स्याङ्जाको अर्जुनचौपारीमा औद्योगिक ग्राम

स्याङ्जा– गण्डकी प्रदेश सरकारबाट निर्णय भएकोे ६ वर्षपछि स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ छ्यालिमस्थित बगरमा औद्योगिक ग्राम सञ्चालन आएको छ । २०७५ चैत ४ मा प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम सञ्चालनमा ल्याउने प्रदेश सरकारको निर्णयअनुसार अर्जुनचौपारीमा बनाइएको औद्योगिक ग्राम सञ्चालनमा आएको हो ।
दरौखोला किनारको ८७ रोपनी क्षेत्रफलमध्ये ५१ रोपनी जग्गामा निर्माण गरिएको औद्योगिक ग्राम सञ्चालनमा आएको छ । संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा गाउँपालिकाको आन्तरिक स्रोत परिचालन गरी औद्योगिक ग्राम सञ्चालनमा ल्याइएको अर्जुनचौपारी गाउँपालिकाले जनाएको छ ।
खोला किनारको ५८० मिटर तटबन्धन, शौचालय निर्माण, गेट निर्माण, घेराबार, विद्युत विस्तार र जडान तथा प्लट छुट्याउने कार्य गरेसँगै उद्योग सञ्चालनमा छन् । औद्योगिक ग्राममा ढुंगा कटिङ तीन र ब्लक तथा फर्निचर गरी पाँच उद्योग सञ्चालनमा आएको छ भने एक ब्लक उद्योग सञ्चालनमा ल्याउन तयारी गरिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट औद्योगिक ग्राम निर्माणका लागि निकासा हुने अधिकतम रकममध्ये संघीय सरकारबाट प्राप्त दुई करोड २२ लाख, प्रदेश सरकारको ४५ लाख रुपैयाँ र स्थानीय तहले आन्तरिक स्रोतबाट ४२ लाख गरी तीन करोड ९ लाख रुपैयाँमा औद्योगिकग्राम निर्माण गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले बताए ।
गाउँपालिकाले गौरवको आयोजनाका रूपमा लिएको औद्योगिक ग्राममा स्थापित उद्योगलाई सञ्चालनमा प्रोत्साहन तथा सहजीकरण गर्ने, राजस्व समेतमा सहुलियत प्रदान गर्ने, उद्योगलाई आवश्यक कच्चा पदार्थ व्यवस्थापनमा समेत पालिकाको तर्फबाट सक्ने सहयोग गर्ने योजना रहेको पालिकाले जनाएको छ ।
अर्जुनचौपारी गाउँपालिकाले निर्माण गरेपछि सञ्चालनमा आएको औद्योगिक ग्राम जिल्लाकै पहिलो हो भने गण्डकी प्रदेश समेतमा स्थानीय निकायको प्रत्यक्ष लगानी र दायित्व रहने गरी निर्माण गरिएको पहिलो परियोजना हो । जिल्लामा गल्याङ, चापाकोट, पुतलीबजार, वालिङ नगरपालिका तथा अर्जुनचौपारी र कालिगण्डकी गाउँपालिकामा औद्योगिक ग्राम बनाउन सरकारले स्वीकृत प्रदान गरेको छ ।
एक दर्जन युवाले रोजगारी पाएको आफ्नै पालिकामा औद्योगिक ग्राम सञ्चालनमा आएपछि स्थानीयले प्रत्यक्ष र अप्रत्यक्ष थप रोजगारी पाउनेमा विश्वस्त छन् । स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थ उपयोगबाट स्थानीयलाई रोजगारसँगै उद्योगबाट पनि सजिलै सेवा लिन सकिनेमा उनीहरूले विश्वास जनाए ।