चिसोको कारण देखाउँदै सुगममा बसेर दुर्गमको तलब बुझ्दै कर्मचारी
तीन पालिकामा लागू भएन स्वास्थ्य बिमा

वीरेन्द्रनगर– भौगलिक विकटताका साथै कर्मचारीको साथ नहुँदा उपल्लो डोल्पाका तीन पालिकामा स्वास्थ्य बिमा कार्यक्रम लागू हुन सकेको छैन । कर्णालीमा ७९ पालिकामध्ये उपल्लो डोल्पामा डोल्पो बुद्ध, छार्का ताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकामा बिमा कार्यक्रम लागू हुन अझै सकेको छैन ।
दुर्गममा सेवाको बहाना बनाउँदै सुगम बस्दा यहाँ कुनै पनि काम समयमा नहुने गरेको छ । उपल्लो डोल्पामा पालिकाहरू अधिकांश समय काठमाडौं तथा कर्मचारीको घरबाटै चल्ने गरेका छन् । स्वास्थ्य बिमा लागू गर्नका लागि धेरै पटक प्रयास गरे पनि पालिकामा कर्मचारी नबस्दा कार्यक्रम लागू गर्न नसकेको डोल्पा जिल्ला संयोजक विनोश शाहले बताए ।
उनले भने, ‘सडक, बत्तीलगायतका सुविधादेखि पालिका पुग्न तीन दिनजति पैदल हिँडनु पर्ने अवस्था छ । हिउँदको समयमा हिँउका कारण बाटो पनि बन्द हुन्छ । स्वास्थ्य बिमाले पनि कर्मचारीको अभाव झेलिरहेको छ । सुरुमा स्वास्थ्यकर्मीलाई दर्ता अधिकारीको जिम्मा दिइएको थियो । गत वर्षबाट म आएको हो । अब कार्यान्वयनका लागि काम गरिरहेका छौं, के हुन्छ हेरौं ।’
यो वर्ष कार्यक्रम लागू गर्ने योजनाका साथ काम गरिरहेको भए पनि पालिकामा काम गर्ने कर्मचारी पाउन पनि मुस्किल भएको उनको भनाइ छ । कर्णाली प्रदेश बिमा बोर्डका संयोजक महेशप्रसाद ठाकुरले सो ठाउँमा बिमा दर्ता कर्मचारी पनि छनोट गर्न नसकेको जस्ता समस्याले बिमा कार्यक्रम लागू गर्न नसकिएको जानकारी दिए । यो वर्ष लागू गर्ने प्रयास जारी रहेको उल्लेख गरे ।
सरकारले २०७२ चैत २५ देखि लागू गरेको कार्यक्रम कर्णालीमा २०७४ भदौ १ देखि लागू भएको थियो । जुम्ला र रुकुम पश्चिमबाट स्वास्थ्य बिमा कार्यक्रम लागू भएको हो । कर्णालीमा स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन कमजोर छ । कर्णालीमा लागू भएको सात वर्षसम्म २५ प्रतिशतले मात्रै बिमा गरेका छन् । अझै ७५ प्रतिशत जनसंख्या बिमाबाहिर छन् ।
१६ लाख बढी जनसंख्या भएको कर्णालीमा चार लाख ३१ हजार १७६ अर्थात् २५.५ प्रतिशतमात्रै बिमामा आबद्ध छन् । एक लाख ३५ हजार सात सय महिला र एक लाख २८ हजार ६७९ जना पुरुषले बिमा गरेका छन् । बिमामा नागरिक आबद्ध हुन नसक्नु मुख्य कारणमा चेतनास्तर कमजोर हुनु र बिमा कार्यक्रम प्रभावकारी कार्यान्वयन नहुनु भएको स्थानीय बताउँछन् । स्वास्थ्य बिमा गरेवापत सूचीकृत भएका स्वास्थ्य संस्थाले भुक्तानी पाउन सकेका छैनन् ।
स्वास्थ्य बिमा बोर्ड कर्णालीका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म २० करोड ६७ लाख ८४ हजार रुपैयाँ मात्र भुक्तानी भएको छ । जसमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेश अस्पतालले सात करोड ४४ लाख रुपैयाँ भुक्तानी दिएको छ । कर्णालीमा १२७ वटा स्वास्थ्य संस्था रहे पनि स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध स्वास्थ्य संस्थाको संख्या ३६ वटा मात्र छन् । जसका कारण सेवा प्रदान ढिलो हुने गरेको छ ।
पाँच महिना उपल्लो डोल्पामा खोप कार्यक्रम प्रभावित
उपल्लो डोल्पामा हिमपातदेखि चिसोका कारण कात्तिकदेखि फागुनसम्म खोप सेवा अवरुद्ध हुने गरेको छ । यहाँका बालबालिकाले पाँच महिना खोप नै नपाउने अवस्था छ । त्यस्तै उपल्लो डोल्पामा सुरक्षित सुत्केरी हुनका लागि बर्थिङ सेन्टर नहुँदा समस्या हुँदै आएको छ । आम्चीको भरमा उपल्लो डोल्पामा सुत्केरी सेवा हुने गरेको छ ।
स्थानीय जडिबुटीको प्रयोगसँगै स्थानीय आम्चीले गर्भवती महिलालाई सुत्केरी हुँदा सहयोग गरिरहेका छन् । चिसोको बहाना बनाएर उपल्लो डोल्पामा कर्मचारीसमेत नबस्ने गरेको पाइएको छ । उपल्लो डोल्पाको सुत्केरी दरसमेत नगन्य मात्रामा छ । सुविधा सम्पन्न ठाउँमा बसेर डोल्पा बसेको भन्दै तलब, भत्ता बुझने गरेको पाइएको छ । भूगोलको हिसाबले ठूलो मानिएको डोल्पामा माथिल्लो क्षेत्र चिसो र चीनसँग सिमाना जोडिएको पालिकासमेत छन् ।