फोहोरबाट बनाइयो टायल र इन्टरलक

दाङ– फोहोर वस्तुबाट टायल र इन्टरलक उत्पादन गरिएको छ । दाङको राप्ती गाउँपालिकामा फोहोरको यस्तो उपयोग भएको हो ।
जिल्लामा यो सम्भवतः पहिलो यस्तो उद्योग हो । राप्ती गाउँपालिका–२ पुन्यपुरमा प्लास्टिकजन्य फोहोरबाट टायल, इन्टरलक लगायतका सामग्री उत्पादन गरिएको हो । प्लास्टिकजन्य फोहोरबाट मोहर बनाउने गाउँपालिकाको अभियान अन्तर्गत इको फ्यामिली प्रालि हेटौंडासँगको सहकार्यमा फोहोरबाट टायल, इन्टरलक इँटा लगायतका सामग्री उत्पादन गर्न थालिएको छ । फोहोरलाई व्यवस्थापन गरेर गल्ने फोहोरबाट टायल, इन्टरलक लगायतका सामग्री उत्पादन गर्न थालिएको इको फ्यामिली प्रालिका सुपरभाइजर लालबहादुर चौधरीले बताए ।
चौधरीका अनुसार फोहोरका रूपमा फालिने चाउचाउ, बिस्कुट, भोला, गुट्का लगायतका प्लास्टिकबाट टायल, इन्टरलक तथा टाँक उत्पादन गर्ने योजना भए पनि पहिलो चरणमा टायल उत्पादन गरिएको बताए । चौधरीले भने, ‘परीक्षणका रूपमा उत्पादन गरिसकेका छौं । उत्पादन राम्रो निस्किएको छ तर प्लास्टिकलाई पगालेर गोलो बनाउने मेसिन अझै आइनपुग्दा नियमित उत्पादन गर्न सकेका छैनौं । चाँडै काम गर्नका लागि एग्लो मेसिन आउँदैछ । यो मेसिन आइपुग्यो भने नियमित उत्पादन हुन्छ ।’
उत्पादन भएको टायल प्रतिपिस ३५ रुपैयाँका दरले बिक्री हुने उनले बताए । गाउँपालिकाभित्रका नागरिकलाई २० प्रतिशत छुट हुनेछ । फोहोरबाट टायल उत्पादन गर्न थालेपछि खरिदका लागि मानिसहरू आउने गरे पनि नियमित नहुँदा आफूहरूले अर्डर लिन नसकेको चौधरीले बताए । उनका अनुसार पूर्ण वातावरणमैत्री, घाम र पानीले वर्षौंसम्म केही गर्न नसक्ने र ३३ सय टन भारवहन क्षमता भएका घरदेखि सरकारी कार्यालय एवम् पार्कहरूमा प्रयोग गर्न सकिने छ ।
लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा फोहोरलाई मोहरमा बदल्ने गाउँपालिकाको उद्देश्यले इको फ्यामिली प्रालिसँग सम्झौता गरेर टायल, इन्टरलक लगायतका सामग्री उत्पादन गर्न थालिएको राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी बताउँछिन् । गाउँपालिकाले फोहोर संकलन गरेर सरसफाइ व्यवस्थापन तथा स्रोत केन्द्रसम्म पुर्याइदिने र बाँकी फोहोर वर्गीकरणदेखि प्लास्टिक सामग्री र जैविक मल उत्पादनको काम इको फ्यामिलीले गर्ने उनले जानकारी दिइन् । प्लास्टिकबाट टायल, इन्टरलक, टाँक लगायतका सामग्रीसहित जैविक वस्तुबाट मल उत्पादन गर्ने गरी २०७९ भदौमा सम्झौता भएको थियो ।
स्वच्छ र हरित पालिका निर्माण गर्ने अभियान अन्तर्गत फोहोरबाट प्लास्टिक सामग्री उत्पादन थालेको उनले बताइन् । उपाध्यक्ष चौधरीले भनिन्, ‘प्लास्टिकबाट टायल, इन्टरलक इँटालगायतका सामग्री उत्पादन गर्न सुरु भएको छ । यसले फोहोर व्यवस्थापनमा सहयोग गरेको छ ।’ गाउँपालिकाले सरसफाइ व्यवस्थापन तथा स्रोत केन्द्र स्थापनासँगै फोहोरबाट टायल, इन्टरलक इँटा लगायतका सामग्री उत्पादनका लागि दुई करोड २० लाख रुपैयाँ लगानी गरिसकेको छ । यो रकमबाट जग्गा तारबार गर्नेदेखि प्लास्टिक टायल, इन्टरलक इँटालगायतका सामग्री उत्पादन गर्ने दुईवटा घर निर्माण गरिएको छ । कम्पनीले टायल, इन्टरलक इँटा, टाँक र मल बनाउन प्रयोग नहुने फोहोरलाई कबाडमा बिक्री गर्ने र त्यसबाट गाउँपालिकाले निकासी कर लिने गरी सहमति भएको उपाध्यक्ष चौधरीले बताइन् ।
नौ वटा वडा रहेको राप्ती गाउँपालिकाबाट दैनिक आठ ट्याक्टर फोहोर संकलन हुने गरेको खानेपानी तथा सरसफाइ शाखा प्रमुख गीता चौधरी बताइन् । उनका अनुसार फोहोर संकलनदेखि वर्गीकरणसम्मको काम गर्न १८ जनाले रोजगारी पाएका छन् । जसमा आठ जना इको फ्यामली प्रालि र १० जना गाउँपालिकाले कर्मचारीको व्यवस्थापन गरेको चौधरीले जानकारी दिइन् । फोहोरबाट सामग्री उत्पादन गर्न थालिएपछि फोहोर व्यवथापन गर्न समेत सहज भएको गाउँपालिकाले जनाएको छ । फोहोरबाट टायल, इन्टरलक सामग्री उत्पादन भएपछि ती सामग्री हेर्न आउनेहरु पनि थुप्रै छन् ।