जेठका लागि तीन बैंकले बढाए ब्याजदर

काठमाडौं- जेठ महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदरको सूची सार्वजनिक गरेका छन् । सार्वजनिक सूचीअनुसार १४ बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर जेठ महिनाका लागि पनि यथावत राखेका छन् ।
तीन वटा बैंक नेपाल, एभरेस्ट र सानिमाले वैशाखको तुलनामा जेठमा सामान्य बढाएका छन् । तीन वटा बैंक नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी र सिद्धार्थले सामान्य घटाएका छन् । समग्रमा व्यक्तिगत मुद्दतीमा दिने औसत ब्याजदर घटेको छ । वैशाख महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५.९७९ प्रतिशत रहेकोमा जेठ महिनामा ५.९५२ प्रतिशतमा झरेको छ ।
राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर र संस्थागत निक्षेपमा दिने ब्याजदरको अन्तर न्यूनतम १ प्रतिशत विन्दु हुनुपर्ने व्यवस्था गरेको छ । जेठमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा न्यून ब्याजदर नेपाल बैंकले ५.४५ प्रतिशत तोकेको छ भने सबैभन्दा धेरै ब्याजदर एभरेस्टले ६.६४ प्रतिशत तोकेको छ ।