जलस्रोत बहुउपयोगको आवश्यकता

विकास एक निरन्तर प्रक्रिया हो । यसको विद्युत्सँग गहिरो सम्बन्ध हुन्छ । जुन देशमा बिजुलीको बढी खपत हुन्छ, त्यहाँ बढी आर्थिक विकास हुन्छ । तर, जुन देशमा बिजुलीको खपत कम हुन्छ, त्यहाँ पछौटेपन बढी हुन्छ । नेपाल जलस्रोतका लागि धनी मानिन्छ । यो विश्वको एक विपुल जलभण्डार हो । जसको सही परिचालनबाट जलविद्युत् मात्र नभई बढ्दो सिँचाइ एवं खानेपानीको समस्या समाधान गर्न सकिन्छ ।
नेपालमा झन्डै ६ हजार नदीनाला छन् । जसको संरक्षण एवं सदुपयोग गर्न सके यहाँको सम्पूर्ण खेतीयोग्य जग्गामा सिँचाइ गरी कृषि उत्पादन बढाउन सकिन्छ । परन्तु, हालसम्म पनि यहाँको अधिकांश खेतीयोग्य जग्गामा सिँचाइ सुविधा पुर्याउन नसकिएकाले प्रत्येक वर्ष आकाशे पानीमा भर पर्नुपर्ने बाध्यता छ । फलतः यहाँको कृषि उत्पादन बढाउन नसकी आयातमुखी हुनुपरेको छ ।
नेपालमा कुल ३९ लाख ३१ हजार हेक्टर खेतीयोग्य जमिन छ । यहाँ ७५ देखि ८ हजार ८ सय ४८ मिटर उचाइमा विद्यमान हावापानीमा सबै किसिमका खाद्यान्न, फलफूल र सागपातको खेती गर्न सकिन्छ । तर, राजनीतिक अस्थिरता र सम्बन्धित पक्षको ध्यान आकृष्ट हुन नसक्नाले यहाँ हालसम्म पनि ठोस कृषि विकास हुन सकेको छैन ।
नेपाल एक कृषिप्रधान देश भएकाले कृषि विकासबिना यहाँको सर्वाङ्गीण विकास सम्भव छैन । यसै सन्दर्भमा कृषि विकासका लागि वि.सं. २०५२ मा दीर्घकालीन कृषि नीति निर्माण गरियो । पछिल्लो समय २०७२–९२ अर्थात् २० वर्षे कृषि रणनीति अवलम्बन गरिएको छ । जसको मुख्य उद्देश्य खाद्यान्नमा आत्मनिर्भर हुने, रोजगारी सिर्जना गर्ने र खाद्य तथा पोषण सुरक्षा गर्ने हो । उक्त उद्देश्य परिपूर्तिका लागि ठूला सिँचाइ आयोजनाहरूको आवश्यकता पर्छ । यसै सन्दर्भमा सिक्टा, कुलरिया जमुनिया, बेरी बबई डाइभर्सनजस्ता ठूला सिँचाइ आयोजनाहरू अगाडि सारिएका छन् । तथापि, यिनीहरूको निर्माण कार्य सुरु गरिएको एक शताब्दी बितिसक्दा पनि सम्पन्न गर्न सकिएको छैन ।
वस्तुतः ठूला सिँचाइ आयोजनाहरू सरकारले मात्र निर्माण गर्न सक्ने पुरानो सोच हालसम्म पनि यहाँ विद्यमान छ । परिणामतः उक्त आयोजनाहरू यथोचित समयमा सम्पन्न गर्न सकिएको छैन । भविष्यमा यी आयोजनाहरूमा निजी क्षेत्रको सक्रियता बढाउने हो भने चाँडै नै सम्पन्न गर्न सकिने सम्भावना देखिन्छ ।
हाल सिँचाइ सुविधा पुर्याउन नसकिएका नेपालका खेतीयोग्य जमिनमा लघु सिँचाइ, स्यालो ट्युबवेल, लिफ्ट सिँचाइ र थोपा सिँचाइ व्यापक बनाउन जरुरी छ । यसो गर्न सकेमा स्वदेशी कृषि उत्पादन बढेर आयात घट्नेछ र यहाँको कुल गार्हस्थ्य उत्पादनमा केही योगदान बढ्नेछ ।
आज जनसंख्या वृद्धिको कारण विश्वभर खानेपानीको समस्या दिन–प्रतिदिन तीव्र रूपले बढिरहेको छ । यस सन्दर्भमा नेपाल पनि अछुतो रहन सकेको छैन । उक्त समस्याको न्यूनीकरणका लागि यहाँ विद्यमान जलसम्पदाको अधिकतम परिचालन गर्न आवश्यक छ ।
