इप्पानलाई आईपीओ निष्कासन स्वीकृतिमा कमिसन मागेको प्रमाण पेस गर्न सेबोनको पत्राचार

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन)नेतृत्वले अन्य व्यक्तिमार्फत जलविद्युत् आयोजनाको आईपीओ स्वीकृतिका लागि प्रवर्द्धकसँग कमिसन मागेको आरोपको प्रमाण पेस गर्न ऊर्जा उत्पादकहरुको संस्था इप्पानलाई पत्र पठाएको छ ।
बोर्डले आरोप प्रमाणित गर्ने प्रमाण उपलब्ध गराउन भनेको हो । तर, इप्पानका महासचिव बलराम खतिवडाले भने बोर्डले पठाएको पत्रबारे कुनै जानकारी नभएको बताए । ‘सेबोन र इप्पानबीच छलफल भएर जलविद्युत् आयोजनाको आईपीओ स्वीकृतिका लागि प्रवर्द्धकसँग कमिसन मागेको विषय समाधान सामान्य भइसकेको छ,’ उनले भने ।
अब प्रमाण खोज्नेभन्दा पनि इप्पानलाई लामो समयदेखि रोकिएर बसेका आयोजनाको आईपीओ स्वीकृति पर्खिरहेको उनले बताए । सेबोनले भने इप्पानले पठाउने प्रमाणपछि कमिसन माग्ने कार्यमा संलग्न हुनेलाई कारबाहीको तयारी गरेको बुझिएको छ । वैशाख २३ मा आयोजना गरेको एक कार्यक्रममा जलविद्युत् आयोजनाको आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) स्वीकृत गर्नको लागि सेबोन नेतृत्वले कमिसन माग्न बिचौलिया खटाएको र त्यस्ता अफर आउने गरेको ऊर्जा उत्पादकले आरोप लगाएका थिए ।
ऊर्जा उत्पादकले आयोजना हेरी ५ देखि ७ प्रतिशतसम्म कमिसन मागेको विषय सार्वजनिक गरेपछि सेबोनले सूचना जारी गरेर खण्डन गरेको थियो । त्यससम्बन्धी उजुरी अख्तियारमा परेपछि वैशाख २४ मा अख्तियारको टोली सेबोन कार्यालय पुगेको थियो । सेबोन कार्यालय पुगेर अख्तियारको टोलीले विवरण संकलन गरेर लगेको थियो । अख्तियारले थप अध्ययन गरेपछि आवश्यक कारबाही हुने जनाएको छ ।