कर्णाली राजमार्गका विभिन्न खण्डमा स्तर वृद्धि

जुम्ला- कर्णालीको विकास र समृद्धिको मेरुदण्ड मानिएको कर्णाली राजमार्ग स्तरोन्नति सुरु भएको छ । जुम्ला–सुर्खेत २३२ किमी दुरी रहेको कर्णाली राजमार्ग अन्तर्गत विभिन्न खण्डमा स्तरोन्नतिको काम भइरहेको छ । राजमार्गको विभिन्न खण्डमा डबल कटिङ, ग्राभेल, कालोपत्रेलगायतका सुधारका काम भइरहेका छन् । कालीकोट र दैलेखको सीमानाका दहीखोला–खुलालु खण्डलाई फराकिलो बनाउन थालिएको छ । राजमार्गको सो खण्ड साँघुरो रहेकाले फराकिलो बनाउने काम थालिएको छ ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दहीखोलादेखि खुलालु कर्णाली कोरिडोर क्षेत्र र जुम्ला सडकको करिब तीन किलोमिटरमा फराकिलो बनाउने डबल कटिङ काम भइरहेको छ । डिभिजन प्रमुख दीपेन्द्र चौधरीका अनुसार उक्त खण्डको तीन किलोमिटरको डबल कटिङ गर्ने लक्ष्य राखिएको छ । कर्णाली राजमार्ग २०७९ को बाढी पहिरोले धेरै क्षति भएको थियो । त्यतिबेला क्षति भएको राजमार्ग अझै लयमा आउन सकेको छैन । धेरै ठाउँमा अहिले पनि जोखिम कायमै छ ।
सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी प्रदीपकुमार चौधरीले दहीखोलादेखि खुलालु क्षेत्रको पाँच करोडको ठेक्का आह्वान भएर काम सुरु भइसकेको बताए । उनका अनुसार सडक डबल कटिङ गर्नका लागि १० करोड बजेट विनियोजन भएकोमा पहिलो चरणमा पाँच करोडको ठेक्का सम्पन्न भएर काम थालिएको छ । डबल कटिङपछि उक्त सडक नौ मिटर चौडा बनाइने छ । सडक डिभिजनका अनुसार सो कार्यका लागि (गुरा सेवा निर्माण) कम्पन्नीले जिम्मा पाएको छ ।
कार्यालयका अनुसार कर्णाली राजमार्ग नाग्म–जुम्ला खण्डसमेत मर्मत भइरहेको छ । सो खण्डका लागि १० करोड बजेटमा काम गर्न सम्झौता भएको छ । डिभिजन कार्यालयले कालीकोट र जुम्लाको सीमा नाग्मदेखि जुम्ला सदरमुकामसम्म फराकिलो बनाउने काम भइरहेको छ । यता कर्णाली राजमार्गको नाग्म–जुम्ला खण्डको रारा, त्रिवेणी, लिताकोट र जर्मी क्षेत्रमा कालोपत्रेको काम सुरु गर्न लागिएको छ ।
गत वर्षनै डबल कटिङ भइरहेको उक्त खण्डमा अहिले ग्राभेल सम्पन्न गरी कालोपत्रे गर्ने तयारी भइरहेको सडक डिभिजन जुम्लाका प्रमुख चौधरीले बताए । उनले भने, ‘नाग्म–जुम्ला खण्डको विभिन्न भागमा ग्राभेल गरेर सकिएको छ । विगतमा निधै सास्ती पूर्ण उक्त सडक खण्डमा ग्राभेलपछि निकै सहज भएको छ । अब तत्काल कालोपत्रेको काम अघि बढी रहेको छ ।’
विगतमा निकै सास्ती हुने सडकमा अहिले निकै सहज भएको स्थानीय लोकबहादुर दमाईले बताए । उनले ग्राभेलपछि धुलो धुँवा बढ्दै गएकोले कालोपत्रे छिटो भन्दा छिटो गर्नुपर्नेमा जोड दिए । जुम्ला खण्डमा कालापत्रेको लागि ग्राभेलको काम अन्तिम चरणमा हुँदा रारा जाने पर्यटकीय मार्ग नाग्म–गमगडी सडक कालोपत्रे काम भने रोकिएको छ ।
बजेट अभावका कारण कालोपत्रे कार्य रोकिएको सडक डिभिजन जुम्लाले जानकारी दिएको छ । बजेट माग गरेपनि समयमै बजेट नआएका कारण काम प्रभावित भएको छ । बजेट अभावले नाग्म–गमगढी राजमार्ग कालोपत्रे पूरा हुन सकेको छैन । कालोपत्रेका लागि कार्यालयले ३५ करोड बजेटको अनुमान गरेको छ । सो राजमार्ग अन्तर्गत करिब साढे ६ किलोमिटर कालोपत्रे भएको छ ।