नेपाल जलसम्पदाका लागि एक सम्पन्न राष्ट्र भए तापनि यहाँका केही राजनीतिक दलका नेताहरूको यथास्थितिवादी सोच र संकीर्ण राष्ट्रवादका कारण उक्त सम्पदाको सोचेअनुरूप सदुपयोग गर्न सकिएको छैन । तसर्थ, यहाँ बेलाबेलामा भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था सिर्जना हुन्छ ।
केही वर्षयता नेपालमा बिजुलीको उत्पादन बढ्नुका साथै खपत पनि दिनहुँ बढिरहेको छ । वास्तवमा विकासका लागि यो शुभसंकेत हो । केही वर्षयता नेपालमा विद्युत् उत्पादन वृद्धि भएको छ । यस सन्दर्भमा नेपाल विद्युत् प्राधिकरणबाट ५ सय ७३.६ मेगावाट र थर्मल प्लान्टबाट ५८ मेगावाटसहित कुल ६ सय ३१ मेगावाट विद्युत् उत्पादन भएको छ । निजी क्षेत्रबाट यहाँ २ हजार ४ सय ३६ मेगावाट विद्युत् उत्पादन गरिएको छ ।
स्वच्छ ऊर्जा उत्पादनका लागि निजी क्षेत्रले निकै लगानी गरेकाले ऊर्जाको विश्व बजारमा नेपालको प्रवेश भएको छ । हाल, यो विद्युत् खपत गर्ने देशहरूमध्ये १ सय १५ औँ स्थानमा रहेको छ । सन् २०३५ सम्ममा नेपालमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । उक्त लक्ष्य पूरा गर्न सकिएमा भविष्यमा यहाँको सर्वाङ्गीण विकासमा धेरै योगदान पुग्नेछ ।
नेपाल सरकारले आगामी १२ वर्षमा कुल २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीति बनाएको छ । यसलाई व्यवहारमा उतार्न सकेमा भविष्यमा यहाँको विद्युत् व्यापार अभिवृद्धि भई अर्थतन्त्रमा समेत केही योगदान पुग्नेछ ।
बढ्दो वायु प्रदूषणको दुष्प्रभाव न्यूनीकरणका लागि केही वर्षयता विद्युतीय सवारी साधनहरूको प्रयोगमा ध्यानाकृष्ट भएको छ । यद्यपि, हाल यहाँको बढ्दो तापक्रम घटाउन खनिज ऊर्जाको विकल्पमा हरित ऊर्जाको खोजी भइरहेको छ । वास्तवमा जलविद्युत् पनि हरित ऊर्जा हो । जसको प्रयोग गरेर हाइड्रोजन ऊर्जा आवश्यकतानुसार उत्पादन गर्न सकिन्छ । स्वच्छ पानीको उपलब्धता एवं धेरै जलविद्युत् उत्पादनको सम्भावनाका कारण हाइड्रोजन ऊर्जा उत्पादन नेपालका लागि उपयुक्त मानिन्छ ।
यथार्थतः इलेक्ट्रोलाइसिस प्रविधि प्रयोग गरी पानीबाट हाइड्रोजन ऊर्जा उत्पादन गरिन्छ । यसका लागि धेरै ऊर्जा आवश्यक पर्छ, जुन नेपालमा उपलब्ध छ । नेपाल आयल निगमको आर्थिक सहयोगमा काठमाडौं विश्वविद्यालयले परीक्षणका रूपमा हाइड्रोजन ऊर्जा उत्पादन गरेपछि नेपालमा हाइड्रोजन ऊर्जा उत्पादनको नयाँ सम्भावना देखिएको हो । हाल यहाँको केही जलविद्युत् आयोजनाहरूले वर्षायाममा पानीको सदुपयोग गरी हाइड्रोजन ऊर्जा उत्पादन गर्ने चासो देखाएका छन् । यसरी हाइड्रोजन उत्पादन निरन्तर रूपले बढाउन सकेमा वातावरण प्रदूषण न्यून मात्र नभई आयआर्जन पनि हुनेछ ।
साधारणतया एक केजी हाइड्रोजन ऊर्जा उत्पादन गर्न १० लिटर स्वच्छ पानी र इलेक्ट्रोलाइसिसका लागि ४० देखि ४५ युनिट खपत हुन्छ । यो ऊर्जा भण्डारण एवं सवारी साधनहरूमा रिफिलिङ र ट्यांकरमा ढुवानी गर्न सजिलो भएकाले सबैका लागि उपयोगी हुनेछ ।
