कोरोनाको संक्रमण फैलन नदिन सांसदको माग «

कोरोनाको संक्रमण फैलन नदिन सांसदको माग

चीनबाट फैलिएको कोरोना भाइरसले नेपालमा पनि संक्रमणको रूप लिन सक्ने भएकाले सम्पूर्ण तयारी गरी सचेत हुन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समय लिएर सांसद दिलेन्द्रप्रसाद बडूले चीनबाट फैलिएको कोरोना भाइरसको उपचारमा के तयारी छ, चीनमा कति विद्यार्थी छन्, उपचारको के व्यवस्था छ भनी जवाफ माग गरे ।
सांसद दिव्यमणि राजभण्डारीले कोरोना भाइरस फैलिएको चीनबाट नेपाल आउने यात्रुको क्वारेन्टाइन गर्ने व्यवस्था गरिएको छ वा छैन भनी त्यसको व्यवस्था गर्न माग गरे । सांसद प्रकाश स्नेही रसाइलीले कोरोना भाइरसका कारण चीनसँगको हवाईलगायत आवागमन बन्द गर्नुपर्नेमा जोड दिए । सांसद देवेन्द्रराज कँडेलले नेपाल भ्रमण वर्षको उद्घाटन भव्यरूपमा गरिए पनि चीनबाट फैलिएको कोरोना भाइरसले प्रभाव पर्ने देखिएकाले बेलैमा सचेत हुन ध्यानाकर्षण गराए ।
सांसद प्रदीप यादवले चीनमा रहेका नेपाली विद्यार्थीलाई कहिले फिर्ता गराउने, ल्याइएको विद्यार्थी राख्ने ठाउँ कहाँ छ भन्ने जिज्ञासा राख्दै संसद् भवन नै खाली गरिदिई पालमा संसद् चलाउने कि ? भनी प्रश्न गरे ।
सांसद बालकृष्ण खाँणले चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसले भायनक रूप लिएकाले नेपालमा संक्रमण नफैलियोस् भनी सरकारले ध्यान दिनुपर्ने माग गरे ।
सांसद डिला संग्रौलाले मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गराउन पहल भयो कि भएन भन्ने जिज्ञासा राख्दै चिकित्सा आयोगको उपाध्यक्षका विषयमा उठेका प्रश्न के हुन् स्पष्ट पार्न सरकारसँग माग गरिन् । सांसद दलबहादुर रानाले आर्थिक वर्षको छ महिना बितिसक्दा पनि विकास निर्माणका आयोजनाका काम शुरु हुन नसकी प्रक्रियामै अल्झिएकाले अर्थ मन्त्रालयलगायत सरोकार भएका निकायको ध्यान जानुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्