प्रमाणमा आधारित नीति निर्माणलाई प्रवर्द्धन गर्न पूर्व योजनाकार मञ्च गठन

काठमाडौं– प्रमाणमा आधारित नीति निर्माण र समावेशी विकासलाई पर्वद्धन गर्ने उद्देश्यले पूर्व योजनाकार मञ्च नेपाल गठन भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी मञ्चको घोषणा तथा लोगो अनावरण गरियो । मञ्चमा राष्ट्रिय योजना आयोगमा काम गरेका पूर्व उपाध्यक्ष, सदस्यलाई समेटिएको छ ।
कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले प्रमाणमा आधारित नीति निर्धारण गरी कार्यान्वयन गर्ने सरकारको प्राथमिकतामा रहेको बताए । ‘मञ्चमा रहने योजनाकारहरुले मौजुदा परिस्थिति र विगतको अनुभवलाई यथार्थतमा आधारित भइ योजनालाई अघि बढाउन सहयोग पुग्नेछ’ उनले भने । योजनाकारको अनुभवले भविष्यमा अत्यावश्यक हुने र सही दिशा दिन सक्ने मञ्च बन्नुपर्ने आशा राखेको बताए ।
कार्यक्रममा मञ्चका अध्यक्ष प्रा.डा. पुष्पराज कंडेलले आउँदा दिनमा समावेशी र तथ्यांक तथा प्रमाणमा आधारित योजना निर्माणको लागि प्रयत्न गरिने बताए । कार्यक्रममा योजना आयोगका उपाध्यक्ष प्राडा. शिवराज अधिकारीले बदलिदो विश्व परिदृष्यसँगै नेपालले लाभ लिन त्यही अनुसारको नीति अबलम्बन गर्नुपर्नैमा जोड दिए ।
कार्यक्रममा बदलिदो भूराजनीतिक परिदृष्य र नेपालको आर्थिक चुनौतिबारे योजना आयोगका पूर्व सदस्य डा. पोषराज पाण्डेले प्रस्तुती दिए । त्यस्तैगरी डा. डिल्लीराज खनालले समावेशी विकास र समृद्धिका लागि आगामी बजेटले दिनुपर्ने प्राथमिकताबारे प्रस्तुतिकरण दिए । पाण्डे र खनालको प्रस्तुतिकरण माथि क्रमश: पूर्व राजदूत तथा राष्ट्र संघका पूर्व उपमहासचिव ज्ञानचन्द्र आचार्य र अर्थशास्त्री दिपेन्द्रबहादुर क्षेत्रीले टिप्पनी गरे ।