Logo

खाँचो जाँगरको

सुस्त अर्थतन्त्रमा बिस्तारै सुधार आइरहेका तथ्यांकहरू सार्वजनिक भएका छन् । राष्ट्र बैंकले गएको आइतबार यो वर्षको चैतसम्मका आर्थिक तथा वित्तीय अवस्थाका तथ्यांकहरू सार्वजनिक गरेको थियो । यी सबै तथ्यांक विगतका वर्षहरूमा भन्दा राम्रा छन्, जसलाई सुखद सन्देश मान्नुपर्छ । चैतसम्म ११ खर्ब ९१ अर्ब ३१ करोड रेमिटेन्स नै आएको हो । यो प्रतिमहिना औसतमा १ खर्ब ३२ अर्ब ३६ करोड हो । यस्तै, गएको वर्षको तुलनामा रेमिटेन्स १० प्रतिशतले बढेको छ ।

यो वर्ष चैतसम्म वैदेशिक रोजगारीमा जानेको संख्या बढेको र नेपाली मुद्राका तुलनामा अमेरिकी डलर मजबुत भएकाले रेमिटेन्स १० प्रतिशतले बढेको हो । रेमिटेन्स बढेकै कारण विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब पुगेको छ । गत असारमा २० खर्ब ४१ अर्बबराबर रहेको विदेशी मुद्रा सञ्चिति नौ महिनामा १८.९ प्रतिशतले बढेको छ । चालु खाता २ खर्ब १० अर्ब र शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्बले बचतमा छन् । चैतसम्मको मुद्रास्फीति पनि ३.३९ प्रतिशत मात्र छ ।

अहिलेसम्म १ खर्ब ८८ अर्ब २० करोडबराबरको निर्यात पुगेको छ । यो ६५.२ प्रतिशतको बढोत्तरी हो । भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमश: ९२.६, ६.७ र ५.८ प्रतिशतले बढेको छ । यो वर्ष भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, खोटोलगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, अदुवा, जुस, तयारी पोसाकलगायतका वस्तुको निर्यात घटेको छ । यस्तै १३ खर्ब ९ अर्ब ५३ करोडका वस्तु आयात भएका छन् । यो १२.२ प्रतिशतको बढोत्तरी हो ।

भारत, चीन र अन्य मुलुकबाट क्रमश: ७.७, १४.४ र २४.९ प्रतिशतले आयात बढेको छ । भटमासको कच्चा तेल, चामल/धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्ट्स, खाने तेल, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको छ । पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाईजहाजको पार्टपुर्जा, रासायनिक मल, लेख्ने तथा छाप्ने कागजलगायतका वस्तुको आयात घटेको छ । आन्तरिक अर्थतन्त्रमा सुधार आउन थालेपछि मागमा आएको वृद्धिले आयात बढाएको हो । चैतसम्ममा कुल वस्तु व्यापार घाटा ६.४ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३४ करोड पुगेको छ ।

यस्तै मौद्रिक नीतिको लक्ष्यअनुसार नभए पनि निजी क्षेत्रमा जाने कर्जामा सुधार आएको छ । यस्तै राष्ट्र बैंकले जस्तै केही दिनअघि राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेका यो वर्षका आर्थिक सूचकहरू पनि सकारात्मक छन् । सरकारले यो वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो । अहिले ४.६१ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । योसँगै अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्दै छ । सरकारी लक्ष्यअनुसार नभए पनि अहिले अनुमान गरिएको आर्थिक वृद्धिदर ज्यादै न्यून भने होइन ।

औद्योगिक वर्गीकरणअनुसार अहिले सबै १८ क्षेत्र धनात्मक बनेका छन् । १८ मध्ये सबैभन्दा धेरै मूल्य अभिवृद्धि दर १३.८२ प्रतिशतले विद्युत तथा ग्यास क्षेत्रमा भएको छ भने सबैभन्दा कम मूल्य अभिवृद्धि शिक्षा क्षेत्रको १.९८ प्रतिशत हुने अनुमान छ । यस्तै खानी तथा उत्खननको क्षेत्रको पनि १.९९ प्रतिशतले मात्र मूल्य अभिवृद्धि हुने अनुमान छ । यी दुई तुलनात्मक रूपमा सबैभन्दा कम मूल्य अभिवृद्धि रहने क्षेत्र बनेका छन् । विश्वभर फैलिएको कोभिड महामारीले मुलुकको अर्थतन्त्रका सबै क्षेत्रमा समस्या ल्याएको थियो ।

एक वर्ष आर्थिक वृद्धिदर नै ऋणात्मक समेत बन्न पुगेको थियो भने अर्थतन्त्रको बाह्य क्षेत्रमा दुई वर्षसम्म समस्या ल्याइरह्यो । त्यसपछि अहिलेसम्म आन्तरिक अर्थतन्त्र सुस्त बन्दै आएको छ । यो वर्षका तथ्यांकहरूले भने हाम्रो अर्थतन्त्रले बिस्तारै लय समात्न खोजेकोे देखाएको छ । बाह्य अर्थतन्त्र मजबुत भए पनि आन्तरिक रूपमा कमजोर भएकाले करिब तीन वर्ष समस्या रहिरह्यो । अर्थतन्त्रमा सुधारका संकेत आएका बेला सबै मिलेर काम गर्न सके अहिलेको समस्यालाई पार लगाउन धेरै समय लाग्दैन । खाँचो जाँगरको मात्र हो ।

प्रतिक्रिया दिनुहोस्