मापदण्डविपरीत खोला उत्खनन् गरेको भन्दै स्थानीयको विरोध

महेन्द्रनगर– कञ्चनपुर चुरे क्षेत्रमा रहेको बगुन (साजगाड) खोलामा मापदण्डविपरीत उत्खनन् भएको भन्दै केही स्थानीय विरोधमा उत्रिएका छन् । बेदकोट नगरपालिका–४ बगुन (साजगाड) खोला मापदण्डविपरीत उत्खनन् गरिएको भन्दै तटीय क्षेत्रका केही स्थानीय विरोधमा उत्रिएका हुन् । चालु आर्थिक वर्ष २०८१/०८२ सालमा ठेक्का नलागेपछि बेदकोट नगरपालिकाले नदीजन्य पदार्थ बिक्री वितरणवापत पालिकाले अमानतमा संकलन गरिरहेको छ ।
स्थानीयले नदीजन्य पदार्थ मापदण्डविपरीत दोहन हुँदासमेत सरोकारवाला निकायले बेवास्ता राखेको दु:खेसो पोखेका छन् । स्थानीय रामबहादुर ऐडीले साजगाड खोलाको सुरुवातदेखि मापदण्डविपरीत दोहन हुँदा वडादेखि जिल्लासम्मका निकायमा जानकारी गराउँदा पनि अनुगमन गर्न समेत नआएको बताए । ‘हामीले सुरुवातमै भनेका थियौँ, नदीजन्य पदार्थको उत्खनन् कार्य मापदण्डविपरीत छ । तर, हाम्रो कुरा कसैले सुनेन, वडादेखि जिल्ला र पत्रकारलाई गुनासो पोख्दा पनि कहींकतैबाट सुनुवाइ भएन,’ उनले भने ।
उनले खोलाको पूर्वतिर दैजी जोगबुढा सडक, पश्चिममा बगुन गाउँबस्ती भए पनि तटबन्ध गरिएको स्थानदेखि निकै गहिराइ खनेर ग्राभेल निकाली नदी कटानको जोखिम बढ्दै गएको बताए । ‘खोलाकोे पूर्वतिर सडक र पश्चिमतिरको हरियाली वन, बस्ती जोखिममा परेको छ,’ उनले भने, ‘यत्रो जोखिम हुँदा पनि नियन्त्रणमा कुनै प्रयास भएको छैन ।’ उनका अनुसार वडा, नगरपालिका, जिल्ला समन्वयम समिति, जिल्ला प्रशासनसम्मै निवेदन दिँदासमेत निवेदनमाथि कुनै सुनुवाइ नहुँदा आउँदो वर्षात्मा जोखिमको सिकार बन्ने चिन्ता व्यक्त गरेका छन् ।
स्थानीय डम्बर दत्त भट्टले कटानी नियन्त्रणका लागि सिँचाइबाट तटबन्ध निर्माण भएता पनि त्यही तटबन्धको तलबाट दोहन गरिएको बताए । ‘एक सरकारी निकायबाट बस्ती जोगाउन तटबन्ध निर्माण गरिँदै छ,’ उनले भने, ‘स्थानीय सरकारले त्यही तटबन्धकै छेउबाटै उत्खनन् गरिरहेको छ । त्यसबाट हामी जोखिममा पर्ने निश्चित छ ।’ भट्टले पनि नदी उत्खनन् कार्य व्यवस्थापकीय रूपमा नभएको मनलाग्दी उत्खनन् भएको बताए ।
बेदकोट–३ का स्थानीय गणेश शाहुले साजगाड खोला व्यवस्थापन गर्नुपर्ने बताए । ‘पालिकाले उक्त खोलाको कटानी नियन्त्रण गर्नका लागि बढी भएको ग्राभेल मापदण्ड अनुरुप व्यवस्थापन गर्नुपर्छ,’ उनले भने, ‘बीचबीचमा रहेको ढिस्काढिस्की हटाउनुपर्छ । तारजाली गरिएको तटबन्धभन्दा तलसम्मै गहिरो खाडल हुने गरेर उत्खनन् गर्नु हुँदैन ।’
स्थानीयसमेत रहेका बेदकोट नगरका रोयल्टी संकलक भुवन सिंह धामीले मापदण्ड अनुरुप नदीजन्य पदार्थ निकाल्ने काम भएको दाबी गरेका छन् । उनले अहिले जस्तो देखिए पनि पछि सबै व्यवस्थापन हुने बताए । ‘काम गर्ने क्रममा कहीं कतै एक ठाँउमा एक मिटरभन्दा बढी गहिराइमा नदीजन्य पदार्थ निकालिएको छ,’ उनले भने, ‘यो जाना जान होइन, काम गर्दा सामान्य त्रुटि भएको हो । त्यही खाडललाई लिएर अतिरञ्जित गर्नु हुँदैन ।’
बेदकोट नगरपालिका–४ का वडाध्यक्ष नरेन्द्र बोहराले मापदण्ड अनुरुप नदीजन्य पदार्थ उत्खनन् भइरहेको दाबी गरे । ‘बेदकोट–४ को क्षेत्रमा पूरै मापदण्ड कायम गरेर नदीजन्य पदार्थ निकालिएको छ,’ ‘उनले भने, ‘कसैलाई केही मान्छे, व्यक्त वडा पालिकाको विकास निर्माणको काम देखेर विरोध गर्नुको औचित्य छैन ।’ एक दिन अघि मात्रै आफूले स्थलगत अनुगमन गरेको भन्दै उनले जनप्रतिनिधिले नदीखोला अनुगमन नै नगरेको भनेर अफबाह फैलाउने काम विरोधका लागि मात्रै भएको बताए ।