एक दशकदेखि पक्की पुल अलपत्र

महेन्द्रनगर– कञ्चनपुरमा विगत एक दशकदेखि चार पक्की पुल अलपत्र भएका छन् । ठेकेदारले पाएको जिम्मा समयमै पूरा गर्न नसक्दा पुल अलपत्र भएका हुन् । सरकारले जिल्लाका विभिन्न नदी, नाला खोलामा निर्माणका लागि ठेक्का दिएका चार वटा पुल अहिलेसम्म पनि निर्माण सम्पन्न हुन सकेका छैनन् । दोदा नदी, ओदाल खोला, मलरिया नाला र मुसेपानी खोलामा अहिलेसम्म पनि पुल निर्माण नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ ।
चारै वटा पुलको पहिलो सम्झौता निर्माण म्याद सकिएको चौथौ, पाँचौं पटक म्याद थप हुँदासमेत निर्माण हुन सकेको छैन । गत आर्थिक वर्ष २०७१/०७२ मा ठेक्का सम्झौता भएको देखतभूली लालझाडी जोड्ने दोदा नदीको पुल अझै अधुरै रहेको छ । लुम्बिनी राजेन्द्रकुमार शर्मा जेभीले २४ करोड २२ लाख रुपैयाँ लागतमा निर्माणको जिम्मा पाएको उक्त पुलको २० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । यसअघि पुलको पहिलो डिजाइन असफल भएपछि दोस्रो पटक बनाइएको थियो ।
पुल निर्माणका लागि लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीले सडक डिभिजन कार्यालय महेन्द्रनगरसँग ७० मिटर लम्बाई फुटपाथसहित ११ मिटर चौडाईको पुल निर्माणका लागि २०७२ पुस २६ गते सम्झौता गरेको थियो । २०७५ पुस २६ गतेमा सम्पन्न गर्नुपर्ने भएपनि निर्माणका क्रममा पुलमा प्राविधिक त्रुटी देखिएपछि निर्माण कार्य अलपत्र परेको थियो । तीन वटा पिलर गाडेर चौथो पिलर गाड्ने क्रममा दलदल भेटिएपनि पुलको डिजाइन परिर्वतन गरेपछि ३ वर्षमा निर्माण सम्पन्न हुन नसकेको हो ।
तर निर्माण कम्पनीको लापरवाहीले १० वर्ष बितिक्दासमेत पुल निर्माण सम्पन्न भएको छैन । त्यसैगरी सम्झौता सकिएपछि पहिलो पटक २०७५ पुस २७ देखि २०७७ माघ २५ गतेसम्म म्याद थप भएको थियो । पहिलो पटक म्याद थप भएपनि काम सुरु नै नभएपछि दोस्रो पटक २०७७ माघ २६ गते २०८० असार ३० गते सम्म सक्नेगरी म्याद थप गरिएको थियो ।
बुडर नायल बंक रोडअन्र्तरगत कृष्णपुर नगरपालिका–१ बंकको ओदाल खोलामा पुल निर्माणका लागि आर्थिक वर्ष २०७२/०७३ मै जिम्मेवारी पाएको थागिम गल्वा भेजी भेन्चरले ५ करोड ४७ लाखको लागतमा ठेक्का पाएको थियो । हाल ८० प्रतिशत मात्रै प्रगति भएको छ । समयमै निर्माण सम्पन्न नसकेको भन्दै निर्माण कम्पनीलाई सडक डिभिजन कार्यालय महेन्द्रनगरले १० प्रतिशत हर्जनासमेत लगाएको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले समयमै पुल निर्माण गर्न नसकेपछि दोधारा चाँदनी नगरपालिका–१ मलरिया नालाको ठेक्का तोडेको छ । शंकरमाली अकेला जेभीले ४ करोड ६१ लाख ३४ हजार लागतमा निर्माण जिम्मा पाएको पुलको हालसम्मको प्रगती ५५ प्रतिशत मात्रै रहेको छ । त्यसैगरी बेदकोट नगरपालिका–६ र ७ जोड्ने मुसेपानी खोलामा राजेन्द्र लुम्बिनी जेभीले १५ करोड ४३ लाख २९ हजार लगातमा निर्माण जिम्मा पाएको थियो भने हालसम्म ७० प्रतिशत मात्रै प्रगति भएको छ ।
चारै पुलको पटक–पटक म्याद थप गर्दासमेत निर्माण सम्पन्न गर्न नसकेपनि भौतिक प्रगति भन्दा बढि वित्तीय भुक्तानी गरिएको छ । दोदा पुलको भौतिक प्रगति २० प्रतिशत, वित्तीय भुक्तानी ४५ प्रतिशत, ओदाल खोलाको भौतिक प्रगति ८० प्रतिशत वित्तीय झुक्तानी ७८ प्रतिशत, मलरिया नालाको भौतिक प्रगति ५५, वित्तीय प्रगति ५३ प्रतिशत र मुसेपानी खोलाको भौतिक र वित्तीय प्रगति ७०/७० प्रतिशत रहेको छ । सडक डिभिजन कार्यालयले काम नगर्ने ठेकेदारलाई झक्झक्याउँदै आएको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकार तथा इन्जिनियर हरिसप्रसाद जोशीले अलपत्र पारिएका चारै पुलमा कार्यालयबाट उच्च निगरानी राखिएको बताए । जोशीले मलरिया नाला पुलको ठेक्का तोडिएको बताए । उनले ठेकेदारले बदमासी गरेपछि कार्यालयले नयाँ ठेक्का लगाउने तयारी गरेको बताए । हालसम्म उक्त पुलको प्रगति आधा मात्रै सम्पन्न भएको छ । इन्जिनियर जोशीका अनुसार ओदाल खोलाको पुल निर्माणका लागि निर्माण कम्पनीलाई १० प्रतिशत हर्जना लगाएको छ । दोदा नदीको पुलको आगामी २०८२ माघ १२ गतेसम्म म्याद थप भएकाले निर्माण कार्य अघि बढेको छ ।
सडक डिभिजन कार्यालय मातहत ठेक्का भएका पुल १०औं वर्ष बितिसक्दा पुरा नभएपछि पूर्व पश्चिम महेन्द्र राजमार्ग मर्मत सम्भार भने तीव्र रुपमा भइरहेको जनाएको छ । सूचना अधिकारी जोशीले एमएस कस्ट्रक्सनले ७० लाख बजेटमा गड्डाचौकी अत्तरिया सडक, कापली कस्क्ट्रक्सन प्रालिले ४५ लाखमा अत्तरिया चिसापानी र घोडासैनी निर्माण कम्पनीले २९ लाखमा अत्तरिया फल्टुडे सडक मर्मत गरेको बताए । ठेकेदारले दशकौं बितिसक्दा पनि पुल निर्माण कार्य अलपत्र पारेपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।