Logo

करार सम्झौता भएका ५४० मध्ये ५०९ युवा इजरायल पुगे

काठमाडौं– युद्धको त्रास कम भएसँगै केयरगिभरका लागि छानिएका ९२३ युवामध्ये हालसम्म ५०९ इजरायल रोजगारीका लागि पुगेका छन् । करार सम्झौता गरेका ५४० मध्ये ५०९ युवाले इजरायलका विभिन्न केयर सेन्टर (बेताबोद) मा काम सुरु गरिसकेको वैदेशिक रोजगार विभागले जानकारी दिएको हो ।

स्वास्थ्य परीक्षण गरिएका १ हजारमध्ये पास भएका ९२३ युवा करार सम्झौतापछि इजरायल पुगेका छन् । विभागको इजरायल शाखाका निर्देशक गिरिराज ज्ञवालीका अनुसार करार सम्झौता गरेका युवाका लागि भिसा जारी गरिरहेकाले इजरायल पुग्ने क्रम बढेको छ । तर, केही समययता बाँकी रहेकाको करार सम्झौता भने सुस्त गतिमा भइरहेको उनले उनले जानकारी दिए ।

इजरायल–हमास युद्धको त्रास कम हुने संकेत देखिन थालेपछि रोकिएका नेपालीलाई पठाउन इजरायल पक्षले पत्र प्रेषित गरेसँगै तीन महिनाभित्र इजरायल जाने बाटो खुलेको हो । यद्यपि विभागले समयभन्दा पनि इजरायलको मागअनुसार केयरगिभर पठाइने जनाएको छ । केही महिनाअघि इजरायल–अतिवादी समूह हमास र यमनका विद्रोही समूहबीच तनाव बढ्दै जाँदा रोजगारीका लागि जाने तयारीमा रहेका नेपाली लामो समयदेखि रोकिएका थिए ।

पछिल्लो समय इजरायलमा रोजगारीका लागि नेपालीको संख्या बढ्दै गएपछि त्यहाँ कार्यरत कामदारको सुरक्षा चासो बढेका कारण नेपालबाट नियमित रुपमा जान सकेका थिएनन् । काठमाडौंस्थित इजरायली दूतावासले केयरगिभर रोजगारीमा जान मिल्ने आशयको पत्र पठाएका कारण सबै कामदारलाई तीन महिनाभित्रको मेडिकल म्यादमा पठाउने विभागको तयारी छ ।

इजरायलमा हाल एक हजार ६ सय ३० सरकार–सरकार अर्थात् जीटूजीमार्फत कामदारसहित लगभग चार हजार सात सय बढी नेपाली कार्यरत छन् । इजरायलका विभिन्न केयरगिभर (वेताबोद) मा विदेशी श्रमिक अभाव हुन थालेपछि सो क्षेत्रमा नेपाली केयरगिभर लैजाने तयारीसहित करार सम्झौता धमाधम हुन थालेको विभागले जनाएको छ ।

यसबाहेक विगत डेढ वर्षदेखि इजरायल गएर काम गर्ने नेपाली केयरगिभर एक हजार ६ सयभन्दा बढी संख्याका छन् । इजरायलस्थित नेपाली दूतावासले थप केयरगिभर र अन्य क्षेत्रका कोटाका सम्बन्धमा छलफल गरिने जानकारी दिएको छ । आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल जाने श्रमिक बढ्ने भएपछि त्यहाँबाट आउने रेमिट्यान्ससमेत वृद्धि हुनेछ ।

केही समयपछि इजरायलले थप नेपालीलाई रोजगारी अवसर दिने प्रतिबद्धता जनाएपछि नेपालले अन्य क्षेत्रमा थप कामदार पठाउन गृहकार्य गरिरहेको छ । इजरायल सरकारले वार्षिक रुपमा नेपाली श्रमिकको माग संख्या वृद्धि गर्दै लगेर नयाँ केयर सेन्टरमा रोजगारी दिइने जनाएको छ । इजरायलले यहाँबाट गएका नेपालीलाई विभिन्न वृद्धाश्रम (वेताबोद) र अस्पतालमा काम गर्ने गरी रोजगारी दिइसकेको छ । इजरायलले पछिल्लो समय केयरगिभरबाहेक कृषि क्षेत्रका लागि एक हजार नेपाली लैजाने आश्वासन दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्