Logo

कामपाबाट ५२ हजारभन्दा बढीले लिए नि:शुल्क कानुनी सेवा

काठमाडौं- काठमाडौं महानगरपालिकाबाट हालसम्म ५२ हजार ७४० जनाले नि:शुल्क कानुनी सेवा लिएका छन् ।

कानुन दिवसका अवसरमा विशेष अदालतले शुक्रबार आयोजना गरेको कार्यक्रममा उपप्रमुख सुनिता डङ्गोलले कानुनी सेवालाई सबैका लागि पहुँचयोग्य र सर्वसुलभ बनाउनुपर्छ भन्ने उद्देश्यसहित महानगरले नि:शुल्क कानुनी सेवा दिँदै आएको बताइन् ।

उपप्रमुख डङ्गोलले महानगरले हालसम्म ८३ पटक सुनुवाइ गरी ६८५ वटा विवादमध्ये ३२६ वटा निर्णय गरिसकेको र ९० वटा मेलमिलापबाट समाधान गरिएको जानकारी दिइन् । उनले नि:शुल्क कानुन सेवासँगै काठमाडौंमा मेलमिलापको सङ्ख्यामा पनि वृद्धि भएको जानकारी दिइन् ।

उपप्रमुख डङ्गोलले कानुनबारे अझै पनि अनभिज्ञ रहेको भन्दै नागरिकसम्म पहुँच पुग्नेगरी अघि बढ्न आवश्यक रहेको उल्लेख गरिन् । उनले संविधानको भाग–७ को धारा २१७ मा स्पष्टसँग न्यायिक समितिको परिकल्पना गरेको भन्दै न्यायिक समितिलाई अझै फराकिलो र बलियो बनाएर लैजानुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्