्रति समर्पित गरिन्छ, जो पार्टीका निम्ति आफ्नो घरबार दिएर लामो समयसम्म मुग्लान भासिएका थिए ।

प्रतिक्रिया दिनुहोस्