Logo

ट्राफिकद्वारा तीन करोड ४ लाख राजस्व संकलन

बिर्तामोड– जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले तीन करोड ४ लाखरुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि चैत महिनासम्म ट्राफिक नियम उल्लंघन गर्ने ४५ हजार ५९४ वटा सवारीसाधनलाई कारबाही गर्दा उक्त रकम राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए ।

ट्राफिक नियम उल्लंघन गर्ने, तीव्र गतिमा सवारीसाधन चलाउने, सवारी चालक अनुमति पत्र नलिई सवारीसाधन चलाउने, सिट बेल्ट तथा हेलमेट नलगाउने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने चालक, क्षमताभन्दा बढी यात्रु बोक्नेलगायतका ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरिएको उनले बताए ।

चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि चैत महिनासम्म झापामा एक हजार ४१३ सवारीसाधन दुर्घटना हुँदा ५३ पुरुष, १२ महिला र पाँच बालबालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए ।

उक्त दुर्घटनामा परी ११७ जना गम्भीर तथा एक हजार ४२७ जना सामान्य घाइते भएको उनले बताए । त्यस अवधिमा सबैभन्दा धेरै ८७६ मोटरसाइकल, १६२ टेम्पो, १४१ जीप कार, ४५ बस, २८ ट्याक्टर, २२ ट्रक, ७ टिपर, दुई/दुई डोजर र माइक्रो तथा सात वटा अन्य सवारीसाधन दुर्घटनामा परेको उनले जानकारी दिए ।

सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी झापाले सवारी चालकलाई लक्षित गरी विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको बताउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलले सडकमै चालक, सहचालक र यात्रुहरुलाई समेत जनचेतनामूलक कार्यक्रम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

विद्यालयहरुमा समेत ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताउँदै उनले चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि चैत महिनासम्म चार हजार १३४ पटक जनचेतनामूलक कार्यक्रम हुँदा एक लाख ६५ हजार २४९ जना मानिस लाभान्वित भएको उनले जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले टिभिआरएस प्रणाली लागू गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख पौडेलले जानकारी दिए ।

टिभिआरएस प्रणाली लागू भएसँगै यातायात व्यवस्थापनमा सहयोग पुग्नुका साथ ट्राफिक नियमविपरीत सवारीसाधन चलाएवापत दण्डित सवारी चालकले नगदको सट्टा बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने भएकाले यसले दुर्घटना दर घटाउने उनले बताए । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनको स्वचालित रूपमा पहिचान भई ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने भएकाले सवारी साधनको चाप हुने प्रमुख सडकमार्गमा यो प्रणाली लागू गरेको उनको भनाइ छ ।

टिभिआरएस प्रणालीेले सवारी साधनको गति, लेन परिवर्तन, ट्राफिक संकेत उल्लंघनजस्ता गतिविधिलाई निगरानी गरी अभिलेखीकरण गर्ने भएकाले ट्राफिक नियम पालनामा सुधार ल्याउने र दुर्घटना दर घटाउने बताउँदै उनले दण्ड जरिवानावापत तिर्नुपर्ने तोकिएको रकम सोझै राजस्वमा दाखिला हुने भएकाले पारदर्शी र जवाफदेही बनाउन पनि सहयोग पुग्ने जनाए ।

प्रतिक्रिया दिनुहोस्