भरियो बुटवल औद्योगिक क्षेत्र

बुटवल– बुटवल औद्योगिक क्षेत्रका उद्योगीहरुले उद्योगको क्षमताअनुसार ठाउँ साघुरो भएको बताएका छन् । जग्गा साँघुरो भएकाले उद्योग स्तरोन्नति गर्न र उपकरण थप्न कठिनाइ भएको हो ।
बुटवल उद्योग वाणिज्य संघको टोलीले हालै बुटवल औद्योगिक क्षेत्रका साथै विभिन्न उद्योगहरुमा स्थलगत अवलोकन गरेको थियो । अवलोकनका क्रममा उद्योगका समस्याहरु संकलन गरेको थियो । औद्योगिक क्षेत्रमा रहेको मेटल कास्ट उद्योग २०५२ सालमा स्थापना भएको हो । अहिले सो उद्योगलाई त्यहाँको जग्गा साँघुरो भएको छ । ३० वर्षअघि उद्योग स्थापना हुँदा पर्याप्त रहेको जग्गा उद्योगको क्षमता विकास हुँदै गएपछि अहिले साँघुरो भएको उद्योगका सञ्चालक निश्चल शर्माले बताए । ‘यहाँको जग्गा साँघुरो भयो, बुटवलमा बन्ने भनेको नयाँ औद्योगिक क्षेत्र पनि बन्न सकेको छैन,’ उनले भने ।
शर्माको मेटल काष्ट उद्योगमा ठूला परियोजनाका लागि फलामका सामान उत्पादन तथा मर्मतसम्भारको काम हुन्छ । जग्गा साँघुरो हुँदा काम गर्न कठिनाइ भएको उनले सुनाए । २०६६ सालमा स्थापना भएको युनाइटेड प्लाष्टिक उद्योगलाई पनि जग्गा साँघुरो भएको छ । उद्योगमा ठूला ठूला मेसिन तथा उपकरणहरु हुने भएकाले अन्यत्र ठाउँ पाए पनि उद्योग स्थानान्तरण गर्न सजिलो छैन । उद्योगका प्रबन्ध निर्देशक तुलसीबहादुर गुरुङले अन्यत्र ठाउँ पाइहाले पनि सार्ने स्थिति नभएको बताए ।
औद्योगिक क्षेत्रमा ठाउँ साँघुरो भएकाले नयाँ उद्योग पनि खुल्न सहज छैन । बुटवलको तिनाउ किनारमा बन्ने भनिएको मोतिपुर औद्योगिक क्षेत्रको योजना अघि बढे पनि निर्माण सुरु हुन सकेको छैन । नयाँ उद्योग खोल्न चाहनेहरु कतिपयले मोतिपुर औद्योगिक क्षेत्र पर्खिरहेका छन् ।
बुटवल औद्योगिक क्षेत्रमा भाडा विवाद कायमै रहेको र विद्युतमा समेत समस्या रहेको उद्योगीहरुको गुनासो छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २०७५ सालदेखि लागु हुने गरी २०७८ सालमा जग्गाको भाडा ७ सय प्रतिशतसम्म वृद्धि गरेको थियो । यो विवाद अझै सुल्झिएको छैन । त्यस्तै, बुटवल औद्योगिक क्षेत्रमा डेडिकेटेड फिडर छ । तर, विद्युत जाने–आउने समस्या रोकिएको छैन । औद्योगिक क्षेत्रमा ६० उद्योग छन् । त्यसमध्ये अधिकांश उद्योग प्लाष्टिक र फेव्रिकेशनका छन् । यो प्रकृतिका उद्योगका लागि २४ सै घण्टा विद्युतको आवश्यकता पर्छ । औद्योगिक क्षेत्र उद्योग संघका वरिष्ठ उपाध्यक्ष प्रज्वल थान्जुका अनुसार केही मिनेटमात्रै विद्युत अवरुद्ध हुँदा उद्योगले धेरै नोक्सान व्यहोर्नुपर्छ ।
