Logo

सामाजिक सुरक्षा योजनामा १४ अर्ब ४२ करोड लाभग्राही भुक्तानी

काठमाडौं– योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा ७९ अर्ब ४२ योगदान रकम संकलन हुँदा १४ अर्ब ४२ करोड रुपैयाँँ बराबरको सामाजिक सुरक्षा रकम लाभग्राहीलाई भुक्तानी गरिएको छ ।

यो श्रमिकबाट संकलन भएको जम्मा रकमको १८ प्रतिशत हो । गत वर्ष यो रहक १६ प्रतिशत रहेको थियो । २०७५ साल मंसिरबाट सुरु भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा औपचारिक तथा वैदेशिक रोजगार र अन्य क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीले हालसम्म ७९ अर्ब ४२ करोड रुपैयाँ योगदान रकम जम्मा गरिसकेका छन् ।

हालसम्म जम्मा भएको योगदान रकममध्ये विभिन्न ४ योजना अन्र्तगत लाभग्राही श्रमिक र उनीहरुका परिवारले १४ अर्ब ४२ करोड रुपैयाँ सामाजिक सुरक्षा रकम प्राप्त गरिसकेको कोषका प्रवक्ता कृष्ण अधिकारीले जानकारी दिए । कोषले लाभग्राहीलाई गरेको भुक्तानी जम्मा भएको रकमको लगभग १८ प्रतिशत हो । सेवाग्राहीलाई भुक्तानी गरेको १४ अर्ब ४२ करोडमध्ये वृद्धा अवस्था सुरक्षा दाबीमा १२ अर्ब ८ करोड १ लाख २४ हजार रुपैयाँ वितरण भएको छ ।

यसैगरी औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम एक अर्ब ९२ करोड ७८ लाख वितरण गरिसकेको कोषले जनाएको छ । आश्रित परिवार सुरक्षा दाबी वापत २३ करोड ३ लाख ९३ हजार र दुर्घटना तथा अशक्तता सुरक्षाअन्र्तगत १८ करोड ९४ लाख ८८ हजार रुपैयाँ भुक्तनी भएको कोषले जनाएको छ । कोषमा हालसम्म २० हजार ४९१ रोजगारदाता प्रतिष्ठान सूचिकृत भइसकेका छन् भने सूचिकृत हुने श्रमिकको संख्या २२ लाख १३ हजार ७२६ रहेको छ ।

तत्काल औपचारिक रोजगारीको क्षेत्रबाट अनिवार्य गरिएको सामाजिक सुरक्षा कार्यक्रममा हाल निजी संगठित क्षेत्रका १८ हजार ५८२ रोजगारदातासँग आवद्ध ५ लाख ८० हजार ६५२ श्रमिक सूचिकृत भई योगदान गरिरहेको कोषले जनाएको छ । यसबाहेक बाँकी वैदेशिक रोजगारीका क्षेत्रमा गएका १६ लाख ३२ हजार २६७, अनौपचारिक ४६१ तथा स्वरोजगार ३४६ रहेका छन् । कोषमा आबद्ध हुन रोजगारदाता सूचिकृत भई आफ्ना श्रमिक तथा कर्मचारीको समेत सम्पूर्ण विवरणसहित सूचिकरण गराउनुपर्ने कानुनी व्यवस्था छ ।

सूचिकरण भएका हरेक रोजगारदाता र योगदानकर्तालाई कोषले सामाजिक सुरक्षा नम्बर प्रदान गर्ने र सोही नम्बरमा जम्मा हुने गरी हरेक महिना समाप्त भएको १५ दिनभित्र रोजगारदाताको तर्फबाट आधारभूत पारिश्रमिकको २० र योगदानकर्ताको तर्फबाट ११ प्रतिशत रकम कट्टा गरी कोषमा अनलाइन भुक्तानी प्रणालीमार्फत रकम जम्मा गर्नुपर्ने नियम छ । यसैगरी कोषले सामाजिक सुरक्षा योजनामा नियमित योगदान गर्ने श्रमिक तथा कर्मचारीले घर, शैक्षिक, सामाजिक कार्य र विशेष सापटी गरी ४ वटा सुविधा दिँदै आएको छ ।

सरकारले सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकका लागि योगदानकर्ता सापटी निर्देशिका जारी गरेपछि सापटी योजना सुरु गरिएको भएको छ । कोषले सापटी योजनाअन्र्तगत घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र विशेष सापटी योजना गत भदौ गत १ गतेबाट सुरु गरिएको हो । यी ४ वटा सापटी योजनाअन्र्तगत विशेष सापटी सेवा लिनेको संख्या बढी रहेको कोषले जनाएको छ ।

योगदानकर्ता सापटी निर्देशिका अनुसार प्रक्रिया सरल मानिएको विशेष सापटी योजनामा कोषमा जम्मा भएको रकम ८० प्रतिशत लिन पाइने छ । योगदानकर्ता विशेष सापटी लिन कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष सेवा अवधि बाँकी रहेका योगदानकर्तालाई अवकाश कोष योजनामा जम्मा भएको रकमको अधिकतम ८० प्रतिशत रकमसम्म प्रदान गर्न सकिने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्