Logo

जुम्लामा राजस्व असुली निराशाजनक

जुम्ला– कर्णाली प्रदेशको राजधानी सुर्खेतपछि दोस्रो ठूलो सहर जुम्लामा व्यापारिक गतिविधि सुस्त भएपछि त्यसको प्रत्यक्ष राजस्व संकलनमा देखिएको छ । एकापछि अर्को उद्योग खारेजी क्रम बढ्नु, बजारको व्यापार घट्नु, अनुगमन निरीक्षण नियमित नहुनु र कर छलीलगायत कारणले जुम्लामा राजस्व संकलन प्रभावित भएको हो ।

जुम्ला, कालीकोट र मुगु गरी तीन जिल्ला कार्यक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय जुम्लाले चालू आवको ९ महिनामा लक्ष्यअनुसार राजस्व उठाउन सकेको छैन । चालू आर्थिक वर्ष २०८१/८२ को चैतसम्म ५० करोड ५४ हजार संकलन लक्ष्य राखिए पनि वैशाख १५ सम्मको तथ्यांक केलाउँदा तीन वटै जिल्लाबाट जम्मा २३ करोड ९१ लाख ९६ हजार मात्रै राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय जुम्लाका कर अधिकृत सचिन पौडेलले बताए ।

उनका अनुसार चैतको लक्ष्यमा करिब २७ करोड राजस्व असुली हुन सकेन । आन्तरिक राजस्व कार्यालय जुम्लाले चालू आर्थिक वर्षमा वार्षिक रुपमा ६३ करोड ७१ लाख ४ हजार राजस्व संकलनको वार्षिक लक्ष्य राखेको छ । तर, ९ महिनासम्म जम्मा २३ करोड मात्रै असुली भएको भएको छ । कार्यालयको लक्ष्य भेट्याउन अझै ४० करोड राजस्व संकलन गर्नुपर्नेछ । चालू आव सकिन दुई महिना मात्रै बाँकी छ । आर्थिक वर्ष सकिन अब करिब दुई महिना मात्रै बाँकी रहँदा लक्ष्यनुसारको राजश्व संकलन नहुने संकेत देखिएको छ ।

‘कर्णालीजस्तो आन्तरिक आय कमजोर हुने क्षेत्रमा नियमित संकलन हुनुपर्ने राजस्व पनि उठेन’, कर अधिकृत पौडेल भन्छन्, ‘राजस्व देशको मेरुदण्ड हो । यहाँको व्यावसायिक क्षेत्र, व्यापार, उद्योगको अवस्था हरेर वार्षिक राजस्वको लक्ष्य तोकिन्छ । तर, जुम्लामा अनुदानमुखी उद्योग धेरै रहेका, ठूला उद्योग नभएकाले आर्थिक गतिविधि कमजोर छ । जनशक्ति नहुँदा नियमित बजारमा पनि निस्कन सकेनौं । त्यसैले राजस्व संकलनमा ठूलो गिरावट आएको हो ।’

आन्तरिक राजस्व कार्यालयमा स्थायी दरबन्दी १३ जनाको छ । तर, स्थायी चार जना र करार तीन जना गरी सात जना मात्रै कार्यरत छन् । अझै ७ जनाको दरबन्दी रिक्त छ । तीन जिल्लामा १६ हजार बढी करदाता संख्या रहेकाले असार मसान्तसम्म लक्ष्यनुसारको राजस्व संकलन हुने कार्यालयको दाबी छ । तर, क्रमिक रुपमा जुम्लामा उद्योग खारेजी क्रम बढेकाले राजस्व संकलनले लक्ष्य भेट्याउन मुस्किल छ ।

प्रतिक्रिया दिनुहोस्