Logo

हिउँदे बाली गहुँ र जौ उत्पादन तीन प्रतिशतले घट्यो

काठमाडौं–नेपालको मुख्य हिउँदे बालीमध्ये गहुँ र जौ उत्पादनमा कमी आएको तथ्यांक सार्वजनिक भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हिउँदे बाली गहुँ र जौ उत्पादनमा ३ प्रतिशतले कमी आएको हो । पर्याप्त सिँचाइ सुविधा नहुनु र जलवायु परिवर्तनका कारण पानी नपरेपछि हिउँदे बाली उत्पादनमा कमी आएको मन्त्रालयका तथ्यांक शाखा प्रमुख रामकृष्ण रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार यो वर्ष सुक्खा हिउँदका कारण गहुँ, जौलगायत बाली उत्पादनमा गत वर्षको तुलनामा कमी आएको छ । गहुँ उत्पादन गत वर्षभन्दा ३ प्रतिशतले घटेको छ भने जौ उत्पादन ३.८२ प्रतिशतले घटेको छ । तथ्यांकअनुसार गत वर्ष ६ लाख ९७ हजार हेक्टर जमिनमा गहुँ खेती गर्दा २० लाख ९८ हजार टन उत्पादन भएको थियो । यो वर्ष ६ लाख ८१ हजार हेक्टर जमिनमा गहुँ खेती गर्दा २० लाख ३५ हजार टन उत्पादन भएको छ ।

गत वर्षभन्दा यो वर्ष पानी नपर्दा सुक्खा मौसमका कारण १६ हजार हेक्टर जमिनमा खेती कम हुनुका साथै ६३ हजार टन उत्पादनमा समेत कमी आएको हो । यस्तै, जौ २ लाख २४ हजार हेक्टर जमिनमा खेती हुँदा २४ हजार ९३ टन उत्पादन भएको छ । गत वर्ष २ लाख २७ हजार हेक्टर जमिनमा जौ खेती हुँदा २५ हजार ९२ टन उत्पादन भएको थियो ।

रेग्मीका अनुसार यो वर्षको हिउँदमा पानी नपर्दा कारण उत्पादन घटेको छ । खेतीयोग्य सबै जमिनमा सिँचाइ सुविधा पुगेको छैन । पानी नपर्ने र सिँचाइ सुविधा नहुनुले उत्पादनमा कमी आएको हो । गत वर्षभन्दा यो वर्ष धेरै सुक्खा भएका हुँदा मन्त्रालयले गरेको प्रारम्भिक आँकडाबाट हिउँदे बालीमा ५ प्रतिशतसम्म उत्पादन घट्न सक्ने अनुमान गरेको थियो ।

सातै प्रदेशको उत्पादन तथ्यांक संकलन विश्लेषण गर्दा ३ प्रतिशत कमी आएको उनले जानकारी दिए । वर्षौंदेखि सिँचाइ सुविधा अभाव भएकाले किसान अकासे खेती गर्नुपर्ने बाध्यतामा रहेको उनले बताए । यो वर्ष धेरैजसो पहाडी र तराईका केही जिल्लामा सुक्खा बढी देखिएको रेग्मीको भनाइ छ । मुलुकमा कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुगेको क्षेत्रफल धेरै छैन ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तथ्यांकअनुसार नेपालमा कृषियोग्य जमिनको क्षेत्रफल ३५ लाख ५७ हजार ७ सय हेक्टर छ । यसमध्ये सिँचाइयोग्य क्षेत्रफल २५ लाख ३६ हजार हेक्टर मात्रै छ । तर, सरकारले १५ लाख ६९ हजार ३२ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ पुर्‍याएको छ । चालू आर्थिक वर्षको सात महिनामा २८ करोड ७१ लाख मूल्य बराबरको गहुँ र जौ ५ सय ९५३ टन आयात भएको छ । यस्तै, ५ अर्ब ४९ करोड मूल्य बराबरको २ लाख १७ हजार ६१९ टन आलु आयात भएको छ ।

कृषि मन्त्रालयका अनुसार सबैभन्दा धेरै गहुँ उत्पादन मधेस प्रदेशमा ६ लाख ३१ हजार ६० टन भएको छ । यस्तै, लुम्बिनीमा ५ लाख ४६ हजार ७१९ टन गहुँ उत्पादन भएको छ । यसैगरी सुदूरपश्चिम ३ लाख ५१ हजार ६१० टन, बागमतीमा १ लाख ३८ हजार ७४३ टन, गण्डकीमा ७७ हजार ६२१ टन, कोसीमा १ लाख ७३ हजार ८१६ टन र कर्णालीमा १ लाख ५१ हजार ९९० टन गहुँ उत्पादन भएको छ ।

कृषि मन्त्रालयका अनुसार आव २०७९/८० मा ६ लाख ९७ हजार ७६२ हेक्टरमा २० लाख ९८ हजार ४६२ टन गहुँ उत्पादन भएको छ । यसैगरी जौ १७ हजार ५३६ हेक्टर क्षेत्रफलमा २५ हजार ९१२ टन उत्पादन भएको छ । आलु गत वर्ष २० लाख ३ हजार ८१२ हेक्टर क्षेत्रफलमा ३४ लाख ८७ हजार ८१६ टन उत्पादन भएको थियो ।

स्वदेशी मागअनुसार गहुँ उत्पादन नहुँदा गत आर्थिक वर्षमा ६८ करोड मूल्यको १० हजार १ सय १२ टन गहुँजन्य वस्तु आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यो वर्ष पानी नपर्दा उत्पादन घटेर अझै गहुँ आयात बढ्ने देखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब १६ करोड १६ लाख लाख मूल्य बराबरको २४ हजार ७ सय ८५ टन गहुँ आायात भएको थियो ।

मन्त्रालयको तथ्यांकअनुसार नेपालको पश्चिम तराई र पहाडी जिल्लामा गहुँ खेती धेरै गरिन्छ । आर्थिक वर्ष २०७८/८९ मा ७ लाख १६ हजार हेक्टर क्षेत्रफलमा २१ लाख ४४ हजार टन गहुँ उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांक छ । आव २०७७/७८ मा ७ लाख ११ हजार हेक्टर क्षेत्रफलमा २१ लाख २७ हजार टन गहुँ उत्पादन भएको थियो । यस्तै, आव २०७६/७७ मा ७ लाख ७ हजार हेक्टरमा २१ लाख ८५ हजार टन उत्पादन गहुँ उत्पादन भएको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्