Logo

बड्कापथ सिँचाइ आयोजनाको आठ किमि नहरमा पानी छोडिँदै

दाङ– सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले देउखुरीमा निर्माण भइरहेको बड्कापथ सिँचाइ आयोजनाको करिब आठ किलोमिटर नहरमा पानी छोड्ने तयारी गरिएको छ । सिँचाइ आयोजनाको मुहान भालुबाङदेखि गढवा गाउँपालिका–१ वनघुस्रीसम्मको करिब आठ दशमलव दुई किलोमिटर नहरसँगै सहायक नहरको निर्माण कार्य सकिएपछि सिँचाइका लागि पानी छोड्न थालिएको हो ।

वनघुस्रीसम्मको मुख्य नहरसँगै सहायक नहरको निर्माण कार्य सकिएपछि सिँचाइका लागि पानी छोड्ने तयारी भइरहेको बड्कापथ सिँचाइ आयोजना कार्यालय लमहीका प्रमुख निश्चल छत्कुलीले जानकारी दिए । मूल नहरसँगै सहायक नहर निर्माणको काम सकिएपछि अहिले नहरसँगै गेटलगायतका ठाउँमा सरसफाइ भइरहेको बताए । सरसफाइको काम सकिएपछि वैशाखको अन्तिमसम्म नहरमा पानी छोड्ने तयारी भइरहेको बताए ।

कार्यालय प्रमुख छत्कुलीका अनुसार सिँचाइ आयोजना सञ्चालन भएपछि वनघुस्रीसम्मको करिब ५० देखि ६० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने छ । सिँचाइ आयोजना सुरु भएको करिब १२ वर्षपछि नहरमा पानी छोड्ने तयारी भएपछि वनघुस्री, कुलपानी क्षेत्रलगायतका किसान खुसी भएका छन् । सधैभरि खेतीका लागि आकाशे पानीमा निर्भर हुने किसानले अब सिँचाइ सुविधा पाउनेछन् । सिँचाइ आयोजनाको अहिले दोस्रो खण्डअन्तर्गत वनघुस्रीदेखि सिक्रहवा खोलासम्म नहर निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ ।

सिक्रहवा खोलासम्म नहर निर्माणको काम सकिएपछि सिँचाइ आयोजनाको करिब १४ दशमलव ४५ किलोमिटर नहर निर्माणको काम सकिने प्रमुख छत्कुलीले बताए । उनका अनुसार वनघुस्रीदेखि सिक्रहवा खोलासम्मको करिब ६ दशमलव ४३ किलोमिटर नहर निर्माणको काम कालिका–बन्धन–भगवती–बुद्ध हिमाली निर्माण जेभीले गरिरहेको छ । नहर निर्माण क्षेत्रका रुख हटाउनुपर्ने केही समस्या भए पनि अहिले समस्या नभएको उनले बताए ।

आयोजना प्रमुख छत्कुलीले भने, ‘नहर निर्माणको काम अहिले राम्रैसँग भइरहेको छ ।’ दोस्रो खण्डको काम चालु आर्थिक वर्षभित्रै सक्ने गरी तयारी भए पनि सुरुमा काम गर्न नपाउँदा समस्या भएको बताए । ३० किलोमिटर लामो नहरमध्ये तेस्रो खण्डमा सिक्रहवा खोलादेखि मानपुरसम्मको २२ दशमलव दुई किलोमिटरसम्म नहर निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी भइरहेको कार्यालय प्रमुख छत्कुलीले बताए ।

त्यसका लागि लागत स्टिमेट तयार गरेर ठेक्काका लागि सूचना प्रकाशित गरिएको बताए । त्यसपछि बाँकी रहेको आठ किलोमिटर सिँचाइ नहर निर्माणको काम हुने उनले बताए । राप्ती नदीको दक्षिणी क्षेत्रमा रहेका गढवा र राजपुर गाउँपालिका अन्तर्गत रहेको करिब साढेचार हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । राप्ती नदीको पानीले सिँचाइ गर्ने योजनाका साथ आर्थिक वर्ष २०६८/०६९ बाट बड्कापथ सिँचाइ आयोजनाको निर्माण कार्य सुरु भएको थियो ।

सिँचाइ नहर निर्माणका लागि हालसम्म करिब ९० करोड बढी बजेट खर्च भइसकेको छ । आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सिँचाइ आयोजनाका लागि अझै ५०/६० करोड बजेट आवश्यक रहेको आयोजना प्रमुख छत्कुलीले बताए । अहिले पनि नहर निर्माण गर्ने ठाउँमा रुखहरू रहेको र हटाउनका लागि डिभिजन वन कार्यालयसँग समन्वय भइरहेको बताए ।

आयोजनाको नहर निर्माण गर्ने क्षेत्रमा पर्ने करिब ३८ सय ७० रुखमध्ये हालसम्म एक हजार तीन सय रुख हटाइसकेको र बाँकी दुई हजार ५७९ वटा रुख हटाउन बाँकी छन् । नहर निर्माण क्षेत्रमा पर्ने बाँकी रुख हटाउन डिभिजन वन कार्यालय देउखुरीलाई अनुरोध गरेकाले डिभिजन वन कार्यालयले हटाउन पर्ने या नपर्ने विषयमा अध्ययन गरिरहेको बताए । कुलपानी सामुदायिक वनसहित लक्ष्मी, लखपति, शान्ति र महदेवा सामुदायिक वन क्षेत्रबाट रुख हटाउन बाँकी रहेको बताए । तीन क्षेत्रमा रुख हटाउन डिभिजन वन कार्यालयलाई अनुरोध गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्