Logo

आर्थिक वर्ष सकिनै लाग्दा निर्माण र शिलान्यासमा तीव्रता

वीरगन्ज– आर्थिक वर्ष सकिन दुई महिना बाँकी हुँदा पर्सामा शिलान्यासका कार्यक्रम धमाधम हुन थालेको छ । संघ र प्रदेश सरकारको बजेटमा निर्माण हुने पूर्वाधार संरचनाको शिलान्यास गर्न सरकारका मन्त्री र राजनीतिक दलका नेताहरूले प्रतिस्पर्धाजस्तै गरेका छन् । शनिबार मात्रै पर्साका फरक फरक स्थानमा निर्माण हुन लागेका पूर्वाधार संरचनाको फरक फरक मन्त्री र नेताहरूले शिलान्यास गरेका छन् । पर्साको वीरगन्ज महानगरपालिका–१६ मा खानेपानी टयांकीको शिलान्यास भएको छ ।

संघीय सरकारका खानेपानीमन्त्री तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले खानेपानी ओभर हेड टयांकीको शिलान्यास गरेका हुन् । वीरगन्ज महानगरपालिका–१६, नगवामा करिब चार करोड ५० लाख रुपैयाँको लागतमा निर्माण हुने खानेपानी ओभरहेड टयांकी ४५० घनमिटर क्षमताको रहेको छ । शिलान्यासपछि बोल्दै मन्त्री यादवले ओभरहेड टयांकी निर्माणपछि नगवा र आसपासका बासिन्दाले शुद्ध, सुरक्षित र नियमित रूपमा खानेपानी पाउने विश्वास व्यक्त गरे ।

त्यस्तै शनिबार नै पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को पोखरियामा निर्माण गर्न लागिएको ‘माटो पार्क’ को जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले शिलान्यास गरेका छन् । मधेस प्रदेशको सांस्कृतिक र ऐतिहासिक पहिचानलाई झल्काउने उद्देश्यले निर्माण गर्न लागिएको उक्त पार्क निर्माणको शिलान्यास कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतसहित मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायतको टोलीले शिलान्यास गरेका हुन् ।

चार बिघा क्षेत्रफलमा निर्माण गर्न लागिएको उक्त पार्क जनमत पार्टीको विशेष परियोजना हो । जहाँ मधेस प्रदेशका १३६ वटै स्थानीय तहबाट संकलित माटोलाई प्रदर्शनमा राखिने छ । जनमत पार्टीका अध्यक्ष डा. राउतले केही वर्षअघि गरेको ‘माटो यात्रा’ अभियानबाट संकलित माटोलाई उक्त पार्कमा राखिने बताइएको छ । मधेस प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । डा. राउतले यो पार्क मधेसको एकता, पहिचान र गौरवको प्रतीक बन्ने बताए ।

पर्साकै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा (१) का सांसद तथा मधेस प्रदेश सरकारका युवा खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले पनि बहुरमाई नगरपालिका–८ मा रामजानकी मन्दिरको शिलान्यास गरेका छन् । मन्त्री जयसवालले पटेर्वा सुगौली गाउँपालिका–५ निचुटामा निर्माण हुने सडक ढलान कार्यको पनि शिलान्यास गरे । त्यस्तै सो पालिकाको वडा नं.– ३ मा मन्दिर शिलान्यास, वडा नं १ मा धर्मशाला शिलान्यास गरे ।

विकासको मुख्य आधार मध्ये पूर्वाधार संरचनाको विकासलाई मुख्य मानिन्छ । त्यसैले पूर्वाधार निर्माणको शिलान्यास हुनु सकारात्मक मानिए पनि नेपालमा हालसम्मको विकास निर्माणको प्रवृत्तिले नागरिकले भने त्यति खुसी मानेका छैनन् । उनीहरू शिलान्यास गर्न हतार गर्ने र निर्माणको प्रगतिमा भने निमायक निकाय मौन रहने परिपाटीले छिटो निर्माण भएर विकास हुनेमा भने आशंका व्यक्त गर्ने गरेका छन् । विकास निर्माण आयोजनाहरू समयमा नै सम्पन्न नहुने गर्दा पनि शिलान्यास भएका आयोजनामा खासै खुसी हुनुपर्ने कारण नरहेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्