मौलिकता गुमाउँदै गाउँ

रोल्पा– रोल्पाका अधिकांश गाउँमा सडकको पहुँच पुगेको छ । सडकसँगै पुगेको छ शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार लगायतका पूर्वाधारमा नागरिकको पहुँच पनि । रोल्पालीले चाहेको विकास त पाउँदै गएका छन् नै तर विकाससँगै धेरै चिज गुमाउँदै गएका पनि छन् । गाउँमा मौलिक परम्परा बोकेका घरहरू अब भेटाउनै मुस्किल हुने अवस्था बनेको छ । खर र ढुंगाको छाना भएको घर कम हुँदै गएका छन् । विभिन्न कलात्मक शैलीमा बनाइएका सम्पदा लोप हुने क्रममा छन् ।
पछिल्लो समय गाउँमा घर जस्तापाताले छुवाउन र सिमेन्टले ढलान गर्न थालिएको छ । त्यसले गर्दा यहाँको पहिचान हराउन थाल्यो, अहिले सहरमा मात्र होइन गाउँमा पनि सिमेन्ट र रडको प्रयोगबाट धमाधम घर बनाउने बढ्न थालेको छ । घरमा माटो र कमिरोका सट्टा सिमेन्ट र केमिकलका रङ लगाउने प्रचलन बढ्दै गएको छ । गाउँघरमा पहिलेदेखि भएका थुप्रै पाटी, पैवा, पोखरी, ताल, तलैया र सितलताका लागि बनाइएको चौतारी सबै नास हुँदै गए । गाउँगाउँमा भएका यी सम्पदा मासिँदा गाउँ अहिले उजाड जस्तो बनेको छ ।
सडकको छेउछाउमा रहेका खेतीयोग्य जमिन मासेर नयाँ घर भवन बनिरहेका छन् । गाउँमा सहर बजारका जस्ता घर बन्दै गएपछि मौलिकता गुम्ने खतरा बढेको सुनछहरी गाउँपालिकाका स्थानीय तिलक घर्तीले बताए । ‘रोल्पाका आफ्नै कला, संस्कृति, भेषभूषा, रहनसहन, रीतिरिवाज विस्तारै ओझेलमा पर्दै गएको छ,’ उनले भने । जुन चिजले यहाँको पहिचान बनाएको थियो, त्यो पहिचान अब लोप हुँदै जाने क्रम बढेको उनले बताए । ‘यहाँको मौलिक कला, संस्कृतिले पर्यटन विकासमा सहयोग गर्न सक्दथ्यो तर पछिल्लो समय लोप हुने क्रम बढेको छ,’ उनले भने ।
रोल्पा जिल्लाको थबाङ गाउँ जुन जहिल्यै विद्रोहको रूपमा चिनिएको थियो । थबाङ गाउँ अहिले मौलिक सांस्कृतिक अस्तित्व बचाइराख्न संघर्षरत देखिन्छ । पछिल्ला वर्षहरूमा प्रविधिको विकास, भौतिक विकास र बाह्य प्रभावका कारण गाउँको परम्परागत जीवनशैली संकटमा परेको छ । रोल्पाको थबाङ गाउँ सधै चर्चामा रहन्छ । चाहे त्यो माओवादीले सुरू गरेको तत्कालीन १० वर्षे सशस्त्र द्वन्द्वको कारणले होस्, चाहे सशस्त्र द्वन्द्वको समाप्ति पछिका विभिन्न घटनाक्रमले गर्दा होस् ।
थबाङको छुट्टै पहिचान छ । मगर समुदायको बाहुल्य रहेको थबाङमा केही वर्ष अघिसम्म संगठित रूपमा बनेका एकैथरिका घरहरू देख्न सकिन्थ्यो । तर थबाङ अब परिवर्तन भइसकेको छ । थबाङले रूप बदलेको छ । विकाससँगै त्यहाँको जनजीवनमा परिवर्तन आएको देखिन्छ । विकासले परिवर्तन लिएको प्रति थबाङ खुसी भए पनि अब संगठित रूपमा बनेका एकैथरिका घरहरू थबाङमा देख्न सकिँदैन ।
थबाङको मौलिकता गुम्दै गएको प्रति चिन्ता बढ्न थालेको छ । ‘पहिले ढुंगा, माटो र काठले बनेका घरहरू प्रसस्त थिए, अहिले आरसीसी गरेका घर धेरै बन्न थाले यसले हाम्रो पहिचान गुमाउँदै छ,’ थबाङ गाउँपालिकाका स्थानीय दलबहादुर रोकाले भने । मौलिक डिजाइनमा घरहरू बनाउने परम्परा घटेको उनी बताउँछन् । उनले भने, ‘अब पक्की र आरसीसीवाला घरहरू बनाउने लहर नै चल्न लागेको छ,’ पहिचान गुम्न लागेकोमा उनले चिन्ता व्यक्त गरे । तत्कालीन समयका ढुंगा र माटाको गारोका घरहरू क्रमश: विस्थापित हुँदैछन् ।
त्यसको साटो इटा र सिमेन्टले लिएको छ, काठ, स्लेट ढुंगा र खरको साटो छानामा जस्तापाता टल्किएका छन् । पक्की सिमेन्टका घरहरू बन्ने क्रम बढेको छ । पहिले थबाङको पहिचान बनेको थियो अहिले ती पहिचान हराउँदै गएको स्थानीय बताउँछन् । रोल्पाका अधिकांश गाउँको अवस्था यही हो । विस्तारै गाउँले मौलिकता गुमाउँदै छ । पश्चिमेली संस्कृति हावी भएको देख्न सकिन्छ । यो अत्यन्तै दु:खद पक्ष हो । रोल्पाका गाउँले आफ्नो अस्तित्व बचाइराख्न अत्यन्तै चुनौतीको विषय बन्न पुगेको छ ।