महेन्द्रनगरमा अपाङ्गमैत्री सडक निर्माण गरिँदै

महेन्द्रनगर– कञ्चनपर महेन्द्रनगरमा अपाङ्गमैत्री पैदल मार्गसहितको १४ किलोमिटर सडक निर्माण गरिएको छ । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा महेन्द्रनगरमा सडक निर्माण गरिएको हो । बजारका पाँचवटा गल्ली–८ मिटर चौडा गरिनुका साथै अपाङ्गमैत्री पैदलमार्ग र साइकल लेन निर्माण गरिएको छ ।
योजनाअनुसार सहरलाई व्यवस्थित र सुन्दर बनाउन एडिबीको सहयोगमा भीमदत्त नगरपालिकाले क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत बजारलाई आधुनिकीकरण गरेको छ । भीमदत्त नगरपालिकाका सबइन्जिनियर पवन लेखकले आयोजनाको पहिलो चरणअन्तर्गत एक अर्ब लगानीमा १४ किलोमिटर सडक कालोपत्रे गरिएको बताए ।
उनका अनुसार यहाँ २२ किमि ढल निकास, बजार क्षेत्रमा चार किलोमिटर रेलिङ र ७७६ वटा लाइट तथा आठवटा हाइमास्ट लाइटसमेत जडान गरिएका छन् । ‘बजार क्षेत्रमा साइकल लेन निर्माण गरेका छौं,’ उनले भने, ‘१४ किलोमिटर कालोपत्रे सडकमा अपाङ्गमैत्री पैदलमार्ग निर्माण भएको छ । बजारका विभिन्न स्थानमा सौन्दर्यका लागि पार्कसमेत निर्माण गरिएका छन् ।’
बिजुलीका पोल र टेलिफोन तार व्यवस्थित गरिनुका साथै पार्किङ व्यवस्थापनसमेत गरिएको छ । पहिलो चरणको काम सम्पन्न भइसकेको र समस्या देखिएका केही स्थानमा निर्माण कम्पनीले मर्मत गरिरहेको छ । सबइन्जिनियर लेखकका अनुसार अब दोस्रो चरणअन्तर्गत आठ किलोमिटर सडक र १० किलोमिटर ढल निकासका लागि ६६ करोड बजेट स्वीकृत भएको छ भने आधुनिक सडक निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ ।
तत्कालीन राजा महेन्द्रको गुरुयोजना अनुसार महेन्द्रनगर बजारको निर्माण भइरहेको छ । विसं २०१८ सालमा उनले ब्रह्मदेवको बजारलाई महेन्द्रनगर सार्न आदेश दिएका थिए । त्यतिबेला बेलौरीमा रहेको सदरमुकाम पनि महेन्द्रनगर सारिएको थियो । स्थानीय पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टले बजारलाई थप व्यवस्थित गर्न सके यो सहर हेर्न लायक बन्ने बताउँछन् ।
‘महेन्द्रनगर बजार आकर्षक, व्यवस्थित र सुरक्षित छ । यसले गर्दा यहाँ लगानीकर्ता पनि आकर्षित भइरहेका छन्,’ उनले भने, ‘हाल निर्माण भएको अपाङ्गतामैत्री पैदलमार्ग र साइकलन लेनले बजारको सुन्दरता थपिनुका साथै यसले व्यापार व्यवसायमा समेत थप टेवा पुगेको छ ।’
त्यसैगरी महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका पाँचवटा गल्ली र व्यापारिक केन्द्र भएकाले यसलाई नगरपालिकाले थप व्यवस्थित गर्नुपर्ने यहाँका व्यवसायीले माग गरेका छन् । व्यवसायी कृष्णानन्द भट्टले हाल आधुनिक बजार बनेको र यहाँ निर्माण भएका गल्लीहरू पर्यटकका लागि आकर्षक रहेको बताए । व्यवसायी भट्टले अब बजार क्षेत्रमा भएका पोल व्यवस्थापन गरी तारलाई भूमिगत गर्न सकिए सुन्दरता थपिने र सडक किनारामा हरियाली र थप लाइटिङ व्यवस्थापन गर्नसके महेन्द्रनगर बजार थप राम्रो हुने बताए ।
यहाँको व्यापार–व्यवसाय प्रमुख राजमार्ग र ग्रामीण बस्तीसम्म विस्तार भएको छ । व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण मानिने महेन्द्रनगर भारतका ठूला औद्योगिक सहरनजिक रहेकाले पनि बढी महत्त्वको छ । एडिबीले सहर सौन्दर्यीकरणका लागि परेको सहयोगले बजारलाई थप आकर्षक र व्यवस्थित बनाउने काम भएपछि स्थानीय व्यापारी उत्साहित भएका छन् ।