Logo

पहिलो पटक विदेश जाने महिलाको संख्या २० प्रतिशतले घट्यो

काठमाडौं– गत आर्थिक वर्षको चैतका तुलनामा यो वर्ष रोजगारीको अवसर खोज्दै पहिलो पटक विदेश जाने महिलाको संख्या झण्डै २० प्रतिशतले घटेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार गत वर्षको चैतसम्म वैदेशिक रोजगारीमा जान नयाँ श्रमस्वीकृति लिने महिलाको संख्या ५७ हजार ७२१ थियो । चालु आवको सोही अवधिमा यो संख्या ४६ हजार ७१४ जनामा झरेको छ । यो गत आवको तुलनामा १९.०६ प्रतिशत कम हो । तर, पुनः श्रमस्वीकृति लिएर विदेश जाने महिलाको संख्यामा भने गत वर्षभन्दा धेरै कमी आएको छैन । गत आवको चैतसम्म नयाँ र पुनः श्रमस्वीकृति लिएर विदेश जाने महिलाको संख्या ६१ हजार ५२७ जना थियो । चालु आवको चैतसम्ममा नयाँ र पुनः श्रमस्वीकृति गरेर ६० हजार ८३० जना महिला विदेश गएका छन् । यो गत वर्षभन्दा ६ सय ९७ जना अर्थात् १.१३ प्रतिशतमात्र कम हो ।

२०७४ सालमा संसद्को परराष्ट्र तथा श्रम सम्बन्ध समितिको एक अध्ययनले घरेलु श्रमिकका रुपमा जाने महिला असुरक्षित रहेको देखाए पछि सरकारले महिलालाई विदेश जान रोकेको थियो । वैदेशिक रोजगारीमा घरेलु श्रमिकका रुपमा जाने महिलाको श्रमस्वीकृति रोक्का गरे पनि आव २०७८–७९ मा सबैभन्दा बढी महिलाले विदेश जान श्रमस्वीकृति लिएका थिए ।

अहिले पुनः श्रमस्वीकृति लिएर जाने प्रवृत्ति देखिएपछि नयाँ जानेको संख्या घटेको व्यवसायीको भनाइ छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङका अनुसार यूएई, कतार, कुबेत, साइप्रस, मलेसिया जस्ता श्रम गन्तव्यमा नेपाली महिला श्रमिक रोजगारका लागि बढी जाने गरेका छन् ।

वैदेशिक रोजगारीका लागि ११० वटा देश खुला गरिएको भए पनि नेपाली महिलाका लागि यी देश नै रोजगारीका मुख्य गन्तव्य रहेको देखिन्छ । त्यसमा पनि यूएई र कतारले मात्रै ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको पाइन्छ । तर, संस्थागत (मेनपावर) बाट वैदेशिक रोजगारीमा जानेमध्ये महिलाको अनुपात ३ प्रतिशतभन्दा कम छ ।

वैदेशिक रोजगारीमा जाने कुल संख्या हेर्दा अधिकांश तराईका जिल्लाहरू र त्यसमा पनि मधेश प्रदेशको बाहुल्य भए पनि महिला श्रम आप्रवासनको प्रकृति भने फरक रहेको छ । वैदेशिक रोजगारीमा जाने महिलाहरूको कुल संख्याको विश्लेषण गर्दा केही पहाडबाट बसाइँ सरेर मिश्रित समुदायको बसाइ भएका तराईका जिल्लाबाहेक बागमती प्रदेशका पहाडी जिल्लाहरूको बाहुल्य छ । यसले मिश्रित समाज वा जनजाति बाहुल्य क्षेत्रका महिलाहरू नै वैदेशिक रोजगारीमा गएको अवस्था देखिन्छ । जिल्लागत हिसाबले सबैभन्दा बढी वैदेशिक रोजगारीमा झापा, सिन्धुपाल्चोक, मोरङ र काठमाडांैका महिला गएका छन् ।

सीप र दक्षताको तुलना गर्दा वैदेशिक रोजगारीमा जाने पुरुषको तुलनामा उच्च दक्ष र पेशाकर्मी महिलाको प्रतिशत भने राम्रो देखिएको छ । वैदेशिक रोजगारीमा उच्च दक्ष र पेशाकर्मी पुरुष क्रमशः ०.०५ र ०.११ प्रतिशत रहेकोमा महिलाको हिस्सा भने ०.०६ प्रतिशत र ०.३० प्रतिशत रहेको छ । अर्धदक्ष, दक्ष र अदक्षमा भने पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको छ । अन्य क्षेत्रको तुलनामा घरेलु काममा गएका महिलाहरुले अत्यधिक कार्य चाप, मानसिक पीडा, शारीरिक हिंसा, कुटपिट, अमर्यादित काम र व्यवहार, तलब नपाउने तथा यौनजन्य दुव्र्यवहार जस्ता समस्या भोगिरहेका छन् ।

नेपाल श्रम आप्रवासन प्रतिवेदनमा महिला श्रमिकमध्ये संयुक्त अरब इमिरेट्स सबैभन्दा बढी छनौटको गन्तव्य मुलुक रहेको जनाइएको छ । कुल महिला श्रमिकको ५० प्रतिशतभन्दा बढी पुनः श्रमस्वीकृति संयुक्त अरब इमिरेट्सको लागि गरिएको छ । महिला श्रमिकहरु विशेषगरी सरसफाइ, आतिथ्य सत्कार र हेरचाह तथा स्याहारसुसार क्षेत्रहरूमा केन्द्रित भएको पाइएको छ ।

सरकारले घरेलु श्रमिकका रुपमा जाने महिलालाई खाडीका केही देशमा प्रतिबन्ध लगाएपछि अवैध बाटो गरेर विदेश जाने र असुरक्षित हुनेको संख्या बढ्दो छ । अधिकांश महिला आप्रवासी कामदारहरू केयरटेकर, नर्स र घरेलु कामदारका रुपमा यूएई, कतार, साउदी अरेबिया, कुवेत, साइप्रस, इजरायल र जोर्डन जस्ता गन्तव्य मुलुकमा जाने गरेका छन् ।

घरेलु कामदारको रुपमा काम गरेका महिला आप्रवासी कामदारहरू न्यूनतम कानुनी संरक्षणबाट बञ्चित हुनका साथै महिला कामदारहरूप्रतिको नकारात्मक समाजिक दृष्टिकोण पनि मुख्य समस्याको रुपमा रहेको छ । महिलालाई वैदेशिक रोजगारीमा घरेलु कामदारको रुपमा पठाउनेबारे फरक–फरक मत रहेको छ । वैदेशिक रोजगारीमा जाने महिलाको स्वतन्त्रता र सुरक्षालाई लिएर प्रतिबन्ध लगाउने र खुला गर्ने भन्ने अहिले बहसको विषय बनिरहेको छ । महिला कामदारहरूको सुरक्षित र मर्यादित फिर्ती तथा पुनः एकीकरण ठूलो चुनौतीको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्