Logo

बरगाछी–रानी सडक सुन्दर बनाउन इन्भेष्टमेन्ट फाइनान्सको सहयोग

विराटनगर– विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनामा इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले पहिलो चरणमा ५० हजार रुपैयाँ सहयोग गरेको छ । महानगरको सौन्दर्यकरणका लागि ख वर्गका वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एक लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धताअनुरुप कम्पनीले उक्त सहयोग गरेको हो ।

मंगलबार महानगरका मेयर नागेश कोइरालालाई कम्पनीका शाखा प्रमुख हरिबहादुर श्रेष्ठ र अप्रेसन इन्चार्ज मुकेश दाहालले ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरे । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल र सौन्दर्यकरण परियोजनाका लागि महानगरका तर्फबाट सहजीकरण गरिरहेका सरसफाइ शाखा प्रमुख पुनमकुमार दाहालको उपस्थितिमा चेक हस्तान्तरण गरिएको थियो ।

बाँकी रकम दोस्रो चरणमा उपलब्ध गराइने शाखा प्रमुख श्रेष्ठले बताए । महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजना अगाडि बढाएको छ । परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ । उक्त फाइनान्ससहित १९ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३३ लाख रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।

यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी, सानिमा, कृषि विकास, एनएमबी, स्ट्यान्डर्ड चार्टर्ड, एसबीआई, हिमालयन, नविल, लक्ष्मी सनराइज, सिटिजन, सिद्धार्थ, प्राइम, एभरेष्ट, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका छन् । महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाले उक्त सडक सौन्दर्यकरणमा सहयोग पुर्‍याइरहेका छन् ।

हाल तारजाली लगाएर फूल रोप्ने कार्य अन्तिम चरणमा पुगेको छ । बरगाछी–रानी सडक खण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये सबैमा तारजाली लगाइसकिएको छ । अब केही डिभाइडरमा मात्रै फूल रोप्न बाँकी छ । यसअघि रोपेका फूल र बिरुवाका कारण विराटनगर सुन्दर देखिएको छ । महानगरका मेयर कोइरालाले विराटनगरको समग्र विकासमा सबैको सहयोग आवश्यक रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्