अनुमति नपाउँदा व्यावसायिक प्याराग्लाइडिङ हुन सकेन् «

अनुमति नपाउँदा व्यावसायिक प्याराग्लाइडिङ हुन सकेन्

पर्यटन प्रवद्र्धनमा टंक नेपालीको योग्दान, सरकारबाट बेवास्ता

जुम्ला-तातोपानी गाउँपालिका–५ निवासी युवा टंक नेपालीले गत वर्ष भदौमा प्याराग्लाइडिङको परीक्षण उडान गरे । आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने लक्ष्यका साथ नेपालीले प्याराग्लाइडिङको सफल परीक्षण उडानपछि व्यावसायिक उडान गर्ने योजना थियो । युट्यब हेरेरै प्याराग्लाइडिङ निर्माण गरेका उनले जुम्लामा पर्यटकलाई प्याराग्लाइडिङ गराउने धोको अधुरै रहेको छ ।
कर्णालीमै पहिलो प्याराग्लाइडिङको सफल उडान जुम्लामा भएपछि यहाँका पर्यटन व्यवसायीहरू उत्साहित थिए । युट्युब हेरेर प्यारागलाईड बनााए, परीक्षण उडान पनि सफल गरे, अब अनुमति पाउँला भन्ने र व्यावसायिक उडान गरौंला भन्ने सोचेका टंक नेपाली अहिले निराश छन् ।
परीक्षण उडान गरेको अहिले डेढ वर्ष बित्यो, उनले गत वर्ष भदौमा पत्रकारसँग कुरा गर्दै केही महिनाभित्रमा व्यावसायिक उडान गर्ने योजना सार्वजनिक गरेका थिए । तर, अहिले आएर मुख्य दुईकारणले प्याराग्लाइडिङको व्यावसायिक उडान हुन सकेको छैन । पहिलो स्थानीयतहबाट उडानका लागि अनुमति नपाउनु र दोस्रो आर्थिक अवस्था कमजोर हुनु हो ।
पर्यटनमा टंकको योग्दान
जुम्लाका टंक नेपाली ग्रामीण पर्यटन प्रबद्र्धनका एक हस्ती हुन् । उनले युट्युब हेरेर बनाएको प्याराग्लाइडिङले जुम्लामा आउने पर्यटकलाई सेवा दिने र आर्थिक आम्दानी हुने पक्का थियो ।
पर्यटन प्रबद्र्धन तथा आन्तरिक तथा बाह्य पर्यटक हरूको आकर्षण बढाउन तथा कर्णाली क्षेत्रलाई चिनाउनका लागि व्यावसायिक प्याराग्लाइडिङ उडान गर्ने उनको धोको हो । व्यक्तिगत तवरबाट पनि पर्यटन क्षेत्रलाई योग्दान दिने सोचेका टंकलाई एकपछि अर्को अभाव र अवरोधले अगाडि बढ्न दिएको छैन ।
उनले भने, “पहिला प्याराग्लाइडिङ निर्माण गर्दा ५ लाख खर्च भएको थियो । नागरिक उड्डयन प्राधिकरणमा प्याराग्लाइडिङ उडानका लागि ४ लाख खर्च गरी कम्पन्नी दर्ता गराइयो । तर कर्णालीका स्थानीयतहले भने उडानका लागि अनुमति दिने निश्चित नहुँदा समस्या भएको उल्लेख गरे । गत वर्ष भदौमा परीक्षण उडान गर्दा पाईलट लोकेश शाही, पदमबहादुर शाहीले जुम्लामा प्याराग्लाइडिङ सम्भव रहेको बताएका थिए ।
एकातर्फ पर्यटन प्रबद्र्धन अर्कोतर्फ आम्दानी हुने व्यावसायिक उडानको तयारी गरेको उनले यहाँका स्थानीय तहबाट अनुमति नपाउँदा व्यावसायिक प्याराग्लाइडिङ हुन सकेको छैन । केही समय पहिला डाँफे लेकमा उडान खोज्दा अनुमति नलिएको भन्दै नगरपालिकाले रोक्यो, टंकले भने, सबै कागतजात देखाउँदा पनि नमानेको दुखेसो गरे ।
सरकारसँग गुनासो
यतिबेला नेपालमा भ्रमण वर्ष–२०२० सुरु भएको छ । पर्यटन चहलपहल भइरहेको छ । तर, जुम्लामा सुनसान छ । टंक नेपाली भ्रमण वर्ष सुरु हुने कुराले पहिला निकै खुसी थिए । तर, व्यावसायिक प्याराग्लाइडिङका लागि अनुमति नपाउँदा निकै निरास छन् । सरकारले आफ्नो प्रतिभालाई बेवास्ता गरेको उनको गुनासो छ । सम्मान गर्नु त परै जावस विभिन्न प्रक्रियाका नाममा दुख दिएर गरिखान नदिएको दुखेसो गरे ।
यहाँका स्थानीयतह कोही अनुमति दिन मान्दैनन्, कुनै ठाउँमा हवाई मार्ग अनि आर्थिक अवस्था कमजोर भएपछि निर्माण गरेको प्याराग्लाइडिङ पनि बिग्रिँदै गएको छ । सरकारी तथा गैरसरकारी निकायबाट सहयोग भएको खण्डमा पुनः प्याराग्लाइडिङलाई जीवित बनाउने उनको लक्ष्य छ । सरकारले बेवास्ता गरे पनि हारेको छैन, उनले भने स्थानीय तथा प्रदेश सरकारले आफै बुझेर पर्यटन प्रबद्र्धनका लागि लगानी गर्ने ठाउँमा आफूलाई समेत असहयोग गरेको उल्लखे गरे ।
सुरुमा तातोपानी गाउँपालिकाले ५ लाख सहयोग दिएको थियो । तर, तातोपानी हवाईमार्ग भएपछि उडान सम्भव भएन, अन्य ठाउँमा अनुमती पाउन मुस्किल छ । अनुमतिका लागि पहल भइरहेको छ ।
सहयोग गर्न पर्यटन व्यवसायीको जोड
कर्णालीलाई चिनाउने आधार भनेकै पर्यटन हो । पर्यटन क्षेत्रमा अप्रयापत लगानीकै कारण लक्ष्य अनुसारको उपलब्धी लिन सकिएको छैन् । पर्यटन व्यवसायी नोर्वु लामा भन्छन्, टंक नेपाली जस्ता युवाहरू कमै हुन्छन्, पर्यटन क्षेत्रमा उनको योग्दान प्रसंशा योग्य छ । सरकार संगै नीजि क्षेत्रले उनलाई आबश्यक सहयोग गर्न उनको लामाको सुझाब छ ।
सरकारबाट अनुमति दिन आफ्नै प्रक्रिया होलान, तर पर्यटन प्रबद्र्धनका लागि गर्न खोजेको प्रयासलाई सहयोग गर्नुपर्नेमा जोड दिए । यता अर्का पर्यटन व्यवसायी पदम महतका अनुसार पर्यटन क्षेत्रको विकास बिना समृद्धी सम्भव छैन । तर, स्थानीय तथा प्रदेश सरकार कुरामै सीमित छ । टंक जस्ता सयौ प्रतिभावान युवालाई निजी क्षेत्र तथा सरकारबाट लगानी हुनुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्