Logo

सरकारी लक्ष्य र पर्यटक संख्या

कोभिड महामारीबाट संसार बाहिर निस्के पनि पर्यटक आगमनका हिसाबले हामी अझै समस्यामै छौँ । कोभिडकालमा खोसिएको पर्यटक आगमनमा अझै राम्रो सुधार आउन सकेको छैन । यो वर्ष सरकारले १६ लाख पर्यटक ल्याउने घोषणा गरेको थियो । यो चैत मसान्तसम्म ७ लाख ९८ हजार ८ सय २० मात्र पर्यटक आवागमन भएको छ । यो प्रतिमहिना औसतमा ८८ हजार ७ सय ५७ जना हो ।

आगामी तीन महिना (वैशाख, जेठ, असार) मा अधिकमा मासिक १ लाखका दरले पर्यटक आए पनि ११ लाखभन्दा धेरै हुने देखिँदैन । यो सरकारको लक्ष्यको ६९ प्रतिशत मात्र हो । मुख्यगरी दुई छिमेकी मुलुक चीन र भारतबाट नेपालमा धेरै पर्यटक आउने गरेका छन् । सरकारले पर्यटक बढी ल्याउने घोषणा गर्ने र पर्यटन बोर्डले प्रचार–प्रसार गर्ने जस्ता गतिविधिले निजी क्षेत्रलाई पर्यटनमा लगानी गर्न हौसाएको छ । कोभिडपछि अन्य धेरै क्षेत्रमा लगानी घटिरहेका बेला पर्यटन क्षेत्रको लगानी भने नराम्रो छैन ।

पछिल्ला वर्षहरूमा पर्यटनका पूर्वाधार निर्माणमा निजी क्षेत्रले ठूलो लगानी गरिरहेको छ । त्यही कारण साना–ठूला होटल र रिसोर्ट खुल्ने क्रम बढेको छ । अहिले अर्बौं रुपैयाँदेखि केही करोड लगानी गरेर होटल बनाउने निजी क्षेत्रमा होडबाजीजस्तै चलेको छ । त्यही कारण मुलुकभर सञ्चालनमा रहेका पाँचतारे होटलको संख्या नै दुई दर्जनभन्दा धेरै पुगिसकेको छ । पाँचतारेमध्ये तीन पाँचतारे डिलक्स र अर्का तीन पाँचतारे बुटिक होटल सञ्चालनमा छन् भने करिब २० वटा पाँचतारे होटल छन् ।

केही होटल निर्माणाधीन अवस्थामा छन् । यो क्षेत्रमा विदेशी लगानी पनि आएको छ । पछिल्ला केही वर्षदेखि एनआरएनहरूले ठूला लगानीमा होटल बनाइरहेका छन् । पाँचतारेबाहेक चारतारे स्तरका होटलको संख्या पनि करिब चार दर्जन पुगेको छ । केही समयअघि राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण, २०८० अनुसार देशभर १ लाख ४२ हजार २ सय २३ होटल, रिसोर्ट तथा रेस्टुरेन्ट सञ्चालनमा छन् ।

यो संख्यामध्ये तीनतारे ३७, दुईतारे ४९ र एकतारे ४५ होटल छन् भने अन्य स्टारविहीनका रूपमा चलेका छन् । यी होटल तथा रिसोर्टमा दैनिक २२ लाख ३४ हजार ८ सय ५२ जनालाई (एक बसाइमा) भोजन सेवा दिने क्षमता छ । आवास तथा भोजन सेवा प्रदान गर्ने यस्ता प्रतिष्ठानमा ५ खर्ब ४३ अर्ब रुपैयाँ मूल्यबराबरको स्थायी सम्पत्ति छ । करिब ३ करोड जनसंख्या र क्षेत्रफल सानो भए पनि मुलुकभित्र होटल क्षेत्रमा यति धरै लगानी र पूर्वाधार विस्तार हुनु भए राम्रो पक्ष हो ।

पर्यटन व्यवसायीका अनुसार वार्षिक ३५ देखि ४० लाखसम्म पर्यटकलाई सेवा दिने पूर्वाधार तयार भएको छ । पूर्वाधारसँगै जनशक्ति पनि तयार छ । तर लगानी, पूर्वाधार निर्माण र सेवा गर्ने क्षमताअनुसार नेपालमा पर्यटक आउने गरेका छैनन् । यो विडम्बना हो । सरकारले अहिलेसम्म स्थलमार्ग हुँदै आउने भारतीय पर्यटकको तथ्यांक राख्ने गरेको छैन । हवाई मार्गबाट वार्षिक १२ लाख पर्यटक आएको तथ्यांक सरकारसँग छैन । सरकारले लक्ष्य भने १० देखि १६ हुँदै २० लाखसम्म राख्ने गरेको छ ।

सरकारले राखेको लक्ष्यअनुसार पर्यटक आगमन एकतिहाइ पनि पुगेको देखिँदैन । स्थलमार्ग हुँदै आउने भारतीय पाहुना र आन्तरिक पर्यटकको चहलपहलले यो क्षेत्र धानिरहेको छ । विदेशी पर्यटक नबढेसम्म लगानीअनुसार जोखिम कायमै छ । नेपाल पर्यटकका लागि सम्भावनायुक्त मुलुक भएर पनि पर्यटक आगमन निकै न्यून छ । पर्यटक बढाउन सरकार र निजी क्षेत्रले प्रयास नगरेका पनि होइनन् । सरकारले पनि पूर्वाधार निर्माण गरिरहेको छ ।

पर्यटकलाई लक्ष्य गरेर नै भैरहवा र पोखरामा थप दुई विमानस्थल बनाइएका छन् । प्रचारप्रसार पनि गरेकै देखिन्छ । निजी क्षेत्रले प्रचारप्रसारमा जोड दिएकै छ । तर पनि आउनुपर्ने संख्यामा पर्यटक आएका छैनन् । वार्षिक १ करोड पर्यटक त सगरमाथा, हिमाल र लुम्बिनीलाई मात्र हेरेर पनि आउनुपर्ने हो । यो क्षेत्रमा ठूलो लगानी भएको र धेरै संख्यामा निजी क्षेत्र संलग्न भएको अवस्थामा पर्यटक बढाउनुको विकल्प देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्