Logo

भट्टलाई नीलमले रोकेपछि कांग्रेसले ल्यायो विश्वको नाम

काठमाडौं– राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउन कामु गभर्नर नीलम ढुंगाना बाधक बनेपछि नेपाली कांग्रेसले अर्थविद् विश्व पौडेललाई अगाडि सारेको छ ।

पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पौडेलको नाम गभर्नरका लागि अगाडि सारिएको आइतबार कारोबारलाई बताए । उनले भने, ‘विभिन्न घटनाक्रम विकसित भएसँगै विश्व पौडेलको नाम गभर्नरका लागि पार्टीभित्र प्रस्ताव गरिएको हो ।’

एक महिनादेखि रिक्त गभर्नर पदमा राष्ट्र बैंककै कार्यकारी निर्देशक भट्टलाई नियुक्ति गर्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको थियो । आफू गभर्नर बन्ने भएपछि भट्टले राजीनामा पनि दिएका थिए । तर, यो सहमति कार्यान्वयन गर्नका लागि कायममुकायम गभर्नर ढुंगानाले राजीनामा स्वीकृत नगरिदिएपछि गभर्नरका लागि नयाँ व्यक्ति खोज्नुपरेको हो ।

सुदूरपश्चिमका भट्टलाई गभर्नर बनाउनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई ‘कन्भिन्स’ गराएका थिए । त्यससँगै गभर्नर नियुक्तिका लागि विभिन्न पहलहरू भए । अर्थमन्त्री एवम् गभर्नर सिफारिस समितिका संयोजक विष्णु पौडेलले ढुंगानालाई भट्टको राजीनामा स्वीकृत गर्न औपचारिक रुपमै निर्देशन दिए । तर, ढुंगानाले राजीनामा स्वीकृत गर्नुको साटो अड्काएर राखिन् । त्यसपछि प्रधानमन्त्री ओलीले पनि भट्टको बाटो नरोक्न आग्रह गरे । तर, ढुंगानाले त्यो आग्रह पनि स्वीकारिनन् । ‘कसै गरेपनि ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि विश्व पौडेलको नाम सिफारिस गर्न कांग्रेस बाध्य बनेको हो,’ कांग्रेसका एक नेताले बताए ।

योसँगै गत चैत ११ गते सरकारले गठन गरेको गभर्नर सिफारिस समिति फेरि एक पटक पुनर्गठन गर्नुपर्ने भएको छ । सरकारले अर्थमन्त्री पौडेलको संयोजकत्वमा अर्थविद् पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराईलाई सदस्य बनाएर समिति गठन गरेको थियो । भट्टराईले राजीनामा दिएकाले उनको ठाउँमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको थियो । यो नियुक्ति गैरकानुनी रहेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । यो रिटमा अधिकारीको विपक्षमा सर्वोच्चको फैसला आए समितिमा अधिकारी र पौडेल दुवैको विकल्पमा नयाँ व्यक्ति नियुक्त हुनेछन् । अधिकारीको पक्षमा फैसला आए पौडेलको स्थानमा मात्र नयाँ सदस्य नियुक्त गर्नुपर्नेछ । गभर्नर बन्ने सम्भावना भएपछि पौडेलले समितिबाट आइतबार राजीनामा दिएका छन् ।

गत चैत २४ देखि नीलम ढुंगानालाई कायममुकायम गभर्नर बनाएर सरकारले गभर्नर पद रिक्त राखेको छ । गभर्नर पदमा सुरुमा दुई दर्जन बढी आकांक्षी रहेका थिए । यसमध्ये एमालेका तर्फबाट नीलम ढुंगाना र कांग्रेसका तर्फबाट गुणाकर भट्टको नाम अगाडि सारिएको थियो । प्रधानमन्त्री ओलीले पहिलो महिला गभर्नर ढुंगानालाई बनाउने चाहना औपचारिक रुपमै राख्दै आएका थिए । तर, कांग्रेसले गभर्नर पद नछाड्ने अवस्था सिर्जना भएपछि ओली भट्टलाई गभर्नर बनाउन राजी भएका थिए । तर, भट्टलाई नीलमले रोकेसँगै ओलीले नै नयाँ नाममा सहमति गर्न खोजेका थिए । जसअनुसार पौडेललाई अगाडि सारिएको हो ।

कांग्रेसमा सभापति देउवा पत्नी एवम् परराष्ट्रमन्त्री आरजु राणासँग निकट रहेका पौडेलले गभर्नर बन्न लाग्दा कानुनी अड्चन पनि सामना गर्नु पर्नेछ । किनकी उनी गत आम निर्वाचनमा चितवनबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लडेका थिए । उनी पार्टीमा आवद्ध भएकाले गभर्नर बन्नका लागि ‘सञ्चालकको योग्यता सम्बन्धी मापदण्ड’ बाधक बन्ने सम्भावना छ । राष्ट्र बैंक सञ्चालक, गभर्नर, डेपुटी गभर्नर बन्नका लागि राजनीतिक दलमा आवद्ध भएको हुन नहुने मापदण्डमा उल्लेख छ । त्यसो त हालै अवकाश पाएका गभर्नर महाप्रसाद अधिकारी पनि एमालेको विभागमै सक्रिय थिए । तर, त्यहाँ उनको नाम छोटकरीमा एम अधिकारी राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्