Logo

आईपीओ निष्काशन गर्न रिलायन्सलाई खुल्यो बाटो

काठमाडौं– पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर (आईपीओ) निष्काशन प्रक्रिया रोक्ने धितोपत्र बोर्डको निर्णय कार्यान्वयन नगर्न अन्तरिक आदेश दिएको छ । बोर्डले बदनियतपूर्ण ढंगले रोक्का गरेको रिलायन्सको आईपीओ निष्काशन प्रक्रिया रोकेको भन्दै रिलायन्सले दायर गरेको रिटमा उच्च अदालतले बुधबार त्यस्तो आदेश दिएको हो ।

यससँगै गत असारदेखि रोकिएको आईपीओ निष्काशन प्रक्रिया अगाडि बढाउन रिलायन्सलाई बाटो खुलेको छ । धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष नरेन्द्रकुमार रानाले गत असार २६ मा कम्पनीको आईपीओ निष्काशन प्रक्रिया रोकेका थिए । बोर्डले अध्यक्षको निर्णय अनुसार भन्दै धितोपत्र निष्काशन प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि रोक्का राख्न बिक्री प्रबन्धकलाई निर्देशन दिएको थियो ।

पाटन उच्च अदालतले बोर्डको असार २६ को पत्र प्रारम्भिक रुपमै कानुनसम्मत नदेखिएकोले सो रिट निवेदनको टुंगो नलागेसम्म उक्त रोक्का पत्र कार्यान्वयन नगर्नु नगराउनु र उक्त पत्रसँग सम्बन्धित सबै कार्यहरु रोक्का राख्नु/ भनी अन्तरिम आदेश जारी गरेको हो । आईपीओ निष्काशन प्रक्रिया यथाशीघ्र अघि बढाइपाउँ भन्दै बैशाख ११ गते रिलायन्सले रिट दायर गरेको थियो । सोही रिटमा अदालतले रिलायन्सको पक्षमा फैसला गरेको हो ।

रिलायन्सले बुक बिल्डिङबाट आईपीओ निष्काशनको दोस्रो चरणमा वैदेशिक रोजगारीमा जानेका लागि असार २७ देखि आवेदन खुलाउने तयारी गरेको थियो । यस्तै सर्वसाधारणलाई प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसामा आईपीओ निष्काशन गर्न लागेको थियो । रिलायन्सले सार्वजनिक निष्काशन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरी बोर्डबाट विवरण पत्र प्रकाशनका लागि स्वीकृतिसमेत प्राप्त गरेको थियो । तर, बोर्डले बिना आधार तथा बिनाकारण सो सार्वजनिक निष्काशन प्रक्रिया रोक्का गरेको रिट निवेदकको दाबी थियो ।

यस कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पनि प्रतिसेयर आम्दानी २५ रुपैयाँभन्दा माथि पुगेको छ । सुस्त अर्थतन्त्रको अवस्थामा पनि रिलायन्सले नाफामा उल्लेख्य वृद्धि गरेको र निर्माण तथा उत्पादनमूलक उद्योगमध्ये रिलायन्सले जहिल्यै उत्कृष्ट व्यापार गर्दै आएको छ । उद्योगले नेपालको धागोको मागलाई पूर्ति गर्दै भारत, टर्कीलगायत थुप्रै मुलुकमा निर्यात पनि गर्दै आएको छ ।

सुनसरीमा रिलायन्सको धागो कारखाना रहेको छ । यस उद्योगले ऊन (उल) धागो, सूति (कटन) धागो, पोलिस्टर धागो, एक्रेलिक धागो, भिस्कोस धागो उत्पादन गर्दै आएको छ । विसं. २०५४ मा स्थापना भएको रिलायन्स स्पिनिङ्स मिल्सले स्थापनाको २७ वर्षसम्ममा ४ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । साथै लगानी पनि बढेर १५ अर्बभन्दा बढी पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्