आज विश्वमा पेट्रोलियम पदार्थको खपत निरन्तर रूपले बढिरहेको छ । प्रत्येक वर्ष यसको मूल्यको उतारचढावले विश्व अर्थतन्त्र नै प्रभावित भएको छ । प्रत्येक वर्ष नेपालले सञ्चित गरेको विदेशी मुद्राको ठूलो अंश पेट्रोलियम पदार्थको खरिदमा बाहिरिन्छ । यहाँ आयात गरिने वस्तुहरूमा उक्त पदार्थ सबैभन्दा बढी भएकाले यसको आयातलाई विस्थापन गर्न हाइड्रोजन ऊर्जाको उत्पादनले ठूलो सघाउ पुर्याउँछ ।
वस्तुतः पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा निर्भर रहन्छ । प्रत्येक वर्ष त्यसको मूल्य चुकाउन नेपाललाई हम्मेहम्मे पर्छ । यदि भविष्यमा यहाँ पर्याप्त मात्रामा हाइड्रोजन ऊर्जा उत्पादन गर्न सकेमा उक्त पदार्थको मूल्यका उतारचढावले खासै फरक पर्दैन ।
स्वच्छ पानीको पर्याप्त उपलब्धता एवं जलविद्युतको धेरै सम्भावना भएको नेपालमा हाइड्रोजन ऊर्जा उत्पादन उपयुक्त मानिन्छ । विद्युत् निर्यात गर्न पहल गर्नुपर्ने यस देशले आफैं बिजुली खपत गरेर आवश्यक हाइड्रोजन ऊर्जा उत्पादन गर्न सक्छ । परन्तु, यसका लागि सम्बन्धित पक्षको ध्यानाकृष्ट हुन आवश्यक छ ।
केही वर्षयता नेपालमा ब्याट्रीबाट चल्ने सवारी साधनहरू धेरै नै प्रचलनमा छन् । यद्यपि, भविष्यमा यी साधनहरूलाई हाइड्रोजन ऊर्जाको माध्यमबाट चलाउन सकेमा देशलाई आर्थिक दृष्टिबाट धेरै नै फाइदा हुनेछ ।
हाइड्रोजन ऊर्जा उत्पादन गर्दा रासायनिक मल पनि उत्पादन गर्न सकिन्छ, जुन नेपालजस्तो कृषिप्रधान देशका लागि नितान्त आवश्यक छ । नेपालमा बर्सेनि झन्डै २१ अर्बबराबरको रासायनिक मल आयात गरिन्छ । यदि भविष्यमा यहाँ हाइड्रोजन ऊर्जा उत्पादन गर्न सके रासायनिक मल पनि उत्पादन गर्न सकिने भएकाले एकातर्फ विदेशी मुद्रा जोगिनेछ भने अर्कातर्फ परनिर्भरता घट्नेछ ।
वस्तुतः पानीलाई बिजुलीद्वारा टुक्रयाएर हाइड्रोजन ग्यास उत्पादन गरिन्छ, जसबाट बिजुली उत्पादन गर्नाले सामान्य बिजुलीभन्दा सस्तो एवं भरपर्दो हुन्छ । विगतमा गरिएको एक अध्ययनअनुसार विश्वमा खपत गरिने ऊर्जामध्ये झन्डै २५ प्रतिशत हाइड्रोजन ग्यासले ओगट्न सक्छ । यसको प्रयोगबाट हवाईजहाज, पानीजहाज, ट्रक, बसलगायत विभिन्न यातायातका साधनहरू सञ्चालन गर्न सकिन्छ, जसबाट आर्थिक तथा वातावरणीय लाभ लिन सकिन्छ । यसै सन्दर्भमा विश्वप्रसिद्ध हवाईजहाज निर्माता कम्पनी एयरबसले हाइड्रोजन ग्याँसबाट चल्ने हवाईजहाज निर्माण गरेको छ, जसको प्रयोगबाट वातावरण प्रदूषण न्यूनीकरणमा केही योगदान प्राप्त भएको छ ।
आज विश्वमा जलवायु परिवर्तनका कारण हाइड्रोजन ऊर्जाको महत्व दिनदिनै बढिरहेको छ । नेपालमा अवस्थित काठमाडौं विश्वविद्यालयमा नेपाल आयल निगमको आर्थिक सहयोगमा सम्पन्न हाइड्रोजन ग्याँस उत्पादनले ऊर्जाको क्षेत्रमा यहाँ नयाँ उत्साह एवं चासो जागृत गरेको छ ।
हाल नेपाल सरकारले पनि भविष्यमा हाइड्रोजन उत्पादन तथा सहउत्पादन गर्ने उद्योगहरूलाई केही सुविधा प्रदान गर्ने निर्णय गरी प्रोत्साहित गरेको छ । यसलाई व्यवहारमा उतार्न एकातर्फ हाइड्रोजन उत्पादन नीतिलाई कार्यान्वयन गर्ने विद्युत् विधेयकलाई संशोधन गर्न सकिन्छ भने अर्कातर्फ छुट्टै हाइड्रोजन ग्याँससम्बन्धी विधेयकको व्यवस्था गर्न सकिन्छ ।
