डोटीका अस्पताल १६ दिनदेखि चिकित्सकविहीन

जिल्ला अस्पताल डोटीलगायतका स्वास्थ्य संस्थाका चिकित्सकहरूले १६ दिनदेखि काम ठप्प पारेका छन् । जिल्लाका डाक्टरहरूलाई सरकारी चिकित्सक संघले सुरक्षाको कारण देखाउँदै जिल्ला छाडी भन्दै काठमाडौँ आउन निर्देशन दिएको थियो । जिल्ला छोडेर गएका डाक्टरहरूलाई स्वास्थ्य मन्त्रालयले एक महिनाको काज दिएर मन्त्रालयमै हाजिरी गराइरहेको छ ।
डोटीमा उपचारका लागि आउने सयौं सेवाग्राही उपचार नपाएर फर्किने गरेका छन् । डाक्टरहरूको माग न्यायोचित भए पनि लामो समयसम्म उपचार कार्यमा नफर्केको प्रति भने जिल्लामा असन्तुष्टी बढ्दै गएको छ । जिल्लामा सर्वपक्षीय बैठकले काममा फर्कन डाक्टरहरूसँग अनुरोध गरे पनि चिकित्सकहरू भने असुरक्षाको कारण देखाउँदै जिल्लामा फर्कन मानेका छैनन् ।
“डाक्टरहरूको काम गर्ने मनसाय नभएको हो कि ? सुरक्षा नै नभएको हो भन्ने कुरा महत्वपूर्ण छ,” प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने, “डोटीमा असुरक्षा भयो भनेर डाक्टरहरू काठमाडौं झिकाइए । काठमाडौमै त्यस्ता कयौं घटना भइरहेका छन, त्यहाँका असुरक्षित डाक्टरलाई चिकित्सक संघले कुन ठाउँमा लगेर सुरक्षा दिइरहेको छ ?” उनले प्रतिप्रश्न गरे ।
स्थानीय प्रशासनले दोषीलाई हिरासतमा लिएर मुद्दाको अनुसन्धान गरिरहेकोले मन्त्रालयले पनि कर्मचारीहरूको मात्रै कुरा नसुनेर जिल्लाका बिरामीको उपचार सेवामा पनि ध्यान दिनुपर्ने प्रजिअ खत्रीले बताए ।
जिल्ला जनस्वास्थ्य प्रमुख शतिस विष्टले भने, “उपचार नपाएर बिरामीहरू छटपटिरहेका बेला डाक्टरहरू चाँडै जिल्ला फर्कनुपर्छ,” उनले भने, “कारबाहीको प्रक्रियाअघि बढिरहेको अवस्थामा मन्त्रालयमै काजमा बसेर पनि हुँदैन । उहाँहरुले बिरामीलाई सम्झेर पनि फर्कनु पर्छ ।”
डा. सिंहलाई कुटपिटमा संलग्न भएको आरोपमा दिपायल सिलगढी नगरपालिका–७ का हिक्मतसिंह विष्ट, विजय विष्ट, टेकबहादुर विष्ट र दिपायल सिलगढी–६ का अरुण महत प्रहरीको हिरासतमा छन् । उनीहरूमाथि सार्वजनिक अपराध मुद्दा चलाइएको प्रहरीले जनाएको छ । उनीहरूले डाक्टर जितेन्द्र सिंहलाई आक्रमण गरेको आरोप छ ।
जिल्ला अस्पताल डोटीमा १६ दिनदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प छन् । पोष्टमार्टम, ल्याब परीक्षण, भिडियो एक्सरे पनि नहुँदा सामान्य रोगका लागि बिरामीहरूले उपचारका लागि अन्यत्र जानुपर्ने भएको छ । डाक्टरहरूले सेवा ठप्प पारी जिल्ला छाडेपछि पोष्टमार्टमका लागि शव बोकेर डडेल्धुरा पठाउनु पर्ने बाध्यता रहेको जनस्वास्थ्य प्रमुख शतिस विष्टले बताए ।
जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर विवश पराजुली, डाक्टर जितेन्द्र सिंह र सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक डाक्टर राजकुमार विश्वकर्माले जिल्ला छोडेका छन् । जिल्ला अस्पतालमा निक साइमन नामक संस्थामार्फत काम गरिरहेका डाक्टर गिरिश अवस्थी पनि जिल्लामा छैनन् ।