शताब्दीपुरुष जोशीको सालिक अनावरण

ललितपुर- वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको १०६औँ जन्मजयन्तीका अवसरमा उनको सालिक अनावरण गरिएको छ । ललितपुर महानगरपालिका कार्यालय परिसरको अग्रभागमा रहेको झनाख्य मेट्रो पार्कमा निर्मित जोशीको अर्धकदको सालिक महानगरप्रमुख चिरीबाबु महर्जनले मंगलबार अनावरण गरेका हुन् ।
सालिक अनावरणपश्चात् महानगरप्रमुख महर्जनले स्वर्गीय जोशी मुलुककै गहना भएकाले उनको सम्मानमा जीवित छँदै उनको इच्छाअनुसार धेरै कामहरु सम्पन्न गरेको जानकारी दिए । महानगरप्रमुख महर्जनले जोशीको इच्छाअनुरूप उनीद्वारा लिखित ‘वैद्य बा’ चलचित्र मंगलबारदेखि लबिम मलमा प्रदर्शनमा ल्याइएको जानकारी गराए ।
महानगरप्रमुख महर्जनले स्व जोशीको योगदानलाई चिरकालसम्म स्मरणीय बनाउन महानगरले कुनै कमी नगर्ने बताए । विक्रम संवत् १९७७ वैशाख ३० गते जन्मिएका जोशीको २०७९ असोज ३० गतेका दिन १०३ वर्षको उमेरमा निधन भएको थियो ।
ललितपुर महानगरपालिकाको अनुरोधमा जोशीले पुर्याएको योगदानको सम्मानमा जोशी जीवितै छँदै सरकारले उनको तस्बिर अङ्कित नेपाली मुद्रा, हुलाक टिकट प्रकाशित गरेको थियो ।