मधेसका बजारमा मोहीको ब्रान्डिङ

बारा– पछिल्लो समय बाराका निजी डेरी कम्पनी तथा दुग्धजन्य सहकारीले ‘कोल्ड ड्रिंक्स’को विकल्प मोही भन्दै ब्रान्डिङ गरेर मधेसको बजार तथा उपभोक्तामाझ बिक्री बढाउन थालेका छन् ।
परम्परागत स्वादमा रैथाने पेय पदार्थ भन्दै मोहीको उपयोगिता र प्रयोगलाई बजारमा प्रचार गर्दै निजी तथा दुग्धजन्य सहकारीले बाराको उत्तरी क्षेत्रको उपभोक्तामाझ बिक्री बढाउँदै लैजान थालेका हुन् । गत वर्ष निजगढलगायतका क्षेत्रमा परीक्षणका रूपमा प्रयोगमा ल्याइएको मोही यो वर्ष गर्मी सिजन लागेसँगै निजी डेरी कम्पनीले समेत ‘कोल्ड ड्रिंक्स’को विकल्पमा बलियो बजार देखेपछि उत्पादन थालेका छन् ।
मौलाकाली डेरी प्रालिका सञ्चालक रामप्रसाद लामिछानेले भने, ‘यसै वर्षदेखि मोही उत्पादन सुरु गरी डुमरवाना, सिमरा, अमलेखगन्जदेखि वीरगन्जसम्मका पाँच स्थानबाट बिक्री थालेका छन् । आठ महिना तराईको गर्मी मौसममा यस पटक मधेसका बजारमा सिलबन्दी कोल्ड ड्रिंक्ससँगै बिक्रीमा सरल मूल्यको मोही बलियो प्रतिस्पर्धी हुने देखियो ।’
मोहीको मात्रै दुई हजार लिटरसम्म दैनिक उत्पादन क्षमता रहेको लामिछानेले बताए । मोहीको जहींतहीं सजिलो प्रयोग तथा बिक्री बढाउन चार सय एमएल बोतलमा यसै सातादेखि थप उत्पादन बजारमा लगिने उनले जानकारी दिए । निजी कम्पनी, दुग्ध सहकारीसँगै मोहीलाई स्वदेशी वस्तु उत्पादन भन्दै अभियन्ता, जनप्रतिनिधि र उपभोक्ताले समेत प्रयोग गरी ब्रान्डिङमा साथ दिन थालेका छन् ।
मोहीका ब्रान्डिङपछि दूध उत्पादनको पकेट क्षेत्र निजगढ, डुमरवाना, पिलुवालगायतका किसान उत्साहित छन् । निजगढ–२ का पशुपालक महिला कृषक भवानी थापाले केही समय अघिसम्म डेरीले लामो समयसम्म दूधको पैसा बाँकी राखे पनि गत महिनादेखि दुई सातामै भुक्तान दिन थाल्नुको पछाडि मोही बिक्री भएको सुनाइन् ।
दुग्धजन्य उत्पादनसँगै मोही बिक्रीले कृषकको गोठसम्म उपभोक्ताको रकम आउने हुँदा पशुपालकलाई उन्नत जातका पशु, गोठ बढाउन हौसला मिलेको उनको भनाइ छ । मोहीको ब्रान्डिङपछि पछिल्लो समय मधेसका सुपर मार्केट, खुद्रा पसल, होटल, क्याफे, विवाह, भोज, महोत्सव, पार्टी, आमसभा, कार्यालय, सेमिनारदेखि व्यक्तिको घरसम्म मोहीको माग हुन थालेको उद्योग वाणिज्य संघ अध्यक्ष मोहन शर्माले बताए ।
मोही प्रयोग मधेसमा एकाएक बढ्दै जाँदा उपभोक्तामाझ रुचि बढेकाले गर्मी लागेसँगै भान्सासम्मै पहुँच बनेपछि जिल्लामा मोही उत्पादन पाँच हजार लिटरसम्म पुग्ने अनुमान गर्न सकिने उनले जानकारी दिए । ७० प्रतिशतभन्दा बढी चिनी, रसायन हुने बट्टाका जुस ‘कोल्ड ड्रिंक्स’ जस्तो नभई मोही आफैमा पारम्परिक, प्राकृतिक, स्वस्थकर मानिन्छ ।