अर्थमन्त्री पौडेललाई चेम्बर अफ कमर्सका १०१ सुझाव

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटबारे सरकारलाई एक सय एक बुँदे सुझाव प्रस्तुत गरेको छ । सोमबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष एक सय एक बुँदे सुझाव पेश गरेका हुन् ।
सो अवसरमा अध्यक्ष अग्रवालले कृषि, पर्यटन, ऊर्जा क्षेत्रको विकास, रोजगारी सिर्जना, व्यावसायिक र औद्योगिक लगानीको वातावरण तथा उत्पादन वृद्धिलाई पहिलो प्राथमिकतामा राखेर सरकारले बजेट निर्माण गर्नुपर्ने बताए । उनले यी समृद्धिका महत्त्वपूर्ण आधारहरू रहेको बताउँदै सरकारले प्रमुख प्राथमिकतामा राखेर बजेट निर्माण गर्नुपर्ने नेपाल चेम्बर अफ कमर्सको धारणा रहेको जिकिर गरे ।
उनले समयमै पुँजीगत खर्च गर्न समयवद्ध तालिकासहितको कार्य योजना बनाउनुपर्ने र प्रत्येक त्रैमासमा यसको समीक्षा गर्नुपर्ने आफूहरूको माग रहेको बताए । सरकारले लिएको आर्थिक वर्षको लक्ष्य पूरा गर्न नीतिगत स्थायित्वका साथै वास्तविक कर तथा राजस्वको स्रोत परिचालनबाट एवं प्रतिवद्धता प्राप्त वैदेशिक सहायताको आधारमा यथार्थपरक बजेट ल्याउनुपर्ने चेम्बर अफ कमर्सले माग राखेको छ ।
यस्तै चेम्बर अफ कमर्सले स्थानीय स्रोतमा आधारित खनिज जन्य रत्न पत्थर, कृषि जडीबुटी तथा वनजन्य उद्योगहरूलाई प्रोत्साहित गरी निर्यात प्रबन्ध गरिनुपर्ने, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थ मन्त्रालय अन्तर्गत ल्याइ भन्सार तथा आन्तरिक राजस्व विभागसँग समन्वय गरी गरिनुपर्ने समेत सरकारसँग माग राखेको छ । चेम्बर अफ कमर्सले वैदेशिक रोजगारीबाट फर्कनेहरूको सीप र दक्षताको उपयोगको लागि स्वदेशी लगानी प्रोत्साहित गर्नुपर्ने लगायतका सुझाव सरकारलाई दिएको छ ।