प्लस टुमा ४० प्रतिशत ल्याउनेले सिए पढन् पाउने
चार्टर्ड एकाउन्टेन्सी अध्ययनको लागि नयाँ पाठ्यक्रम लागू गरिँदै

काठमाडौं– नेपालमा चार्टर्ड एकाउन्टेन्सी (सिए) शिक्षालाई अझ सान्दर्भिक तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले अबदेखि नयाँ पाठ्यक्रम लागू गरिने भएको छ । लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले लेखा व्यवसायको एक अग्रणी संस्था दी इष्टिच्युट अफ चार्टर्ड एकान्टेन्ट्स इन इंल्याण्ड एण्ड वेल्ससँगको प्राविधिक सहकार्यमा नयाँ पाठ्यक्रम विकास गरेको हो ।
यसरी विकास गरिएको नयाँ पाठ्यक्रम चार्टर्ड एकाउन्टेन्सी शिक्षाको पहिलो, दोश्रो र तेश्रो तहका लागि क्रमश: डिसेम्बर २०२५, डिसेम्बर २०२६ र जुन २०२८ बाट लागू गरिने आइक्यानका अध्यक्ष प्रविणकुमार झाले बताए । नयाँ पाठ्यक्रमअनुसार कुल १६ विषयमध्ये ५ वटा विषय नेपालकै नयाँ पाठ्यक्रम कार्यान्वयनसँगै आइक्यानले सिए पढ्नको लागि भर्नाको मापदण्डमा पनि परिवर्तन गर्ने भएको छ । अहिले सिए पढ्नको लागि प्लस टुमा ५० प्रतिशत अंक ल्याउनुपर्छ ।
”तर, अब भर्ना हुने विद्यार्थीले ४० प्रतिशत अंक ल्याए पनि अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ” उनले भने । यसअघि म्यूजिक, फाइन आर्टस, नृत्य, भाषा, साहित्य, कला विषय लिएर प्लस टु पास गर्नेले भर्ना हुन नपाउने व्यवस्थालाई अहिले हटाइएको छ । चार्टर्ड एकाउन्टेन्सी शिक्षाको नयाँ पाठ्यक्रम लेखा व्यवसायको सर्वोच्च निकाय इण्टरनेशनल फेडेरेसन अफ एकान्टेन्ट्सबाट जारी भएको अन्तर्राष्ट्रिय शिक्षा मापदन्ड अनुरुप विकास गरिएको छ । ”सिकाइ उदेश्य र टेक्निकल नलेज ग्रीडको अवधारणा अनुरुप विकास गरिएको हो” अध्यक्ष झाले भने ।
यस पाठ्यक्रममा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप लेखाक्षेत्रका महत्त्वपूर्ण पक्षहरु संहिता, दीगोपना, प्रविधि र सार्वजनिक वित्त व्यवस्थापन लगायतका विषयवस्तुहरु हरेक विषयको सान्दर्भिकता अनुसार समावेश गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आइक्यानले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय संस्थाको प्राविधिक सहयोगमा विकास गरिएको नयाँ पाठ्यपुस्तकले उच्च गुणस्तरीयसमग्र चार्टर्ड एकाउन्टेन्सी शिक्षाको गुणस्तर अभिवृद्धि हुने अपेक्षा रहेको छ ।
नयाँ पाठ्यक्रम लागू भएपश्चात् देशलाई आवश्यक दक्ष लेखा व्यवसायी उत्पादन भई देशको समग्र लेखा व्यवसाय क्षेत्रको विकासमा टेवा पुग्ने तथा संस्थाका सदस्यहरुको अन्तर्राष्ट्रिय पहिचान तथा प्रतिस्पर्धी क्षमता देशको समग्र लेखाव्यवसाय क्षेत्रको विकासमा टेवा पुग्ने तथा संस्थाका सदस्यहरुको अन्तर्राष्ट्रिय पहिचान तथा प्रतिस्पर्धी क्षमतामा समेत उल्लेखनीय रुपमा वृद्धि हुने विश्वास लिइएको आइक्यानका उपाध्यक्ष निलबहादुर सारुमगरले बताए ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपालमा लेखा व्यवसायको विकास, संरक्षण, सम्वर्द्धन तथा नियमन गर्नका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापित नियमनकारी निकाय हो । यस संस्थाले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ को व्यवस्था बमोजिम सन् १९९९ देखि चार्टर्ड एकाउन्टेन्सी शिक्षा प्रदान गर्दै आएको छ ।