गण्डकी रेन्बो ट्राउट फार्मबाट वार्षिक पाँच करोडको कारोबार

पोखरा– कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको गण्डकी ट्राउट फार्मबाट वार्षिक पाँच करोड रुपैयाँबराबरको कारोबार हुने गरेको छ । उक्त फार्ममा २५ टन रेन्बो ट्राउट माछा उत्पादन हुने गरेको छ भने सोही मात्रामा कास्की र पर्वतबाट ल्याईएका २५ टन माछाको कारोबार हँदा वार्षिक पाँच करोड रुपैयाँसम्मको कारोबार हुने गरेको हो ।
विगत १६ वर्षदेखि सञ्चालन हुँदै आएको उक्त फार्ममा पछिल्ला केही वर्षदेखि पर्वतको पाती खोला रेन्बो ट्राउट फार्मबाट करिब २५ टन माछा खरिद गर्ने गरेको सञ्चालक लक्षिन गुरुङले बताए । उक्त फार्ममा वार्षिक रूपमा ३ लाख रेन्बो ट्राउट माछाका भूरा उत्पादन हुने गरेको छ । फार्ममा उत्पादित उक्त माछामध्ये ५० प्रतिशत अन्य फार्महरूले लैजाने गरेको अर्का सञ्चालक अमृत गुरुङले बताए ।
उक्त फार्ममा साना ठूला गरी करिब ६० वटा पोखरी रहेका छन् । महेन्द्रपुलदेखि करिब १६ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त फार्ममा हाल पोखरासहित कास्की एवम् पोखरा भ्रमणमा आउने किसानदेखि सेलीबे्रटीसम्म फार्ममा पुग्ने र रेन्बो ट्राउट माछाको स्वाद लिने गर्छन् । आफ्नो ऊर्जाशील समय विदेशमा व्यतीत गरी स्वदेशमा केही गर्नु पर्छ भन्ने भावनाबाट स्वदेश फर्किएका अमृत र बेलायतबाट नेपाल आएका लक्षिन गुरुङ २०६६ सालदेखि हालसम्म निरन्तर यस पेसामा आबद्ध छन् ।
गण्डकी प्रदेशमै पहिलो पटक व्यावसायिक रूपमा सुरु गरेका रेन्बो ट्राउट जातको माछा पालन हिजोआज उनीहरूकै प्रेरणाले गर्दा यस क्षेत्रमा करिब १६ वटा फार्महरू सञ्चालन भएका छन् । फार्म टु टेवल भन्ने उद्देश्यले चिसो पानीमा हुने रेन्बो ट्राउट माछाको १३ प्रकारको स्वाद दिने गरेको उक्त फार्ममा सञ्चालन भएको रेष्टुरेन्टमा खाना तथा खाजा खानेहरू सार्वजनिक बिदाको दिनमा एक सय जना भन्दा बढी सहभागी हुने गरेको सञ्चालक गुरुङले बताए ।
उक्त फार्ममा आगन्तुक पाहुनालाई स्वागत गर्न हाल १० वटा रुमहरू होमस्टेको रूपमा समेत सञ्चालनमा रहेका छन् । एकै रातमा ३० जनालाई व्यवस्थापन गर्न सकिने उक्त फार्मको होमस्टेमा प्रति होमस्टे आवास शुल्क एक हजार मात्र रहेको छ । उक्त फार्ममा आफैले माछा मारेर पनि माछा खान तथा खरिद गर्न सकिन्छ । आफैले माछा मार्दा प्रति केजी एक सय रुपैयाँ बढी शुल्क लाग्ने गर्छ । करिब ३५ देखि ४० टन माछा विभिन्न परिकारमा रेष्टुरेन्टबाटै खपत हुने गरेको सञ्चालक अमृतले बताए ।
१० देखि १५ टन माछा भने स्वदेश तथा विदेशमा बिक्री हुने गरेको उनको भनाइ छ । करिब ८० रोपनी क्षेत्रफलमा फैलिएको उक्त फार्ममा हाल फुटबल मैदान, विभिन्न पिङ, स्विमिङ पुल, हरियाली पार्क, पर्याप्त पार्किङ रहेको छ । यहाँबाट हरियाली वन जंगलसहितको दृश्यावलोकन गर्न सकिन्छ । हाल ३० जनालाई प्रत्यक्ष रूपमा रोजगार दिएको पनि उनीहरूले बताए ।
माछा पालन गर्न चाहेमा आफूहरूले खान बस्नसमेत सुविधा दिएर आवश्यक प्रशिक्षण गराउन तयार रहेको सञ्चालकद्वयको भनाइ छ । स्वदेशमै केही सपना देखेर लगानी गर्दा ढिलो चाँढो त्यसको प्रतिफल आउने उनीहरूले दाबी गरे । फार्ममा रेन्बो ट्राउटको माछा सम्बन्धी कक्षा सञ्चालन हुने गरी माछा पालन गर्न चाहने किसानहरूको लागि सहजीकरण गर्ने पनि उनीहरूले बताए ।
अझ धेरै माछा उत्पादन हुने उन्नत जातको माछाको भूरा र नयाँ प्रविधि भित्र्याउन चाहेको दुवै सञ्चालकले बताए । रेन्बो ट्राउट माछा प्रतिकेजी एक हजार दुई सय रुपैयाँ पर्छ भने सुकुटी बनाएको माछाको प्रति केजी ६ हजार रुपैयाँ पर्छ । उमेरले ६५/६६ वर्ष पुगेका उनीहरूले आफ्नो व्यवसायलाई पुस्तान्तरण गर्ने कार्यलाई पनि अघि बढाएका छन् ।