जलजलामा जैविक पदमार्ग

पर्वत– पर्यटन व्यवसायको माध्यमबाट गाउँपालिकाको समृद्धि गर्ने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाले जैविक पदमार्ग निर्माण गरेको छ । दर्जनौं पर्यटकीय गन्तव्य समेटिएको जलजलामा पवित्र कालिगण्डकीदेखि जिल्लाकै सबैभन्दा उचाइमा अवस्थित हम्पालको लेकलाई जोड्ने गरी पदमार्ग निर्माण गर्न लागिएको हो ।
स्थानीय कला संस्कृति र जैविक विविधताको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्नका लागि जलजला जैविक पदमार्ग (इको ट्रेक) सञ्चालन गर्न थालिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । पदमार्ग सञ्चालनका लागि तीन करोडका पूर्वाधार निर्माण गरिने भएको छ । गाउँपालिकाले पदमार्गका लागि आवश्यक गुरुयोजना निर्माण गरेर भौतिक पूर्वाधारका काम सुरु गरेको अध्यक्ष आचार्यले जानकारी दिए ।
उनका अनुसार संघ, प्रदेश र पालिकाको साझेदारीमा पदमार्गलाई पूर्णता दिने तयारी भएको छ । जलजला गाउँपलिकाको वडा नं. ३ वारिबेनीबाट सुरु हुने यो जैविक पदमार्गले पालिकाका ९ वटै वडालाई समेट्ने भएको छ । यो पदमार्ग हुँदै विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण राउण्ड पदमार्गसमेत पुग्न सकिने भएको छ ।
पालिकाका विभिन्न ग्रामीण बस्ती र प्राकृतिक तथा धार्मिक स्थलहरु समावेश गरिएको यो पदमार्गमा ग्रामीण पर्यटन प्रवर्द्धन, स्थानीय मौलिक कला संस्कृतिको संरक्षण, जैविक विविधताको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन गरी जीवनस्तरमा सुधार गर्दै आर्थिक विकास गर्ने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष आचार्यले बताए ।
अध्यक्ष आचार्यका अुनसार ‘जैविक पदमार्गको सम्भाब्यता अध्ययन र नापजाँच गरी तीन करोड रुपैयाँ लागत अनुमान गरिएको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बनाई पर्यटन मन्त्रालयमा बजेट माग गरिसकिएको छ । बजेट प्राप्त भएपछि आवश्यक पूर्वाधार निर्माण गर्नेछाैं ।’ यसका लागि गाउँपालिकाले पनि बजेट व्यवस्थापन गर्ने उनले बताए ।
प्राकृतिक रुपमा अत्यन्तै सुन्दर मानिएको जैविक पदमार्गमा माझफाँटको ऐतिहासिक मल्लकालीन दरबार, पूर्णगाउँ, बाँसखर्कको मालगाउँ, लोप्रे, फलामे डाँडा, कालञ्जर हम्पाल, जलजला, सिर्पु, तारे, देउराली, डडुवाचौर धाइरिङ भुमेठाकुर हुँदै मिलनचोक सम्मका ग्रामीण बस्तीलाई इको ट्रेकले जोड्ने छ । इको ट्रेकले यस क्षेत्रमा पर्ने प्राकृतिक एवम् धार्मिकस्थल, कृषि पर्यटन र कला संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्याउने पालिका अध्यक्ष आचार्यले बताए ।
यसैगरी पालिकाभित्र रहेका देउराली, हलजुरे, बनौं, लुप्राङ, नाग्लीबाङ हुँदै खनियाँघाट सम्मका ग्रामीण बस्ती, प्राकृतिक एवम् धार्मिक स्थललाई समेत पदमार्गले जोड्ने भएको छ । यो पदमार्गमा विशेषगरी प्रकृति, संस्कृति, मौलिक तथा सांस्कृतिक सम्पदता र रितिरिवाज, वन्यजन्तु, चराहरु, जडिबुटी तथा प्रकृतिको आनन्द लिने र खोज तथा अनुसन्धान गर्नेका लागि प्रमुख गन्तब्य बन्ने पालिकाको विश्वास छ । पदमार्ग अन्तर्गत विभिन्न स्थानमा पार्क, चौपारी, पदमार्ग र होमस्टे निर्माण गरिने भएको छ । अधिकांश संरचना पहिले नै बनिसकेका छन् ।
विशेषगरी मगर समुदायको बाहुल्य रहेको यो पदमार्गमा प्राकृतिक सुन्दरता, ग्रामीण बस्ती, मौलिक कला संस्कृति, स्थानीय खानाका परिकार, न्यानो आतिथ्यता, ग्रामीण जीवनशैली र हिमाल अवलोकनका लागि निकै रोमाञ्चक मानिन्छ । ग्रामीण पर्यटन प्रवर्द्धन गर्दै स्थानीयबासीको आयआर्जनमा टेवा पुर्याउने प्रमुख उद्देश्य रहेको पालिकाले जनाएको छ । यसअघि महावीर पुनले परिकल्पना गरेको अन्नपूर्ण धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गसँग पनि जलजला जैविक पदमार्ग जोडिने भएकाले पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण हुने देखिएको छ ।
कालिगण्डकीको तीरदेखि पहाडको टुप्पो, ग्रामीण सुन्दर बस्तीहरु, हिमालको सुन्दर दृश्य र जंगलहरु इको ट्रेकमा पर्ने भएकाले पदयात्रीले निकै रमाइलो अनुभूति गर्न पाउने जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताए । यो पदमार्गको सबैभन्दा उचाइमा रहेको हम्पालबाट १६ जिल्ला सदरमुकाम र दर्जनौ हिमश्रृङ्खला नजिकबाट नियाल्न सकिनुका साथै एउटै जंगलमा पाइने १२ थरिमा लालीगुँरासले अझै पर्यटकको आकर्षण बढाउने आचार्यले बताए ।