सानिमा रिलायन्सको सम्पत्ति शुद्धीकरण निवारण प्रशिक्षण

काठमाडौं– सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सञ्चालक समिति सदस्य, आधारभूत सेयरधनी तथा विभागीय प्रमुखलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण दिएको छ । बीमा प्राधिकरणका निर्देशक शाम्वराज लामिछाने तथा उपनिर्देशक सविता थापाले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुन सक्ने समस्या तथा समाधानबारे प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ऐन, नियमावली र निर्देशनबमोजिम कार्य प्रभावकारी रुपमा गर्न/गराउन, आवश्यक नीति, कार्यविधि, नियन्त्रण प्रणाली, जनशक्ति व्यवस्था, सञ्चालक समितिको काम, कर्तव्य र अधिकारलगायत विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा कम्पनीका अध्यक्ष रतनलाल केडियाले सम्पत्ति शुद्धीकरण सम्बन्धमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यास एवं त्यसबाट स्थापित अवधारणाको आधारमा तर्जुमा गरिएको ऐन तथा नियमावलीमा व्यवस्था भएको दायित्व पूरा गरिने बताए । प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको महत्त्वमा प्रकाश पार्दै कम्पनीका सबै कर्मचारी र तहमा यसलाई अक्षरश: पालना गरिने प्रतिबद्धता जनाए