विदेशीको सहयोगमा घरघरमा धारा «

विदेशीको सहयोगमा घरघरमा धारा

लमजुङ- बढ्दो शहरीकरणसँगै खानेपानीको अभाव हुँदै गएको लमजुङको बेसीशहर नगरपालिका–२, भकुण्डेमा दीर्घकालिन रुपमा खानेपानी समस्याको समाधान भएको छ ।
एलडीएससी तथा च्वाईस नेपालको साझेदारीमा बृहत खानेपानी आयोजना सम्पन्न भएसँगै भकुण्डेबासीका लागि दीर्घकालिन रुपमा खानेपानीको समस्याको हल भएको हो ।
खानेपानी आयोजनाका निर्माण सम्पन्न गर्नका लागि एलडिएसी र च्वाइस नेपालले एक करोड ४४ लाख रुपैयाँ लगानी गरेको छ । सोही खानेपानी आयोजनाका लागि बेसीशहर नगरपालिकाको तीन लाख र सम्बन्धित वडा कार्यालयबाट १० लाख लगानी गरेका छन् । स्थानीय उपभोक्ताहरुको नगद र श्रमदान गरी ३७ लाख ४५ हजार गरी कुल एक करोड ९१ लाख ४५ हजार रुपैयाँको लागतमा उक्त खानेपानी आयोजना सम्पन्न भएका खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोविन्द खड्काले बताए ।
एकघर एकधारा अभियान अन्तर्गत बेसीशहर–२, झप्रीखेत, बगालेगाउँ र जोगिकुला लगायतका तीन वटा मुहानबाट पानी ल्याई तीनसय घर परिवारलाई वितरण भएको छ ।
साझेदार संस्था च्वाइस नेपालको सहयोगमा बृहत खानेपानी आयोजना सम्पन्न भएसँगै नगरपालिकाले लिएको एकघर एक धारा अभियानमा ठूलो सहयोग पुगेको नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले बताए ।
आयोजनाको स्टमेटमा दुई करोड भन्दा बढी लागत लाग्ने अनुमान गरिएपनि उपभोक्ताको क्रियाशिलता र स्थानीय श्रोतसाधनको उपयोगले कम खर्चमा आयोजना सम्पन्न गर्न सकिएको उपभोक्ता समितिको ठहर छ । खानेपानी आयोजना निर्माणका क्रममा बचत भएको रकमले उपभोक्ता समितिको कार्यलय भवन निर्माण सुरु गरिएको पनि समितिले जनाएको छ ।

जिल्लाको सदरमुकामको मुख्य बजारको नजिकै रहेको भकुण्डेमा हुँदै आएको खानेपानी अभाव र समस्याको दीर्घकालिन समाधान भएको वडा अध्यक्ष गणेश कँडेलले बताए । विगतमा टोल अनुसार निर्माण गरीएका धारा र पानी कम हुँदा स्थानीयले निकै सास्ती खेप्नु परेको भन्दै अब त्यो समस्या टरेको वडा अध्यक्ष कँडेलले बताए ।
च्वाइस नेपालले खानेपानीसँगै भकुण्डे क्षेत्रका व्यावसायिक कृषि, पशुपालन लगायत वातावरण सम्वन्धी विबिध कार्यक्रम समेत सञ्चालन गर्दै आएको संस्थाका सुकराम दुलालले बताए । खानेपानी आयोजना निर्माण सम्पन्न भएसँगै आयोजनाको उद्घाटन भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै सरोकारवालाहरुले निर्माण सम्पनन खानेपानी आयोजनाको संरक्षण र दिगोपनाका लागि उपभोक्ताहरु सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्