औद्योगिक क्षेत्र र बाहिरका उद्योगका अरु समस्या भने समान प्रकृतिका छन् । शिथिल अर्थतन्त्र, जनशक्ति अभाव, सरकारको औद्योगिक नीति सबै उद्योगका समान समस्या हुन् । औद्योगिक क्षेत्र उद्योग संघका महासचिव कमल ज्ञवालीले कच्चा पदार्थमा भन्सार शुल्क लाग्ने र तयारी वस्तुमा छुट दिनेसम्मका नीतिले नेपाली उद्योगीलाई समस्या गराएको बताएका छन् । विभिन्न कारणले गर्दा उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिएको उनले बताए ।
मुलुकको शिथिल अर्थतन्त्रका कारण यस क्षेत्रका उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । रुपन्देहीमा थुप्रै औषधी उद्योग छन् । औषधि उद्योगहरुमा पनि सरकारको बीमा पोलिसी, क्यास फ्लोको अभाव, दक्ष जनशक्ति तथा सानो बजार ठूलो लगानी लगायतका समस्या रहेको उद्योगीहरु बताउँछन् । आयुर्वेदिक र एलोपेथिक औषधी उत्पादन गरिरहेको ग्रेस फर्मास्युटिकल प्रालिमा पनि संघको टोलीले स्थलगत अवलोकन गरेको थियो ।
कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दी लगायतका कारणले उद्योगहरु पूर्ववत् सञ्चालनमा आउन नसकेको पञ्चकन्या ग्रुपका महानिर्देशक देवेन्द्र साहुको भनाइ छ । रुपन्देहीको कोटिहवामा ३ वटा स्टिल र ३ वटा प्लाष्टिक उद्योग सञ्चालन गरेको पञ्चकन्या ग्रुपले पूर्ण क्षमताको २० प्रतिशत मात्रै सञ्चालनमा रहेको साहुले बताए । यो उद्योगमा अहिले पनि ६ सय बढी कामदार कर्मचारी कार्यरत छन् । ‘पूर्ण क्षमतामा सञ्चालन नभएपछि हामीले तिर्दै आएको भन्सार शुल्क पनि कम भएको छ । राजश्व पनि कम भएको छ,’ उनले भने, ‘भन्सार किन कम भयो भनेर भन्सार पनि आउँदैन, राजश्व किन कम भयो भनेर कर कार्यालय पनि आउँदैन । पहिले बैंक आउनु पर्दैनथ्यो, अहिले बैंक आउँछ ।’
उद्योगी साहुले राज्य भूमिकाविहिन भएको उल्लेख गरे । ‘छोरा लड्यो भने उठाउने दायित्व बाबुको हो, घाउ चोटपटक लागेको भए औषधोपचार गर्ने, तयार बनाउने दायित्व बाबुको हो,’ उनले भने ‘तर, यहाँ बाबुको भूमिकामा राज्य छैन ।’ उनले विद्युत निरन्तर भएको भए आइरन खेर नजाने बताउँदै विद्युत ट्रिपिङले धेरै आइरन खेर गइरहेको बताए ।
बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले उद्योगीहरुका समस्या पहिचान गर्न स्थलगत अवलोकन गरिएको र प्राप्त सुझावका आधारमा समस्या समाधानका लागि संघले रणनीति तय गर्ने जानकारी दिए । स्थलगत अवलोकनबाट प्राप्त भएका समस्या तथा सुझावबारे संघमा छलफल गरी स्थानीय स्तरमा हुन सक्ने संघले पहल गर्ने र माथिल्लो निकायमा भन्नुपर्ने कुरालाई नेपाल उद्योग वाणिज्य महासंघ मार्फत समाधानका लागि पहल गरिने अवलोकन टोली संयोजक तथा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका उद्योग उपाध्यक्ष सुरज भट्टराईले बताए ।