Logo

एन्फाको साधारणसभामा पूर्वअध्यक्षलाई प्रवेशमा रोक लगाएपछि विवाद

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाइएपछि शुक्रबार धुलिखेलमा विवाद उत्पन्न भएको छ । थापालाई साधारण सभास्थलको गेटमै सुरक्षाकर्मीले रोकेपछि केही समय वातावरण तनावपूर्ण बनेको हो । यद्यपि भित्र साधारणसभा भने सञ्चालन भइरहेको छ ।

साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष टंकलाल घिसिङले गरेका हुन् । एन्फाले प्रवेश पास नभएको भन्दै थापालाई रोक लगाएको बताएको छ । यससँगै उल्लेख्य संख्यामा सुरक्षाकर्मीहरू पनि घटनास्थलमा खटाइएको छ । थापाले भने आफू उच्च अदालत पाटनको आदेशअनुसार सभामा सहभागी भएको बताए ।

उनले अदालतको आदेश मान्दिन भन्न वा साधारण सभामा प्रवेश दिन एन्फालाई आग्रह गरे । थापाले एन्फाले आफूलाई रोक्न सक्ने संकेत पाएपछि उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । वैशाख २१ मा न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाको पक्षमा अन्तरिम आदेश दिएको थियो । सो आदेशअनुसार उनी साधारणसभामा सहभागी हुन पुगेका थिए ।

तर एन्फाका प्रवक्ता सुरेश साहले अदालतको आदेशबारे औपचारिक जानकारी नआएको जिकिर गरेका छन् । सन् २०१५ अप्रिल १६ मा फिफाले भ्रष्टाचार र आचारसंहिता उल्लंघनको आरोपमा थापालाई १० वर्षका लागि निलम्बन गरेको थियो । सो निलम्बन सन् २०२५ अप्रिल १५ मा सकिएको थियो । प्रतिवन्ध फुकुवा भएपछि थापा फुटबल गतिविधिमा सक्रिय हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्