बिट्रिस वेलफेयरले विद्यालय भवन निर्माण गरिदिने «

बिट्रिस वेलफेयरले विद्यालय भवन निर्माण गरिदिने

बिट्रिस वेलफेयर ट्रस्टले भूकम्पले पूर्णरूपमा क्षतिग्रस्त जिल्लाकै सबैभन्दा पुरानो विद्यामन्दिर माविको ८ कोठे भवन निर्माण गरिदिने भएको छ । ट्रस्टले १ करोड ३५ लाख रुपैयाँको लागतमा ८ कोठे पक्की भवन निर्माण गरिदिने भएको हो ।
भूकम्पले पूर्णक्षति भएकाले बालबालिका पढाउन समस्या परेपछि विद्यालयले ब्रिटिस वेयलफेयर ट्रस्टमा सहयोग आब्हान गरेको थियो । उक्त आब्हानअनुसार ट्रस्टले ८ कोठे भवन बनाइदिन लागेको हो । बागलुङको अनुगमनमा आएका ट्रस्टका जोन ह्वाइडले भवन निर्माण पूरा भएपछि अन्य संरचना र सामाजिक काममा पनि सहयोग गर्ने बताएका थिए । नेपाली भाषा बोल्ने ह्वाइडले नेपालीहरूले बेलायती सैनिकमा रहेर गरेको कामबाट प्रभावित भएकाले ट्रस्टले खानपानी, शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने बताए ।
ट्रस्टले विद्यालयकै लागि ५ कोठे शौचालय पनि निर्माण गर्ने बताएको छ । ट्रस्टले भवन निर्माणसँगै फर्निचर र डेकोरेसनका सामानका लागि पनि सहयोग गर्न प्रतिबद्ध भएको प्रधानाध्यापक जगन्नाथ आचार्यले बताए । नेपालभरका भूपूहरूलाई पेन्सन दिने काममा पनि गरेको ट्रस्टले बर्सेनि १२ मिलियन पाउन्ड सहयोग गर्दै आएको छ । यो वर्षपछि नेपालभरका ११ वटा भवन बनाउने भएको हो । भूकम्प पुनर्निर्माण प्राधिकरणले दिएको मापदण्ड तथा शिक्षा विभागले बनाएको नक्सांकनको आधारमा ट्रस्टले विद्यालय भवन निर्माण गरिरहेको छ । यो विद्यालयसँगै म्याग्दीको सिखमा रहको अर्को माध्यमिक विद्यालयलाई पनि वेयलफेयरले सहयोग गरेको छ ।
वि.सं १९९७ मा स्थापना भएको विद्यामन्दिर माविमा हाल १ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र गृह विज्ञान विषयको पढाइ सञ्चालन गरिरहेको उमावि संयोजक डिल्लीराज गौतमले बताए । भवन निर्माणका लागि महायज्ञ सञ्चालन गरेर विद्यालयले ५ करोड रुपैयाँ संकलन गरेको व्यवस्थापन समितिका अध्यक्ष सुवाष राजभण्डारीले बताए । यो रकमले तीनतले पक्की भवन निर्माणको काम थालेको छ । कम्तीमा १२ लाख रुपैयाँ सहयोग गर्नेको नाउँमा एक÷एक कोठाको नामकरण गर्ने अभियान छ ।

प्रतिक्रिया दिनुहोस्