स्वयम्भूनाथ क्षेत्रमा बौद्धमार्गीको घुइँचो, बुद्धको अस्तुधातु दर्शनका लागि राखियो
आज वैशाख शुक्ल पूर्णिमा: बुद्धजयन्ती मनाइँदै

काठमाडौं- शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९ औँ जयन्ती साेमबार बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६९ औँ जयन्ती शान्तिको कामना गर्दै देशभर मनाउन लागिएको हो ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेरबुद्धजयन्ती मनाउन सरकारले आह्वान गरेको छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउने परम्परा छ ।
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६९ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दु:ख देखेर चिन्तित बने । उनान्तीस वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए ।
साथै, स्वयम्भू क्षेत्रमा सोमबार नेपाल सरकारका उच्च ओहोदाका विशिष्ट व्यक्ति, बौर्ध धर्मगुरु, भीक्षु, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न देशबाट आएका विशिष्ट पाहुनालगायतले पूजाअर्चना गर्ने कार्यक्रम छ । स्वयम्भूनाथ परिसरभित्रै रहेको आनन्दकुटी विहारमा बुद्धको अस्तुधातु पूजाआजा र दर्शनका लागि राखिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भीक्षु धर्ममूर्तिले जानकारी दिए ।
बुद्धको अस्तुधातु बुद्धजयन्तीका दिन मात्रै सर्वसाधारणको दर्शनका लागि राखिँदै आइएको छ । दिउँसो सार्वजनिक बौद्धसभा आयोजना गरिएको छ । स्वयम्भूनाथ क्षेत्रमा विभिन्न पूजाआजा, रक्तदान तथा प्रसाद वितरणका कार्यक्रम हुने जनाइएको छ ।
यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलसँगै प्रथम महिला सबिता पौडेलले पच्चीस सय ६९औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको पूजा, आराधना गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले बौद्ध महाचैत्यको परिक्रमा गर्नुका साथै अमूल्य अस्तुधातु दर्शन गरेका थिए । बुद्धजयन्तीका अवसरमा पूजा आराधनासहित अस्तुधातु दर्शनका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित बौद्ध पुगेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेका छन् । पच्चीस सय ६९औँ बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् ।