Logo

कर्जा प्रवाहको गति बढाउन घट्दो ब्याजदरले पनि सघाएन

चालु आवको नौ महिनामा ब्याजदर र कर्जा प्रवाह

काठमाडौं– पछिल्लो समय ब्याजदर घट्दै जाँदा कर्जा प्रवाहको गति सुस्त रुपमा मात्र बढेको देखिएको छ । ब्याजदरमा आएको निरन्तर गिरावटले कर्जा विस्तारलाई सहज बनाउनुपर्नेमा त्यस्तो नभएको तथ्यांकले देखाएको हो ।

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनअनुसार यो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ६१ अर्ब ३ करोड रुपैयाँले बढेको छ । कर्जा विस्तार गत असारको तुलनामा ७.१ प्रतिशतले मात्र बढेको हो । गत असारसम्ममा ५१ खर्ब ६७ अर्ब १७ करोड रुपैयाँ कर्जा विस्तार भएकोमा चैतसम्ममा ७.१ प्रतिशतले बढेर ५५ खर्ब ३४ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो । गत आवको नौ महिनामा निजी क्षेत्रमा जाने कर्जा २ खर्ब २२ अर्ब २१ करोड रुपैयाँले बढेको थियो ।

ब्याजदर घट्दै जाँदा यसले कर्जा बढाउन सहयोग पुर्‍याउनु पर्नेमा त्यस्तो वृद्धि नदेखिएको बैंकरहरूले बताएका छन् । नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले ब्याजदर घटेको अवस्थामा कर्जा जति बढ्नुपर्ने हो, त्यस्तो वृद्धि नभएको बताए । यो चैतमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.२२ प्रतिशत रहेको छ । जबकी गत वर्ष चैतमा यस्तो ब्याजदर १०.५५ प्रतिशत थियो ।

चालु आवको साउनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.६८ प्रतिशत थियो । यसैगरी निजी क्षेत्रमा प्रवाहित कर्जा ०.३ प्रतिशतले बढेको थियो । यस्तै, भदौमा यस्तो ब्याजदर ८.०६ प्रतिशत हुँदा कर्जा प्रवाह १.४ प्रतिशतले बढेको थियो । असोजमा वाणिज्य बैंकको कर्जाको भारित औसत ब्याजदर ९.३३ प्रतिशत हुँदा कर्जा वृद्धि २.५ प्रतिशत थियो । कात्तिकमा यस्तो ब्याजदर ९.०७ प्रतिशत हुँदा कर्जाको वृद्धिदर २.५ प्रतिशत नै थियो ।

यस्तै, मंसिरमा कर्जाको औसत ब्याजदर ८.९ प्रतिशत हुँदा ३.५ प्रतिशतले कर्जा विस्तार वृद्धि भएको थियो । पुसमा कर्जाको ब्याजदर ८.६९ प्रतिशत हुँदा कर्जाको वृद्धि ५.२ प्रतिशत, माघमा ब्याजदर ८.५५ प्रतिशत हुँदा कर्जा वृद्धि ५.६ प्रतिशत र फागुनमा कर्जाको ब्याजदर ८.४ प्रतिशत हुँदा कर्जा वृद्धि ६ प्रतिशत भएको थियो ।

चालु आवमा बैंक तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा १२.५ प्रतिशत कर्जा प्रवाह बढ्ने अनुमान राष्ट्र बैंकको छ । जसअनुसार ९ महिनामा कर्जा ७.१ प्रतिशतले बढेको हो । ब्याजदरमा आएको गिरावटको तुलनामा कर्जामा भएको यो वृद्धि सन्तोषजनक नभएको रेग्मी बताउँछन् । पछिल्ला केही महिनाहरूमा कर्जा विस्तारै बढ्दै गएको छ । विशेषगरी आयात, निर्माण तथा सेयर कर्जा बढ्दा त्यसले समग्र कर्जा प्रवाह बढाउन सहयोग गरेको हो ।

केन्द्रीय बैंकका अनुसार चालु आवको चैतसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.६ प्रतिशतले बढेको छ । २०८१ असारमा ८ खर्ब १९ अर्ब १ करोड रुपैयाँ रहेको औद्योगिक उत्पादन क्षेत्रको कर्जा २०८१ चैतमा ९.६ प्रतिशतले बढेर ८ खर्ब ९८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । २०८० चैतमा भने उत्पादन क्षेत्रतर्फको कर्जा ८ खर्ब १९ अर्ब १ करोड रुपैयाँ थियो । २०८१ असारको तुलनामा चैतसम्ममा निर्माण क्षेत्रमा प्रवाहित कर्जा ११.४ प्रतिशतले बढेको छ । गत असारमा यस्तो कर्जा प्रवाह २ खर्ब ७ अर्ब ९९ करोड रुपैयाँ रहकोमा २०८१ चैतमा बढेर २ खर्ब ३१ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.२ प्रतिशतले बढेको छ । यस्तै, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.६ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.४ प्रतिशत, विकास बैंकहरुको ४.६ प्रतिशत र वित्त कम्पनीहरुको ६.४ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको ९ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३ खर्ब ६८ अर्ब ४७ करोड रुपैयाँ (५.७ प्रतिशत) ले बढेको छ । गत असारमा ६४ खर्ब ९४ अर्ब ९४ करोड रुपैयाँ रहेको निक्षेप चैतमा ६८ खर्ब ६० अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४ खर्ब ९ अर्ब ४ करोड रुपैयाँ (७.२ प्रतिशत) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । २०८१ चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर ६.२९ प्रतिशत, विकास बैंकहरुको ८.३४ प्रतिशत र वित्त कम्पनीहरुको ९.१७ प्रतिशत रहेको छ । २०८० चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर ८.५१ प्रतिशत, विकास बैंकहरुको १०.४१ प्रतिशत र वित्त कम्पनीहरुको १२.०२ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्