केही वर्षयता नेपालमा विद्युत् उत्पादनको काममा निकै नै वृद्धि भएको छ । यस सन्दर्भमा नेपाल विद्युत् प्राधिकरणबाट ५ सय ७३.६ मेगावाट र थर्मल प्लान्टबाट ५८ मेगावाटसहित कुल ६ सय ३१ मेगावाट विद्युत् उत्पादन गरिएको छ । निजी क्षेत्रबाट यहाँ २ हजार ४ सय ३६ मेगावाट विद्युत् उत्पादन गरिएको छ । जुन प्रशंसनीय छ ।
विगतमा स्वच्छ ऊर्जा उत्पादनका लागि यहाँ धेरै लगानी गरिएकाले ऊर्जाको विश्व बजारमा नेपालले प्रवेश पाएको छ । हाल यो देश विद्युत् खपत गर्ने देशहरूमध्ये १ सय १५ औं स्थानमा रहेको छ ।
एक अध्ययनका अनुसार अन्दाजी ५ हजार मेगावाट क्षमताको विद्युत् देशभित्र खपत हुने अवस्था सिर्जना भएपछि मात्र हामी औद्योगीकरणको पथमा अग्रसर हुनेछौँ । तर, नेपालमा अन्य देशहरूको तुलनामा विद्युत् खपत न्यून भएकाले यहाँ अपेक्षाअनुरूप औद्योगिक विकास हुन सकेको छैन । यहाँ भविष्यमा विद्युत् खपत बढाई औद्योगिक पथमा अग्रसर हुन जलविद्युत् उत्पादनले उल्लेखनीय भूमिका खेल्छ ।
हालसालै सरकारले ऊर्जा विकास मार्गचित्र, २०८१ स्वीकृत गरेको छ । यसले नेपाललाई क्षेत्रीय ऊर्जा केन्द्रका रूपमा रूपान्तरण गर्न, राष्ट्रिय र सीमापार पूर्वाधारलाई सबल बनाई आर्थिक वृद्धि गर्न सघाउ पुग्नेछ । किनभने सो मार्गचित्रको कार्यान्वयनबाट एकातर्फ ऊर्जा उत्पादनसँगै अन्तरदेशीय प्रसारण लाइनको विकासमा टेवा पुग्नेछ भने अर्कातर्फ यहाँको ऊर्जा क्षेत्रमा थप लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ ।
नेपालमा जलविद्युत् उत्पादन, प्रसारण र वितरणका लागि धेरै चुनौतीहरू छन् । यिनीहरूको डटेर सामना गर्न सबै सराकोरवालाहरू एकजुट भई काम गर्न आवश्यक छ ।
यथार्थतः नेपालको जलविद्युत् उत्पादन अभिवृद्धि गर्न उक्त मार्गचित्र एक दस्ताबेजको रूपमा प्रमाणित हुने आशा गरिएको छ । परन्तु, यसका लागि एकातर्फ दातृ राष्ट्र तथा संघसंस्थाहरूको सहयोगको आवश्यकता छ भने अर्कातर्फ निजी क्षेत्रको सहयोगको पनि उत्तिकै जरुरी छ ।
नेपालमा रहेका झन्डै ६ हजार नदीनालामध्ये २ हजारभन्दा बढी उत्तरी हिमश्रृंखला र खोच हुँदै दक्षिणतर्फ बगिरहेका छन् । यी नदीनालाहरूबाट प्रतिवर्ष अन्दाजी १ सय ७० क्युसेक पानी बग्छ । यहाँको कुल अनुमानित जलशक्ति करिब ८३ हजार मेगावाट छ भने यसको झन्डै ५० प्रतिशत आर्थिक रूपले उत्पादनशील मानिन्छ । यसको सदुपयोगका लागि भविष्यमा वैदेशिक सहयोग, सहकारी र निजी क्षेत्रको सक्रिय सहयोगको नितान्त आवश्यकता छ ।
नेपालमा २००७ सालयता जति पटक राजनीतिक परिवर्तन भए तापनि यहाँको अर्थतन्त्र परम्परागत आर्थिक संरचनामा रुमलिरहेको छ । फलतः यहाँ आजसम्म पनि अपेक्षित आर्थिक विकास गर्न सकिएको छैन ।
यथार्थतः यहाँको आर्थिक विकासका लागि प्रशस्त प्राकृतिक सम्पदाहरू छन्, जसमध्ये जलसम्पदा एक हो । भविष्यमा यसको बहुउपयोग गर्न सके यहाँको आर्थिक गति लिने छ । यसका लागि सम्बन्धित पक्षको ध्यानाकृष्ट हुन नितान्त आवश्यक छ ।