Logo

नेपाल लाइफको इन्भेष्टमेन्ट कम्पनी सुरु

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको सुरुवात गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् । नेपाल लाइफले पाँच अर्ब रुपैयाँको लगानीमा सहायक कम्पनीका रूपमा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेको हो ।

बीमा बजारमा २५ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले यो नयाँ यात्रा सुरु गरेको हो । कम्पनीका अध्यक्ष संघईले नेपाल लाइफले २५औं वर्ष प्रवेश गर्दै गर्दा सर्वाधिक विश्वासिलो र करिव ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको बताए । नेपाल लाइफले प्रत्येक परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न जीवन बीमाको माध्यमबाट महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ भन्दै उनले उच्च प्रतिफल प्रदान गर्न तथा बजारका चुनौती न्यूनिकरण गर्न इन्भेष्टमेन्ट कम्पनी स्थापना गरिएको बताए ।

उनका अनुसार नेपाल लाइफले हालसम्म २ खर्ब २५ अर्ब रुपैयाँको जीवन बीमा कोष निर्माण गरिसकेको छ । कम्पनीसँग हाल १७ लाखभन्दा बढी बीमित र १ लाख ८६ हजार लगानीकर्ता रहेका छन् । कम्पनीले आगामी पाँच वर्षभित्र जीवन बीमा कोष ५ खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ । उक्त लक्ष्य हासिल गर्न र बीमित तथा लगानीकर्तालाई अझ उत्कृष्ट प्रतिफल दिन ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गर्नु अपरिहार्य रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्