Logo

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट

विराटनगर– उद्योगी महेश जाजुको नेतृत्वमा सञ्चालित एसियन थाई फुड्सको दोस्रो युनिट कपिलवस्तुको कपिलवस्तु नगरपालिका–६, गोब्रीमा सञ्चालनमा आएको छ । विराटनगरमा रहेको पहिलो युनिटबाट रमपम, टुपीएम, प्रीतिलगायतका चाउचाउ तथा स्न्याक्स उत्पादन गर्दै आएको कम्पनीले अब पश्चिम नेपालका लागि कपिलवस्तुमा दोस्रो युनिट सञ्चालनमा ल्याएको हो ।

उद्योगका निर्देशक जाजुका अनुसार नयाँ युनिटले प्रारम्भिक चरणमा दैनिक २० टन चाउचाउ उत्पादन सुरु गरेको छ । पहिलो युनिटबाट पश्चिम क्षेत्रसम्म ढुवानी गर्दा समय र लागत दुवै बढी हुने भएकाले तौलिहवा औद्योगिक क्षेत्रमा दोस्रो युनिट स्थापना गरिएको जाजुले बताए । नयाँ युनिटले विशेषगरी भारतको उत्तर प्रदेश र उत्तराखण्डमा व्यापार विस्तारमा सघाउनेछ ।

करिब साढे दुई बिघामा फैलिएको उद्योग दोस्रो युनिट पुराना क्यापिटल फुड्स प्रालिको संरचना लिलामीमार्फत अधिग्रहण गरी सञ्चालनमा ल्याइएको हो । कम्पनीका उत्पादन हाल भारतसहित दुबई, ओमन, कतार, साउदी, मलेसिया, अमेरिका, अस्ट्रेलिया र इटलीसम्म निर्यात भइरहेको जाजुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्