गुठी समितिमा बस्न हानथाप

जुम्ला– कर्णाली प्रसिद्ध चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिमा बस्न स्थानीय अगुवाको हानथाप देखिएको छ । विशुद्ध सेवामूलक तथा धर्म संस्कृतिको संरक्षण गर्ने गुठी समितिमा बस्न नागरिकको अस्वाभाविक मोह देखिएको हो । गुठीका वर्तमान अध्यक्ष अमर थापा नेतृत्वको कार्य समितिको कार्यकाल सकिँदै गर्दा शनिबार नयाँ समिति गठनका लागि जिल्लाव्यापी बृहत् भेला गरिएको थियो । आकांक्षीहरूको लहर लागेको र आपसी सहमति जुट्न नसकेपछि नयाँ समिति गठन नै हुन सकेन ।
प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको संरक्षण, धार्मिक पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक संरक्षणको पवित्र उद्देश्य रहेको गुठी समितिको अध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यमा बस्नका लागि देखिएको हानथापले शंका पैदा गरेको छ । सेवामूलक गुठी समितिमा बस्नका लागि देखिएको आकर्षणले गुठीभित्र आर्थिक गतिविधि धेरै हुने र केही स्वार्थ पूरा गर्न सकिने मोहसमेत देखिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले उल्लेख गरे ।
उनका अनुसार स्वच्छ पारदर्शी रूपमा नयाँ समिति छनोट गरिने छ । समितिका वर्तमान कोषाध्यक्ष नवराज श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनअनुसार ९३ लाख आम्दानी भएको र ९१ लाख खर्च भई दुई लाख बढी मौज्दात रहेको छ । मन्दिर संरक्षण, संस्कृतिको प्रवर्द्धन भन्दा पनि करोड भन्दा बढी बजेट चलाउन पाइने मोहले आकांक्षी बढेको स्थानीयको आरोप छ ।
रोकिएन जग्गा अतिक्रमण
चन्दननाथ भैरवनाथ गुठीको नाममा जुम्ला, कालिकोट, मुगु, बाजुरा, हुम्लालगायत कर्णाली प्रदेशभर ७४ हजार २९४ वर्गमिटर जग्गा रहेको थियो । वर्षेनी बढ्दै गएको अतिक्रमणले अहिले कति छ भन्ने एकिन तथ्यांक छैन । गुठीको जग्गा सेराज्यूलोमा स्याउ खेती भइरहेको छ । विभिन्न स्थानमा व्यक्तिगत घर टहरा, शौचालय, पार्क निर्माण भएका छन् । जग्गा अतिक्रमण गर्ने सर्वसाधारण मात्र नभइ नेतादेखि सरकारी निकायसमेत छन् ।
अहिलेसम्म बनेका गुठी व्यवस्थापन समितिका पदाधिकारी अतिक्रमण भएको जग्गा फिर्ता ल्याउनेबारे कुनै कदम चालेका छैननन् । चन्दननाथ राजगुठीको एक लाख ४ हजार वर्गमिटर (करिब २०५ रोपनी) जग्गामध्ये हाल मन्दिर रहेको क्षेत्रमा १४ सय ७९ वर्गमिटर र मन्दिर नजिक सेराखेत ४८ हजार ३ सय वर्गमिटर मात्र रहेको प्रमाण छ । बाँकी करिब १ सय ८ रोपनी व्यक्तिका नाममा पुगेको पाइन्छ । चन्दननाथ गुठीको रैकर जग्गा पनि बेहिसाब छ ।
तत्कालीन कुडारी गाविसमा १ लाख १९ हजार ४५२ वर्गमिटर, कनकासुन्दरीमा २६ हजार २३५ वर्गमिटर, तलिहुममा २ लाख ३१ हजार ३३१ वर्गमिटर, कार्तिकस्वामिमा ४० हजार २२४ वर्गमिटर, चन्दननाथमा ७० हजार ६६८ वर्गमिटर, पटमारामा ९० लाख ४ हजार ७८८ वर्गमिटर जग्गा छ । देपालगाँउमा ४८ हजार ५८ सय ६९ वर्गमिटर, गज्यङकोटमा ८६ हजार ७४ वर्गमिटर, महतगाँउमा ८९ हजार ४७६ मिटर, बड्कीमा ११ लाख ५६ हजार १८८ वर्गकिलोमिटर त्यस्तो जग्गा छ । त्यसको कुत (कर) भने मन्दिरले अति कम मात्रामा पाउने गरेको छ । धेरैले तिर्ने गरेका छैनन् ।