Logo

मस्र्याङ्दी नदी जलविद्युत् आयोजनामा लगानी जुट्यो

काठमाडौं– गोरखाको पालुङटार नगरपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मस्र्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मस्र्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन सम्झौता भएको छ । आयोजनमा कुमारी बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन हुने गरी बुधबार लगानी सम्झौता भएको हो ।

एमए पावरका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा कुमारी बैंकसहित प्रभु, सिद्धार्थ, कृषि विकास, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंकको १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको छ ।

स्वपुँजी लगानीतर्फ आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुनेछ । डोल्मा इम्पाक्ट फन्डले पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशतसम्म स्वपुँजी लगानी रहने कम्पनीका अध्यक्षले बताए । यही समूहबाट हाल सेतीखोला हाइड्रोपावरमार्फत सेतीखोला जलविद्युत् आयोजना २२ मेवा निर्माण अन्तिम चरणमा छ ।

आयोजनाको विद्युत् प्राधिकरणसँग २०८० कात्तिक १ मा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ भने व्यापारिक उत्पादन सुरु गर्नुपर्ने समय २०८६ वैशाख २२ सम्मको छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा विद्युत प्राधिकरणको मार्किचोक सब–स्टेसनमा २२०/१३२ केभीमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस्