१०८ फिट व्यासको मूर्ति निर्माणार्थ सहयोग जुटाउन महायज्ञ «

१०८ फिट व्यासको मूर्ति निर्माणार्थ सहयोग जुटाउन महायज्ञ

दमौली-तनहुँको दमौलीमा निर्माण गर्न लागिएको १०८ फिटको ब्यासमूर्ति सहितको संरचना निर्माणका लागि सहयोग जुटाउन सोमबारदेखि महायज्ञ सुरु भएको छ ।
ब्यास क्षेत्र शिव पञ्चायन कोषले आयोजना गरेको श्रीमद् भागवत सप्ताह विराट ज्ञानमहायज्ञको संस्कृति, पर्यटन, नागरिक तथा उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गरे । सो अवसरमा मन्त्री भट्टराईले दमौलीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनुपर्नेमा जोड दिए । “वेदव्यासको जन्मभूमिको प्रचार गरी विश्वबाट पर्यटक ल्याउने जिम्मा राष्ट्रको पनि हो,” उनले भने । यस्ता संरचना र पूर्वाधार निर्माण गर्दै गए नेपालका पर्यटकीय गन्तव्य थपिँदै जाने र पर्यटकको संख्यामा वृद्धि हुने उनको भनाइ थियो ।
श्रीकृष्ण द्वैपायन भगवान वेदव्यासको जन्मस्थललाई विश्व सामु परिचित गराई ब्यासभूमिलाई धार्मिक एवं पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित मूर्ति निर्माणको कामलाई अगाडि बढाएको कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए । १०८ फिटको ब्यासमूर्ति सहितको संरचना निर्माणका लागि ६३ करोड लाग्ने अनुमान गरेको उनले बताए । कोषमा भएको ५० लाखले डीपीआर निर्माण गरिएको र काम अगाडि बढाउन कोषमा बजेट नभएकै कारण सहयोग जुटाउने अभियानमा जुटेको श्रेष्ठले बताए । कुनै ठाउँ विशेषको मात्र नभई सनातन धर्मका अनुयायीहरूकै मूल थलो व्यास भएकाले यो काम सम्पन्न गर्न देश तथा विदेशबाट सहयोग रकम जुटन थालेको उनले बताए ।
जनस्तरबाट थालिएको मूर्ति निर्माणको अभियानअन्तर्गत हालसम्म डीपीआर बनाउने काम मात्रै सम्पन्न भएको छ । मूर्ति निर्माणमा संघ, प्रदेश र स्थानीय तीनै तहको सरकार र विभिन्न क्षेत्रमा सहयोगको अपिल गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि २८ करोड ६८ लाख २८ हजार २१७ लाग्ने अनुमान छ ।
ब्यासमूर्ति निर्माणमा ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । पेडेस्टल (स्तम्भ) भित्र स्रग्र्रहालय र पुस्तकालय हल प्रस्ताव गरिएको छ । गुरुयोजनामा उल्लेख भएअनुसार ब्यासको मूर्तिका अलवा प्रवेशद्वार, पार्किङ, टिकट काउन्टर, गार्ड घर, कोशेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल बनाइने छ । त्यसैगरी समितिको सचिवालय बैठक कक्ष, संग्र्रहालय, वृत्तचित्र हल, ब्यास पुस्तकालय, शौचालय, बगैँचाको साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पुजारी घर, २७ वटा साना ब्यासका मूर्तिहरु, ब्यासका अनुयायीहरूको पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ ।

सुनिता आचार्य

प्रतिक्रिया दिनुहोस्